शुक्रबार, कार्तिक ७ गते २०८३

मेगा ड्रिम बहुउद्देश्यीय सहकारी १२ औं वर्षमा, उत्कृष्ट सेवाको प्रतिवद्धता

माघ ११, २०७८ मंगलबार
मेगा ड्रिम बहुउद्देश्यीय सहकारी १२ औं वर्षमा, उत्कृष्ट सेवाको प्रतिवद्धता

 

मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था स्थापनाको १२ औं वर्षमा प्रवेश गरेको छ । २०६७ साल माघ ११ गते डिभिजन सहकारी कार्यालय काठमाण्डौमा दर्ता भई वित्तीय कारोबार गर्दै आएको संस्था आजबाट १२ औं वर्षमा प्रवेश गरेको हो । 

शुरुमा बचत तथा ऋण सहकारी संस्थाको रुपमा दर्ता भएपनि २०७२ सालमा भने संस्थाले उद्देश्य परिवर्तन गरी बहुउद्देश्यीय सहकारीमा रुपान्तरण गरेको थियो । संस्था सहकारीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिद्धान्तमा रहेर समाजमा रहेका ससाना श्रोतलाई एकिकृत गरी सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणका लागि क्रियाशील रहेको अध्यक्ष महाशंकर रेग्मीले बताए । संस्थाले प्रतिष्पर्धात्मक वित्तीय बजारमा सदस्यहरुबाट संकलित पुँजीलाई सदस्यहरुको आयआर्जन वृद्धि गर्नका लागि कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, लघु तथा मझौला उद्योग एवं उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दै आएको अध्यक्ष रेग्मी बताउँछन् । सदस्यहरुको व्यवसाय प्रवर्धन गरी आर्थिक स्तर सुधार्नका लागि सर्वसुलभ ब्याजदरमा ऋण लगानी गर्दै आएको र उनीहरुलाई सबल, आत्मनिर्भर र सक्षम बनाउन संस्था क्रियाशील रहेको उनको भनाई छ । 

“स्वस्थ, व्यवसायिक र उत्कृष्ट मेगाड्रिम” का रुपमा स्थापित हुने परिकल्पनाकासाथ संस्थाले नवीनतम प्रविधिहरुको प्रयोग गरी सदस्यहरुलाई सहज र सरल रुपमा वित्तीय सेवा प्रदान गरिरहेको छ । संस्थाको कार्यप्रणालीलाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन आधुनिक प्रविधिको प्रयोग गर्नुका साथै एटिएम, क्युआर कोड र मोबाइल बैंकिङ तथा बैंक फण्ड ट्रान्सफर जस्ता सेवाहरु प्रयोगमा ल्याई सदस्यहरुलाई प्रविधिमैत्री सेवा प्रदान गर्दै आएको छ । 

संस्थाले मुख्य कार्यालय बालाजुसहित कालिमाटी, न्यूरोड, चाबहिल, जोरपाटी र थानकोट सेवा केन्द्रबाट सदस्यहरुलाई वित्तीय तथा अन्य सुविधा दिँदै आएको छ भने निकट भविष्यमा भक्तपुरको गठ्ठाघर र   ललितपुरको सातदोबाटोमा सेवा केन्द्र विस्तार गर्ने योजना बनाएको छ । उपत्यकासहित काभ्रे जिल्लाभर कार्यक्षेत्र रहेको उक्त संस्थाले हाल १० हजारभन्दा बढि सदस्यहरुलाई समेटेको छ । संस्थाले ८८ जनालाई प्रत्यक्ष रोजगारी समेत प्रदान गरेको छ । 

२०७८ असार मसान्तसम्म संस्थाको १३ करोड ८० लाख शेयरपुँजी, १ अर्ब २१ करोड ८२ लाख बचत संकलन र १ अर्ब ५२ करोड ३८ लाख ऋण लगानी गरेको छ । संस्थाको जगेडा तथा अन्य कोषमा मात्रै ४ करोड ७३ लाख ५७ हजार रहेको छ । 

संस्थाले सदस्यहरुको आवश्यकताअनुसार विभिन्न २६ प्रकारका बचत योजना सञ्चालनमा ल्याएको छ भने व्यापार व्यवसाय, घरजग्गा खरिद, वैदेशिक रोजगार, कृषि, लघुवित्त, सामुहिक, व्यक्तिगत जस्ता शीर्षकमा सदस्यहरुमाझ ऋण लगानी गर्दै आएको छ । 

संस्थामा आवद्ध सदस्यहरुबीच नियमित बचतको बानी विकास गर्ने, व्यक्तिगत एवं सामुहिक क्षमताको अभिवृद्धि गरी स्वावलम्बी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पु¥याउने, सदस्यहरुको प्राथमिकता र आवश्यकता अनुसार आय आर्जनको क्षेत्रमा लगानी बढाउने र समुदायमा सहकारीको महत्व स्थापित गर्ने जस्ता उद्देश्य संस्थाका रहेका छन् । 

१२औं वर्ष प्रवेश गरेको अवसरमा संस्थाले सम्पूर्ण शेयरसदस्य, सञ्चालक समिति तथा विभिन्न उपसमिति, कर्मचारी नियामक निकाय, शुभेच्छुक र सहकारी बैंक तथा संघहरुप्रत आभार प्रकट गरेको छ ।