शुक्रबार, कार्तिक ७ गते २०८३

उच्च गुणस्तर कायम गरेकोमा श्री म्याग्दे दुग्ध उत्पादक सहकारी जिल्लामै उत्कृष्ट

माघ २६, २०७८ बुधबार
उच्च गुणस्तर कायम गरेकोमा श्री म्याग्दे दुग्ध उत्पादक सहकारी जिल्लामै उत्कृष्ट

 

तनहुँको म्याग्दे गाउँपालिका–४, मा रहेको श्री म्याग्दे दुग्ध उत्पादक सहकारी संस्था जिल्लाकै उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत भएको छ । तनहु जिल्ला दुग्ध उत्पादक सहकारी संघले दुधको गुणस्तर फ्याट र ल्याक्टो लगायत स्वच्छ सफा दुध उत्पादन गरेको भन्दै जिल्लाकै उत्कृष्ट दुग्ध उत्पादक संस्थाको रुपमा पुरस्कृत गरेको हो । 

संघका अध्यक्ष यज्ञप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले संस्थाका अध्यक्ष द्वारिकानाथ घिमिरेलाई उत्कृष्ट संस्थाको प्रमाणपत्र प्रदान गरेका थिए । संघको २३औं वार्षिक साधारणसभा र आठौं अधिवेशनको अवसरमा संस्थालाई दुध उत्पादनमा गुणस्तर कायम गरेवापत उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिएको हो । 

सदस्यहरुबाट दैनिक एकदुई लिटर दुध संकलन गर्दै २०६४ सालमा श्रीम्याग्दे दुग्ध उत्पादक सहकारी स्थापना गरेर भएको थियो । संस्थाले प्रत्येक सदस्यबाट उत्पादित दुध संकलन गरेर जिल्ला दुग्ध सहकारी संघ दमौलीमा पठाउने गरेको संस्थाका व्यवस्थापक सञ्जीव घिमिरेले बताए । संस्थाले सिजनमा दैनिक ३०० देखि ४०० र अफसिजनमा २०० लिटरसम्म दुध संकलन गरी संघमा पठाउने गरेको छ । 

shree myagde dugdha coop.jpg

संस्थामा ४ सय सदस्य आवद्ध रहेको र तीमध्ये १०० भन्दा बढि सदस्यले गाईभैंसी पालन गर्दै आएका छन् । निर्वाहमुखी पशुपालनलाई व्यवसायिक बनाउन संस्थाले कुनैपनि शुल्क नलिइ ७ प्रतिशत ब्याजदरमै सदस्यहरुलाई सहुलियत ऋण प्रदान गर्दै आएको उनले बताए । 

‘पछिल्लो समय विदेशबाट फर्किएका १५ जना व्यवसायिक रुपमा गाईपालनमा लागेका छन्,’ उनले भने ‘पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।’ सदस्यले उत्पादन गरेको दुध संस्थाले नै संकलन गर्ने गरेको र संस्थालाई दुध विक्री गर्ने सदस्यलाई मात्रै संस्थाले विभिन्न सहुलियत प्रदान गर्दै आएको उनको भनाई छ । संस्थाले स्वरोजगार कोषबाट ५० लाख रुपैया सहुलियत दरको ऋण लिएर किसान सदस्यहरुलाई लगानी गरेको थियो । 

विगतमा दुधको मात्रै कारोबार गर्दै आएको संस्थाले २०७२ बाट भने बचतऋणको समेत कारोबार गर्दै आएको छ । हाल संस्थाको कुल कारोबार १५ करोड माथि रहेको छ । संस्थाले दुधको ल्याक्टो र फ्याटको आधारमा सदस्यहरुलाई भुक्तानी दिने गर्दछ । 

myagde.jpg