शनिबार, आश्विन १७ गते २०८३

बैंकहरुले निरन्तर ब्याजदर वृद्धि गरेकोमा व्यवसायीको आपत्ति

फाल्गुण १, २०७८ आइतबार
बैंकहरुले निरन्तर ब्याजदर वृद्धि गरेकोमा व्यवसायीको आपत्ति

 

तरलता अभावको नाममा बैंक तथा वित्तीय संस्थाले निरन्तर ब्याजदर वृद्धि गरेकोमा उद्योगी व्यवसायीले आपत्ति जनाएका छन् । निक्षेप ब्याज बढाउनुले मात्रै तरलता समस्या समाधान नहुने उनीहरुको भनाई छ । 

अर्थतन्त्रमा एकपछि अर्को समस्या देखिइरहेको समयमा बैंक तथा वित्तीय संस्थाबाट निक्षेपको ब्याजदर वृद्धिको निर्णय आउनु अनपेक्षित रहेको व्यवसायीहरुले बताएका छन्। अर्थतन्त्रका विद्यमान समस्या समाधानका उपाय अवलम्बनका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, निजी क्षेत्र र सम्पूर्ण सरोकारवालाहरुले सक्दो प्रयास गरिहेको समयमा बैंक तथा वित्तीय संस्थाबाट ब्याजदर वृद्धिको निर्णय आउनुले अर्थतन्त्र थप जोखिममा पर्ने संकेत गरेको नेपाल उद्योग परिसंघले जनाएको हो । 

एक विज्ञप्ति जारी गर्दै परिसंघले भनेको छ “ब्याजदर वृद्धिबाट बजारमा तरलता थप भइ हालको समस्या समाधान हुने अवस्था देखिँदैन। यसले निक्षेपको स्थानान्तरण मात्र हुने र वित्तीय स्थायित्वमा जोखिम बढ्ने हाम्रो बुझाई रहेको छ। यसको प्रत्यक्ष प्रतिकूल असर कोभिड लगायत विविध कारणले समस्यामा परेका उद्योग, कृषि, पर्यटन व्यवसायमा पर्ने निश्चित छ। ब्याजदर बढ्दा लगानी महँगो भई बजार मूल्य बढ्दा उपभोक्ताहरूलाई समेत नकारात्मक असर पर्ने देखिएको छ। वर्तमान अवस्थामा शिथिल प्राय भएका उद्योग व्यवसाय थप कमजोर बन्ने देखिन्छ। यसर्थ मुलुकको अर्थ व्यवस्था जोगाउन सचेत हुनुपर्नेतर्फ परिसंघ सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दछ।”

सरकारी स्वामित्वका ठूला बचत कर्ताहरूको संस्थागत निक्षेपलाई पुरानै ब्याजमा कायम राख्दा बजारमा देखा परेको ब्याज बढाउने प्रतिस्पर्धामा केही कमी आउने परिसंघले जनाएको छ। “विद्यमान संकटको समयमा केन्द्रीय बैंकले वाणिज्य बैंकहरूले पूरा गर्नुपर्ने नियमनकारी अनुपातहरूलाई केही समयका लागि खुकुलो बनाउन आवश्यक देखिन्छ। यसले तरलता व्यवस्थापनमा सहजता भइ लघु, घरेलु, साना, मझौला तथा ठूला उद्योगलाई राहत पुर्‍याइ रोजगारी सिर्जनामा समेत सहयोग गर्ने परिसंघको विश्वास छ। यसले वर्तमान आर्थिक संकटको अवस्थामा समेत अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्‍याउने छ।  
ब्याजदरलाई स्थिर गर्ने तथा त्यसलाई पारदर्शी बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले मासिकरूपमा आगामी महिनाको ब्याजदर प्रकाशन गर्ने नियम लागू गरेको छ। यसलाई प्रत्येक तीन महिनामा मात्र ब्याजदर परिवर्तन गर्न पाउने गरी व्यवस्था गर्न परिसंघ नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गर्दछ,” परिसंघले भनेको छ ।”