शनिबार, आश्विन १७ गते २०८३

शिवरात्रीको  मान्यता र आजको सन्दर्भमा यसकाे सन्देश

फाल्गुण १७, २०७८ मंगलबार
शिवरात्रीको  मान्यता र आजको सन्दर्भमा यसकाे सन्देश

फागुन महिनाको चतुर्दशी तिथिका दिन मनाइने गरेको महाशिवरात्री यस बर्ष यही फागुन १७ गते परेको छ । यो देबाधिदेब मानिएका महादेवको पूजा आराधना गरी हिन्दूधर्माबलम्बीहरुले मनाउने एउटा बिशेष पर्व हो । महादेवलाई सृष्टिको कल्याण गर्ने देवताको रुपमा लिइन्छ । शिव भनेको शुभ र शंकर भनेको कल्याणकारी मानिएको छ । उनको पूजा गर्दा 'शिबोभूत्वा शिबं जयेत्' अर्थात हाम्रो जीवन पनि शिबकै जस्तो कल्याणकारी कार्यमा लाग्ने खालको होस्, अनि शुभ र कल्याणकारी चिन्तन, चरित्र र आकांक्षहरु बनुन् भन्ने भावनाकासाथ उनको पूजा गर्ने गरेको पाइन्छ । शिब लिंगको स्थापना र पूजाको अर्थ हो - शुभका प्रतीक चिन्ह बीजको पूजा । त्यसै बिजबाट बिकसित भएर क्रमश सारा जीव जगतमा आबृत्त हुने भावना यसमा अन्तरनिहीत छ ।शिबलाई आफ्ना लागि कठोर र अरुका लागि शिघ्र खुशी हुने चरित्रको मानिएको छ। यसबाट अरुको अधिकार र सेवाको बढी चिन्ता गर आफुमा अधिकार केन्द्रित गर्ने र सम्पत्ति थुपार्ने लोभ र चिन्ता नगर भन्ने सन्देश प्रवाह हुन्छ । कथा अनुसार समुद्र मन्थन गर्दा जुन बिष निस्कियो त्यसलाई अरु देवताले छुनेसम्म हिम्मत गरेनन् तर शिबले आफ्नो ज्यानको पर्वाह नगरी जगतको कल्याणका निमित्त त्यसलाई पिए र आफ्नो कण्ठमा रोके अनि त्यस बिषले गर्दा उनको घाँटी नीलो भयो र उनको नाम 'निलकण्ठ' रहन पुग्यो भन्ने किम्बदन्ती छ । 

आजको हाम्रो बिश्व समाजलाई हेर्दा बर्तमान समाज घोर स्वार्थी सामाजिक परिवेशबाट गुज्रिरहेको छ । मानिस मानिसमा अबिश्वास, सन्देह र मर्न मार्न पनि तयार हुने डरलाग्दो स्थिति छ । मानबीय संबेदन र सद्भावना नै समाप्त प्राय हुँदै गएको छ । चन्द्रमा र मंगल ग्रहमा मानिस पुगे पनि हाम्रो समाज अझै पनि हिंसा, छुवाछुत, भेदभाव, भूतप्रेत, टुनामुना आदि अन्धबिश्वास र कुरीतिहरुबाट ग्रस्त छ । यस्तो बिषम परिस्थितिमा शिब अर्थात महादेवसँग सम्वन्धित कल्याणकारी शिक्षाहरु अत्यन्तै समाजोपयोगी साबित हुन सक्तछन् । जसले शिवको जस्तै स्वार्थ त्याग र परसेवाको साधनालाई बुझदछ, त्यसलाई नै शिवत्व प्राप्त हुन्छ  । शिवको मस्तकमा भएको चन्द्रमाले द्वितीयाको चन्द्रमाले जस्तै सबैलाई सुख शान्ति र शितलता प्रदान गर्दछ भने जटामा देखिने गंगाको शीतलताले अर्थात पानीको शितलताले सम्पूर्ण प्राणी जगत र पृथ्वीलाई बिनाभेदभाव स्नेह जल र ज्ञानको गंगा प्रदान गर्ने भावको प्रतीक मानिएको छ । त्यसैले शिवको पूजा आराधना कर्मकाण्डीय रुपमा गरेर होइन आफुले दुःख खपेर पनि अरुको कल्याणमा लाग्नु वास्तविक पूजा आराधना हो भन्ने कुरा दर्शाउँदछ ।

