नेपाल कम्युनिष्ट पार्टीले क आलेको स्मरण गर्यो
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले एक कार्यक्रमका बीच कमरेड पुष्पलालका अनन्य सहयोद्धा नेपाल कम्युनिष्ट पार्टीको तेश्रो महाधिवनेशले चुनेका केन्द्रिय सदस्य, क्रान्तिकारी नेता कमरेड एकदेब आलेको स्मरण गर्दै उहाँ नेपाली कम्युनिष्ट आन्दोलनको एक प्रेरणास्पद र अबिस्मरणी क्रान्तिकारी ब्यक्तित्व हुनुहुन्थ्यो भन्ने कुरालाई मनन र सम्मान गरेको छ । उहाँप्रति उच्च सम्मान ब्यक्त गर्दै सबै बक्ताहरुले कमरेड आलेका अनुकरणीय र असल चरित्र र ब्यवहारबाट सिकेर देश र जनताप्रति उच्च क्रान्तिकारी नैतिकता, इमानदारीत र निस्वार्थ भावले समर्पित भएर लाग्न सकेमा मात्र कमरेड आलेप्रति सच्चा र सार्थक श्रद्धाञ्जली हुने कुरा ब्यक्त गरे ।
स्मृति सभाको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका कार्यबाहक अध्यक्ष तथा एकताको दोश्रो राष्ट्रिय सम्मेलनका संयोजक लोकनारायण सुबेदीले संघर्ष, संगठन र सिद्धान्त तीनै आयाममा उच्च कोटीका ब्यक्तित्व आलेको क्रान्तिकारी जीवन र कार्यले नेपाली कम्युनिष्ट आन्दोलनलाई अमर योगदान दिएको कुरामा प्रकाश पार्दै आले आजका जस्ता सत्तामुखी, पदमुखी र कुर्सीमुखी छद्मभेषी कथित क्रान्तिकारीहरुले जहिले पनि कम्युनिष्ट आन्दोलनलाई धोका दिएको र यसलाई बिचलन, बिग्रह र बिर्सजनको दिशामा धकेल्ने बिकृत परम्पराका बिरुद्ध कमरेड आले आजीवन लड्नु भएको र त्यसको कमरेड पुष्पलालले उच्च मूल्यांकन गर्दै आले संशोधनबाद, तटस्थताबाद र इलाकाबाद बिरुद्ध सती साल जस्तै खडा क्रान्तिकारी ब्यक्तित्व हुनुहुन्थ्यो भनेको कुरा स्मरण गर्नु भएको थियो । उहाले गलतका बिरुद्ध सहीका पक्षमा, शोषक सत्ताका बिरुद्ध सत्यको पक्षमा खडा हुन आलेले सधै प्रेरणा दिइरहनु हुन्छ भन्ने कुरा औंल्याउनु भएको थियो ।
कार्यक्रममा कमरेड आलेसँग सुपरिचित र सँगसँगै काम गर्नु भएका नेपालको कम्युनिष्ट आन्दोनलका अग्रज ब्यक्तित्व नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा प्रदेश नं १ का इञ्चार्ज क. भिमप्रसाद सेढाईले क. आले अत्यन्तै सरल, क्रान्तिकारी सुझबुझ भएका इमानदार, निष्ठाबान तथा देश र जनताप्रति शतत समर्पित ब्यक्तित्व हुनुहुन्थ्यो भन्ने स्मरण गर्दै नेपाली क्रान्तिको जुन नयाँ जनबादी कार्यक्रम कमरेड पुष्पलालले प्रस्तुत गर्नु भएको थियो त्यसको मस्यौदाकार छ जना नेतामा क. पुष्पलाल, क. हिक्मत सिंह, क. एकदेब आले, क. देबेन्द्रलाल श्रेष्ठ, क. प्रेम प्रकाश र क. बलराम उपाध्यायहरू हुनुहुन्थ्यो भन्ने तथ्य उजागर गर्नु भयो । उहाँले संकटका बेला कम्युनिष्ट आन्दोलनलाई सही दिशा र गति दिन क.आलेले क्रान्तिकारी र सामयिक योगदान दिनुभएको महत्वपूर्ण कुरा औंल्याउनु भएको थियो ।
पार्टीका सचिबालय सदस्य तथा क्षेत्र नं ५ का इञ्जार्ज क. शरण बिक्रम मल्लले कमरेड पुष्पलालको नेतृत्वमा क. एकदेब आले, क. चित्रबहादुर गुरुङ्ग, क. गुणबहादुर घले, क. हरिहर यादव, क. हरिदयाल महतो क, शेष फर्मान, क. मोहम्मद अमिन, क. दु:खीलाल चौधरी जस्ता नेपाली कम्युनिष्ट आन्दोनलका अग्रज क्रान्तिकारी याेद्धा ब्यक्तित्वहरुले जगाएको र जोगाएको नेपाल कम्युनिष्ट पार्टीलाई भ्रष्ट औसरबादी तत्वहरुले भजाउन खोजे पनि उनीहरु नेपाली जनतका अगाडि नाङ्गिने छन् र पत्तनको बाटो समाउने छन् भन्ने कुरा प्रष्ट पार्नु भयो ।
पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश नं २ का इञ्चार्ज क. रामदुलार महतोले पार्टीका इमानदार नेता र कार्यकर्ताहरुलाई परस्पर लडाउने र आफ्नो स्वार्थ अनुकूल भजाउने दुष्प्रयत्न गर्ने कुनियतबाट कम्युनिष्ट आन्दोलनलाई जोगाउदै यसलाई प्रतिकृयाबादी सत्ताको सेवामा होइन देश र जनतको हितमा प्रयुक्त गर्न सकेमा मात्र कमरेड आलेको स्मरण गरेको सार्थक हुन्छ र कमरेड पुष्पलालको क्रान्तिकारी बाटो हिडेको ठहर्छ भन्नु भयो ।
पार्टीका सचिवालय सदस्य तथा बागमती प्रदेशका इञ्चार्ज क. महेन्द्र जोशीले पार्टीलाई गुमराह गर्ने नेतृत्वले कम्युनिष्ट चिन्तन, चरित्र र ब्यवहार कतै पनि सही काम गर्न सक्तैन र कमरेड आलेले देखाएको बाटोमा हिड्न सक्तैन भन्ने कुरा प्रष्ट पार्दै अवसरबादीहरुको सही किसिमले भण्डाफोर गर्दै देश र जनतको हितमा कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सकेमा मत्रा आले जस्ता क्रान्तिकारी ब्यक्तित्वको सम्मान गरेको ठहरिन्छ भन्नु भयो ।
अर्का सचिवालय सदस्य तथा महिला नेतृ क सीता सुबेदीले पार्टीलाई अनुशासनबद्ध, अध्ययनशील र संघर्षशील तुल्याउँदै सही दिशामा अघि बढाउन सकेमा मात्र कमरेड पुष्पलाल र उहाँका सहयोद्धा कमरेड एकदेब आले जस्ता ब्यक्तित्वबाट सही प्रेरणा लिएको मानिनेछ भन्ने कुरा ब्यक्त गर्नु भयो ।
त्यसैगरी अर्का सचिवालय सदस्य क. नरेश अमात्यले क. एकदेब आले जस्ता क्रान्तिकारी चरित्र र चिन्तन भएका ब्यक्तित्वको सही किसिमले अनुसरण गर्न सकेमा मात्र कम्युनिष्ट आन्दोलनलाई सही दिशा र गति दिन सकिने भावना ब्यक्त गर्नु हुदै पार्टीमा जालझेल र षडयन्त्र गर्नेहरुका बिरुद्ध झण्डाफोर गर्नु पर्ने औंल्याउनु भएको थियो ।

पार्टीका केन्द्रिय सदस्य क. भूमि ढुंगानाले क्रान्तिकारी कमरेड आले जस्ता नेताहरुको प्रेरणाबाट मात्र कम्युनिष्ट आन्दोलनलाई जोगाउन र सही बाटो लगाउन सकिन्छ,अवसरबादीहरुको भण्डाफोर गर्न सकिन्छ र जनतालाई सही नीति र कार्यक्रमको वरिपरी संगठित गर्न र संघर्षशील तुल्याउन सकिन्छ भन्नु भयो ।
अर्का केन्द्रिय सदस्य क. प्रबीण जोशीले कमरेड आलेका बारेमा धेरै कुरा सुन्न र सिक्न पाएकोमा खुशी प्रकट गर्दै उहाँ जस्ता क्रान्तिकारीहरुबाट सिकेर पार्टीलाई क्रान्तिकारी धारमा अगाडि बढाउन सकिने भावना ब्यक्त गर्नु भयो ।
बुद्धिजीवी तथा केन्दिय सदस्य क. बद्रीनाथ अधिकारीले कमरेड एकदेब आले जस्ता सिद्धान्त र ब्यवहारमा तादाम्यता दर्शाउने र जस्तोसुकै संकटको घडीमा पनि सहीबाटोबाट बिचलित नहुने ब्यक्तिहरु बिरलै हुन्छन् भन्ने कुरामा प्रकाश पार्दै तनहु जिल्लामा भूमिहीन सुकुम्बासीहरुलाई जग्गा बितरण गरेर उनीहरुका समस्या हल गर्न क.आलेले खेलेको भूमिका अबिस्मरणीय छ र उहाँ किसान बर्गको मुक्ति बिना देशको मुक्ति असम्भव छ भन्ने कुरामा एकदमै प्रष्ट रहेको उहाँको जीवन र कार्यले दर्शाएको कुरा उल्लेख गर्नु भयो ।
कार्यक्रममा कमरेड एकदेब आलेको क्रान्तिकारी जीवन गाथामा आधारित गिती रचना बाचन गरेर केन्द्रिय सदस्य एसबी कडारीले सबैको ध्यान आकर्षित गर्नु भएको थियो । कार्यक्रमकाे शुरूमा नेपाल कम्युनिष्ट पार्टीकाे झण्डा उच्च उठाउँदै सामुहीकरूपमा क.एकदेब आलेप्रति क्रान्तकारी अभिबादन गरिएकाे थियाे । कार्यक्रममा किसान तथा बिद्यार्थी नेताहरुको पनि सहभागिता रहेको थियो ।