नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको सीमा घटाएको छ । बुधबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले प्रति कारोबार २५ हजार रुपैयाको सिलिङ तोकेको हो । यस पछि एक जना व्यक्तिले एक दिनमा अधिकतम २५ हजार रुपैया मात्र रेमिट गर्न पाउनेछ ।
बैंकद्वारा जारी निर्देशनमा भनिएको छ ‘यस बैंकबाट इजाजत प्राप्त बिप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब–एजेन्ट वा सव– रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रति व्यक्ति, प्रति कोरोबार, प्रति दिन अधिकतम २५ हजार रुपैयाँ कायम गरिएको छ ।’ यस अघि भने १ लाख रुपैयासम्म रेमिट गर्न पाइन्थ्यो ।
तर विदेशबाट नेपालमा रहेका सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने यथावत नै रहेको राष्ट्र बैंकले जनाएको छ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले रेमिटेन्स कम्पनीहरुले आफ्ना एजेन्ट र सब एजेन्टमार्फत स्वदेशभित्र गर्ने रकम स्थानान्तरणको सीमालाई पुनरावलोकन गर्ने जनाएको थियो। त्यतिबेला यो रकमको सीमा ५० हजारमा झार्ने तयारी राष्ट्र बैंकको रहेको बुझिएको थियो। तर योभन्दा पनि अझ कसिलो गर्दै यसले सीमा २५ हजार रुपैयाँ झारेको छ।
उच्च आयात वृद्धिसँगै विदेशमा काम गर्न गएका नेपालीले पठाउने रेमिटेन्स घट्नुमा ‘हुन्डी’ नै प्रमुख कारण भएको ठहर राष्ट्र बैंकको छ। सोही कारण मौद्रिक नीतिको समीक्षाले आन्तरिक रेमिटेन्स भुक्तानी सीमामा पुनरावलोकन गर्ने तयारी राष्ट्र बैंकको थियो।
रेमिटेन्स विदेशमा होल्ड हुने र कामदारको परिवारलाई नेपालस्थित हुन्डी एजेन्टले भुक्तानी गर्ने गरेको पाइएको छ। यसका लागि बैंक तथा वित्तीय संस्थाभन्दा रेमिटेन्स एजेन्टहरुको प्रयोग ब्यापक भएको बुझाइ राष्ट्र बैंकको छ ।