बचत तथा ऋणको कारोबारमा मात्रै केन्द्रीत रहेका सहकारी संस्थाहरुलाई ललितपुर महारनगरपालिकाले उत्पादनसँग जोड्ने भएको छ । महानगरपालिकाको उद्योग तथा सहकारी शाखाका प्रमुख देव गुरागाईंले आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारी संस्थाहरुलाई उत्पादनमा जोड्न लागेको बताए ।
सीप सिकेर व्यापारव्यवसाय गर्न चाहने सहकारी संस्थाका सदस्यहरुलाई सीप सिकाउनुका साथै आवश्यक प्रविधि भित्राउन समेत सहयोग गर्ने उनले जानकारी दिए । सहकारीका सदस्यहरुमा क्षमता अभिवृद्धि, उनीहरुलाई उत्पादनमा लाग्नका निम्ति प्रोत्साहन गर्ने नीति लिएको उनको भनाई छ ।
पहिलो चरणमा ५० जनालाई तालिम दिई उत्पादनमूलक कार्यमा जोड्ने योजना बनाएको शाखाले जनाएको छ । सहकारीलाई उत्पादनसँग जोडिएनन् भनिरहँदा सदस्यहरुमा पनि व्यवसायिक ज्ञानको अभाव छ, उनले भने ‘संस्थाहरु पनि बचतऋणमा मात्रै केन्द्रित हुनेहुँदा सदस्यहरुलाई कस्तो सीप सिकेर के व्यवसाय गर्ने भन्ने ज्ञान छैन । त्यसैले महानगरपालिकाले आफ्नै बजेटमा तालिम सञ्चालन गरी व्यवसायिक बनाउन लागेको हो ।’
सदस्यहरुलाई बजारको माग अनुसार, गार्मेण्ट, होजियरी, भुजिया बनाउने, साबुन, अगरबत्ती बनाउने जस्ता व्यवसायका बारेमा सीप र प्रविधि दिइ उद्यमशीलतामा जोड्न खोजेको उनले बताए । संस्थाहरुले वित्तीय कारोबार गर्नेहुँदा पुँजीको अभाव रहँदैन, गुरागाईं भन्छन् ‘आवश्यकता सीप र प्रविधिको हो । ईच्छुक संस्थाका सदस्यहरुलाई सीप विकास गराई यसै आर्थिक वर्षभित्रमा उत्पादनमा जोड्ने योजना छ ।’