काभ्रेको पनौतीमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले २८औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष प्रकाश वन्जाराको सभाध्यक्षता एवं पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा दिवस सम्पन्न भएको हो । कार्यक्रममा पनौती नगरपालिकाका बरिष्ठ प्रसाशकीय अधिकृत एवं स्थानिय सहकारी रजिष्ट्रार इन्द्र प्रसाद अधिकारी अतिथिको रुपमा रहेका थिए ।
नगर प्रमुख न्यौपानेले सामुदायिक सहकारी संघर्षबाट नै यो गौरवान्वित अवस्थासम्म आउन सफल भएको उल्लेख गर्दै सदस्य सेवा र सहकारी सेवालाई उत्कृष्ट पार्दै सवैको लागि सहकारीको पाठशाला बन्न सफल रहेको बताए । संस्थाले सहकारीका सिद्धान्त र नीतिलाई पालना गर्दै उत्कृष्ट सहकारीको रुपमा पहिचान कायम राख्न सफल हुने विश्वास उनले ब्यक्त गरे ।
मन्तब्य राख्दै रजिष्ट्रार अधिकारीले समयको गति सँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्टता हासिल गर्दै र नीति, विधि अनुरुप अगाडि बढेको बृहत हुँदै काभ्रेपलाञ्चोकसँगै काठमाडौ उपत्यकामा समेत विस्तार भसकेकोको संस्थाले अभियानको मर्मलाई बुझेर विचलिन नभै सहकारी पाठशालाको रुपमा सर्वोत्कृष्ट संस्था बन्न सफल होस् भन्ने कामना गरे ।
कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष बन्जाराले संस्थाले सदस्य र समुदायको आर्थिक तथा सामाजिक स्तर उन्नतिमा योगदान गर्दै आएको र यस अभियानमा प्राप्त सल्लाह सुझावहरुलाई नीति र विधि अनुरुप लागु गर्दै जाने प्रतिबद्धता जनाए । सदस्यहरुको आर्थिक स्तर अभिबृद्धि गर्दै आत्मनिर्भर बनाउने अभियानमा स्थानिय तह, संघ र प्रदेशसँग समेत सहकार्य गरि अगाडि बढ्ने उनले उल्लेख गरे । हालसम्म ८ वटा संस्थाहरुसँग एकीकरण भइसकेको र तीमध्ये जगत् गुरु बचत तथा ऋण सहकारी संस्था लि., बनेपा र पलाञ्चोक भगवती बचत तथा ऋण सहकारी संस्था लि. काठमाण्डौंसँग एकीकरण हुँदा संस्थाको कार्यक्षेत्र र ब्यवसाय विस्तार भएको उनले बताए । एकीकरण अभियानलाई भविष्यमा पनि निरन्तरता दिने उनले जनाए ।
उपाध्यक्ष कुमार प्रसाद लामिछानेले स्वागत गर्दै २८औं स्थापना दिवस मनाइरहँदा गौरवको महसुस भएको बताए । कोभिड माहामारीका कारण सबैजना भौतिक रुपमा उपस्थित हुन नसकेपनि विभिन्न माध्यमबाट सहभागी भएकोमा कृतज्ञता ब्यक्त गरे ।

संस्थाका लेखा तथा सुपरिवेक्षण समिति संयोजक हरि प्रसाद तिमल्सिनाले स्थापनाकालको चर्चा गर्दै संस्थाका संस्थापकहरुप्रति आभार ब्यक्त गरेका थिए । संस्थाका प्रमुख सल्लाहकार शम्भुलाल श्रेष्ठले स्थापना देखि नै समुदाय केन्द्रित कार्यमा अग्रणी रहेको स्मरण गरे ।
संस्थाका पूर्व अध्यक्ष एवं परामर्शदाता दीपक थापाले संस्थाको स्थापना र विकासमा धेरैको योगदान रहेको भन्दै स्रोत साधनको पूर्ण सदुपयोग गर्दै संस्थाको लक्ष्य तथा उद्देश्य विस्तार तथा विकासमा लाग्नुपर्ने विचार भनाई राखे ।
कोषाध्यक्ष प्रताप ताम्राकारले विविध विधामा उत्कृष्ट भई पुरस्कृत तथा सम्मानित सदस्यको नामावली घोषणा गरे । वर्षको उत्कृष्ट कर्मचारीको रुपमा बनेपा सेवाकेन्द्रका सहायक खजान्ची इलोरा दाहाल र ढुंखर्क सेवाकेन्द्र उत्कृष्ट सेवाकेन्द्रको रुपमा पुरस्कृत भएका थिए ।
काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर र ललितपुर ४ जिल्ला कार्यक्षेत्र रहेको संस्थामा ३५ हजार १५० जना सेयर सदस्य आवद्ध रहेका छन् । कुल कारोवार ३ अर्व ५१ करोड रहेको संस्थामा ९९ जना कर्मचारी जना कार्यरत रहेका छन् ।
प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले १४ ओटा सेवाकेन्द्र मार्फत वित्तीय तथा मोबाइल बैकिङ, एटिएम र क्यूआर पेमेन्ट लगायतका डिजिटल सेवा सदस्यहरुलाई उपलब्ध गराउँदै आएको बताए ।
सदस्यमैत्री सेवा उपलब्ध गराउने क्रममा संस्थाले स्थापना दिवसकै दिन पारेर जटिल रोगको उपचारार्थ सदस्यहरुलाई रु. २५ हजारसम्म सहयोग उपलब्ध गराउन शुरुवात गरेको छ । ।
संस्थाका सचिव मुकुन्द शर्माले सञ्चालन गरेको । कार्यक्रममा सञ्चालक समिति सदस्यहरु लेखा सुपरिवेक्षण समितिका सदस्यहरु प्रत्यक्ष रुपमा सहभागी रहेका थिए भने विभिन्न उप–समिति र सेवाकेन्द्र सञ्चालन तथा ब्यवस्थापन उपसमितिका सदस्यहरु लगायत कर्मचारीहरु कोभिड १९ को संक्रमणको जोखिमलाई ध्यान दिँदै भर्चुअल माध्ययमबाट कार्यक्रममा सहभागी रहेका थिए ।
स्थापना दिवसकै अवसरमा यसअघि संस्थाले आफ्नो मुख्य कार्यालय प्रांगणमा आयोजना गरेको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए ।