शुक्रबार, कार्तिक ७ गते २०८३

नवत्रिवेणी बहुमुखी सहकारीकाे उपभोक्ता भण्डार र हार्डवेयर पसल सञ्चालनको याेजना

माघ १२, २०७८ बुधबार
नवत्रिवेणी बहुमुखी सहकारीकाे उपभोक्ता भण्डार र हार्डवेयर पसल सञ्चालनको याेजना

 

नवलपरासीको कावासोती थकाली चोकमा रहेको नवत्रिवेणी बहुमुखी सहकारी संस्थाले उपभोक्ता भण्डार र निर्माण सामग्री पसल सञ्चालन गर्ने भएको छ । सदस्यहरुलाई सर्वसुलभ मुल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यकासाथ २ वटा पसल सञ्चालनमा ल्याउन लागिएको संस्थाले जनाएको छ । 

कावासोती आसपासमा अहिले धेरै घरहरु बन्दै गरेको र व्यापारीहरुले निर्माण सामग्रीमा चर्को मुल्य लिइरहेकाले सदस्यहरुलाई सुलभ मुल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यले हार्डवयर पसल सञ्चालनमा ल्याउन लागिएको संस्थाका व्यवस्थापक नारायणप्रसाद पौडेलले बताए । उनले भने, ‘सहकारीको एउटै मुल्य हुन्छ र स्थानीयहरु ठगिन पाउँदैनन् । सहकारीको पनि बहुउद्देश्यीय काम देखिने हुँदा हार्डवेयर र उपभोक्ता भण्डार सञ्चालन गर्ने योजना बनाएका हौं ।’  

बहुउद्देश्यीय सहकारीले ७० प्रतिशत उद्देश्यअनुसार काम गर्न सकिने भएपनि कृषिमा मात्रै त्यो सम्भव नभएको उनले बताए । कृषिका साथै अन्य विविध क्षेत्रमा लगानी गरेर ७० प्रतिशत बहुउद्देश्यीय कार्य गर्ने योजना रहेको उनले जानकारी दिए । ‘यहाँ पशुपालनको प्रचुर सम्भावना रहेको र धेरै कृषि तथा पशु फार्म खुलेका छन्,’ पौडेलले भने, ‘संस्थाका सदस्यहरुले पनि पशुपालन गर्दै आएका छन् । हामीले सदस्यहरुलाई २० लाखसम्म ऋण लगानी गर्ने हुँदा धेरै सदस्यले ऋण लिएर विभिन्न व्यवसाय गर्दै आएका छन् । 

संस्थामा २८३४ सदस्य आवद्ध रहेको र त्यसमध्ये ५०० सदस्यले ऋण लिएर व्यापारव्यवसाय गर्दै आएको उनले बताए । संस्थाले महिला समुहको लागि लघुवित्त कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ । समुहमार्फत संस्थाले बिनाधितो प्रतिसदस्य १ लाखसम्म ऋण दिने गरेको छ भने १० जनाको समुह बनाएर १० लाखसम्म ऋण लिएर काम गर्न सकिन्छ । 

संस्थाले युवा स्वरोजगार कार्यक्रम, नेपाल राष्ट्र बैंक, वैकल्पिक उर्जा प्रवर्धन केन्द्र र विभिन्न लघुवित्त संस्था, युएसएड जस्ता संस्थासँगको सहकार्यमा सदस्यहरुलाई सहुलियत ऋण समेत प्रवाह गर्दै आइरहेको जनाएको छ । 

संस्थाले अनिवार्य बचतलाई प्राथमिकतामा राखेको छ । सदस्यहरुले मासिक रुपमा अनिवार्य बचत गर्नैपर्छ । व्यवस्थापक पौडेल भन्छन् ‘ससानो रकम बचत गर्दै जाँदा भविष्यमा सम्पत्ति वृद्धि गर्न, आपतकालिन समयमा गर्जो टार्न सहयोग पुग्छ । अहिले मासिक ५०० बचत गर्न त्यति गाह्रो छैन । महिनाको एक केजी मासु कटाएर बचत गर्न सकिन्छ । यसले भविष्य उज्ज्वल बनाउँछ ।’ 

सदस्यको सन्तुष्टि नै संस्थाको उपलब्धी भएकाले सदस्यहरुलाई सहज र सुलभ वित्तीय सेवा दिँदै आफुहरु अगाडि बढेको उनले बताए । शहरी र ग्रामीण क्षेत्रका सहकारीकाबीच धेरै भिन्नता रहेको भन्दै उनले थपे ‘हाम्रो स्थानीयपन छ, कुनै लोभ छैन, यो ठाउँ छाडेर जानु भनेको संसारै छाड्नु हो । हाम्रो अर्को सोचाइ नै हुँदैन । जसरी पनि सदस्यको उन्नतिका लागि काम गर्ने हो ।’

२०६३ सालमा २९ जना शेयरसदस्य र २ लाख ९० हजार शेयरपुँजीबाट शुरु भएको संस्थाको हालसम्म आइपुग्दा २० करोडको वासलात पुगेको छ । संस्थाले कृषि सामग्री कम्पनीबाट डिलरसीप लिइ सदस्यहरुलाई सर्वसुलभ रुपमा रासायनिक मलसमेत विक्री वितरण गर्दै आएको छ । त्यो समयमा घरघरमा गोबरग्याँस बनाउने अभियान नै चलेको थियो । गोबरग्याँस बनाउन बैंकमा तीसचालिस हजार ऋण लिन जाँदा हाकिमले दिएको दुःखले यो संस्था जन्मिएको उनले बताए । 

संस्थाले सदस्यहरुको एक लाख रुपैयासम्मको दुर्घटना बीमा, ३० हजार रुपैया मृतक राहत व्यवस्था, ३० हजार आकस्मिक ऋण सापटी र महिला सदस्य सुत्केरी हुँदा रु १००५ रुपैयाको निःशुल्क खुत्रुके खाता सञ्चालन गर्ने जस्ता सुविधा सदस्यलाइ दिँदै आएकाे छ । 

संस्थाले प्रेरणा बहुउद्देश्यीय सरकारी संस्थालाई यसअघि एकिकरण गरी कावासोतीको दण्डामा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । संस्था उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट २०७१ सालमा पुरस्कृत भइसकेको छ । संस्थाले राष्ट्रिय सहकारी बैंकबाट २ करोड ऋण लिएर आफ्नो व्यवसायलाई विस्तार गर्दै आएको छ ।