शहबाज खान/कपिलवस्तु
नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्यसमितिले कृष्णनगर नगरप्रमुख रजत प्रताप शाहको घर भित्र पार्टी प्रवेश कार्यक्रमको आयोजना गरी नगरप्रमुख शाह लगायत कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएको र पार्टी प्रवेश कार्यक्रम आयोजना बारे ३नं. क्षेत्रीय कार्य समिति, ३(ख) प्रदेश कार्य समिति तथा कृष्णनगर नगर कार्य समितिलाई कुनै जानकारी नदिइ तिनै कार्य समितिलाई बाईपास गर्दै मनमानी ढंगले काम गरेको कुरा कृष्णानगर नगरसभापति देवानंद शुक्लाले बताएका छन्।
जिल्ला कार्य समितिले व्यक्तिगत रजत प्रताप शाहको घर भित्र तथा ती तीन कार्यसमितिलाई कुनै जानकारी नगराइ पार्टी प्रवेश कार्यक्रम गरेकाेप्रति घोर भर्त्सना गर्दै ३ नं.क्षेत्रीय सभापति, ३(ख) प्रदेश सभापति तथा कृष्णनगर नगरसभापतिको हस्ताक्षरमा प्रेस विज्ञप्ति समेत जारी गरेको छ।

उक्त प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुको आयोजनामा कृष्णानगर नगरपालिका वड़ा नं.८ बहादुरगंज रजत प्रताप शाहको घरमा पार्टी प्रवेश कार्यक्रम रहेको भन्ने सुन्नमा आएको खबरप्रति नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं.३को गम्भीर ध्यानाकर्षण भएको छ।
यसरी क्षेत्रीय कार्य समिति,प्रदेश कार्य समिति ३(ख) र कृष्णानगर नगरकार्य समितिलाई जानकारी नगराइ व्यक्तिगत रजत प्रताप शाहको घरमा गई पार्टी प्रवेश गराउनु आपत्तिजनक मात्र नभइ घोर निन्दनीय पनि रहेको बताइएकाे छ। सिंगो पार्टी कै प्रतिष्ठा माथि आंच आउने गरी गरिएको यस कार्य को नेपाली कांग्रेस क्षेत्रीय,प्रदेश ३(ख) र कृष्णानगर नगर समितिले घोर भर्सना गर्दछ भन्ने बक्तब्यमा उल्लेख रहेको छ।