शिबलाई भूतभावन पनि मानिन्छ । किनकि उनको परिवारमा भूत-प्रेत, र्सप-बिच्छी, साँढे-सिंह, मयूर-सर्प अनि सर्प र मूसा जस्ता परस्पर बिपरीत र बिरोधी स्वभावका प्राणी प्रेमपूर्बक रहने गर्दछन् । यसले कुनै भेदभाव नगरी मैत्रीपूर्वक सबैलाई सँगै लिएर हिड्ने भाव जगाउँदछ । अर्थात शिको चरित्र प्रकृति मैत्री छ । समाजमा भेदभाव नहुने स्थितिको सिर्जना गर्नु नै वास्तवमा शिब भावनालाई साक्षात्कार गर्नु हो भन्ने यसले दर्शाउँदछ । महादेवलाई मसान घाटको खरानी शरीमा मालिस गर्ने देवताकोरुपमा पनि लिइन्छ । त्यसको अर्थ हो मृत्युलाई हमेशा याद राख जसले गर्दा एउटा नैतिकबान, सफा मन बचन र कर्म भएको मानिसकोरुपमा बाच्न सकियोस् । शिबले तेश्रो नेत्रले कामदेवको भस्म गरेको कथा पनि छ । हामीले पनि त्यसरी नै हाम्रो ज्ञानको तेश्रो आँखाले समाजिक अनैतिकता, अश्लिलता र कामुकतामाथि प्रहार गर्नु पर्दछ भन्ने यसले दर्शाउँछ । शिबलाई भाँङ, धतुरो जस्ता नशालु पदार्थ मन पर्ने भनेर चढाउने चलन पनि छ । त्यसकेा अर्थ हो दुर्ब्यशनबाट मुक्त हुनु पर्दछ । यसरी शिबका बारेमा अगणित प्रेरणाका अनेकौं भावहरु रहेका छन् । ती सबैको समग्रमा एउटा सार तत्व निस्कन्छ । त्यो हो - मानब जीबनलाई समाज उपयोगी र सार्थक बनाउ, सन्तुलित राख । प्रकृतिका नियमहरुलाई पालन गर । अपरिग्रही बन अर्थात लोभलालचबाट टाढा रहु र सम्पत्ति थुपार्ने काम नगर यसले अरुको जीवनलाई बञ्चित तुल्याउँदछ भन्ने नै हो । त्यसैल आज जसले शिवरात्री मनाएर शिव अबतरित भएको कुरालाई साच्चै नै सही रुपमा मान्न चाहन्छ उसले आफुलाई पनि जगाउनु पर्दछ र समाजलाई उठाउन, जगाउन र सामाजिक सुख शान्तिका लागि लाग्नु पर्दछ । सादा जीवन र उच्च बिचारका साथ परोपकार, समनता, न्याय र राष्ट्रिय उन्नति तथा अन्तर्राष्ट्रिय बन्धुत्वलाई अपनाउन तत्पर भएर अन्तःस्करणदेखि नै लाग्नु सक्नु र सिक्नु पर्दछ । गलत कुराहरुको अन्त्य र सही कुराहरुको संरक्षण तथा समृद्धि नै शिवरात्री पर्वको निहीतार्थ हो भन्ने बुझेमा मात्र सही दिशा र गतिमा हामी लाग्न सत्तछौ । धार्मिक पर्यटन पनि यीनै कुरा राम्रोसँग बुझेर प्रतीककारुपमा रहेका धार्मिक पीठहरुको राम्रोसँग स्याहार सुशार गर्न र बातावरण स्वच्छ बनाउन अग्रसर हुनु पर्दछ ।

संकलन