शुक्रबार, कार्तिक ७ गते २०८३

व्याजदर बढाउनुपर्‍यो भन्दै अर्थमन्त्री गुहार्न पुगे सहकारीकर्मी

फाल्गुण २, २०७८ सोमबार
व्याजदर बढाउनुपर्‍यो भन्दै अर्थमन्त्री गुहार्न पुगे सहकारीकर्मी

 

बैंक तथा वित्तीय संस्थाले महिनैपिच्छे निक्षेपको ब्याजदर बढाउँदै जाँदा सहकारी संस्थाहरुलाई बचत जोगाउन मुश्किल परेपछि सन्दर्भ ब्याजदर पुनरावलोकनको माग गर्दै सहकारीकर्मीहरु अर्थमन्त्रीकहाँ पुगेका छन् । 

यस अघि पटकपटक सहकारी विभागका रजिष्ट्रार, सम्बन्धित मन्त्रालय र मन्त्रीलाई सदन्र्भ ब्याजदर परिवर्तन गर्न माग गर्दै आएको भएपनि कुनै सुनुवाई नभएपछि आज अर्थमन्त्री जनार्दन शर्मासम्म पुगेका हुन् । 

गत वर्ष ऋण लगानी गर्दा १४.७५ प्रतिशत भन्दा बढि ब्याज लिन नपाउने गरी भएको निर्णयले सहकारी संस्थाहरु अहिलेको स्थितिले अप्ठेरोमा परेका छन् । ऋण लगानी गर्दा सोभन्दा बढि ब्याज लिन नपाउने भएपछि उनीहरुले चाहेर पनि बचतमा बढि ब्याज दिन सकेका छैनन् । बैंकहरुले सहकारीले भन्दा बढि ब्याज दिन थालेपछि बचतकर्ताले सहकारीबाट रकम झिकेर बैंकतिर लान थालेका छन् । 

सन्दर्भ ब्याजदर पुनरावलोकन भए आफुहरुले पनि बैंक सरह बचतमा ब्याज दिन सक्ने र सहकारीको पैसा बाहिरिन नपाउने उनीहरुको भनाई छ । फागुन लागेसँगै बैंकहरुले मुद्दती निक्षेपमा दिने ब्याज बढेर १२.३५ प्रतिशतसम्म पुगेको छ । बैंकहरुले बढाएको ब्याजका कारण सहकारी अप्ठेरोमा पर्न थालेपछि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलको नेतृत्व सहकारीकर्मीहरु अर्थमन्त्री शर्मालाई गुहार्न पुगेका हुन् । 


कँडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्रीलाई भेटी बैंक वित्तीय संस्थाहरूले वचतमा दिने व्याजदर वृद्धि गरेसंगै सहकारी संस्थाहरूको लागि तोकिएको सन्दर्भ व्याजदर १४.७५ प्रतिशत तत्काल पुनरावलोकन गरी खुल्ला वजार नीति अनुसार सहकारी संस्थाहरूको आधार व्याजदरमा प्रिमियम वढीमा ६ प्रतिशतसम्म थप गरी ऋणमा व्याज लिन पाउने व्यवस्थाका लागि सुझाएका छन् । 

अर्थमन्त्री शर्माले भने बैंक वित्तीय संस्थाको व्याजदर वृद्धिमा असन्तुष्टि पोख्दै राष्ट्र बैंक र वैंक वित्तीय संस्थासंग तत्काल छलफल गर्ने जवाफ दिएका छन्।