
चन्द्रमणि गाैतम
शहीद शुक्रराज (वि.सं. १९५१–१९९७) देहरादूनबाट शास्त्री उत्तीर्ण गरेका विद्वान्, समाज सुधारक, नारी मुक्तिका पुराना योद्धा हुन् । नेपाल भाषाका अभियन्ता, नारी हितका लागि ‘स्वर्गको दरबार’ पुस्तक रचयिता, नेवार भाषाको पहिलो वर्णमाला लगायत बाल साहित्य लेखक पनि हुन् । राणा शासकसमक्ष माफी मागे दिने भन्दा पनि उनी गीता पाठ गरेर सहजताका साथ फाँसीमा चढेका हुन् ।
१९९७ माघ ७ गते सोमबार जुद्ध शम्शेरले खडा गरेको ‘विशेष इजलाश’ मा काठमाडौँको बाङ्गेमुढाका पं. शुक्रराज जोशी (शास्त्री), जोरगणेशका धर्मभक्त माथेमा, बैतडीका दशरथ चन्द ठकुरी, प्याफलका गंगालाल श्रेष्ठ, न्हैकन्तलाका पूर्णनारायण प्रधानलाई सर्वश्वहरणसहित ज्यान सजाय सुनाइएको थियो ।
सिफलका टंकप्रसाद आचार्य र ज्ञानेश्वरका रामहरि शर्मालाई सर्वश्वहरणका साथै टाउकोमा चारपाटा मुडेर, काँधमा च्यामेले सुँगुरका पाठा झुन्डाइदिएर, जनै छिनाई जात लिएर चारभन्ज्याङ् (काठमाडौँ उपत्यका) कटाउने फैसला भयो ।
सर्वश्वहरण भई आजीवन कारावास पाउनेहरूमा गणेशमान सिंह, चूडाप्रसाद उपाध्याय, पं. मुरलीधर भट्टराई, हरिकृष्ण श्रेष्ठ, पुष्करनाथ उप्रेती, चिनियालाल सिंह, गोविन्दप्रसाद उपाध्याय, कम्पाउन्डर चन्द्रमान सैँजु, फत्तेबहादुर, बलबहादुर पाँडे, मुकुन्दनाथ उपाध्याय (रिमाल) थिए ।
शुक्रराजका आर्यसमाजी पिता माधवराज जोशी धुरन्धर विद्वान थिए । आर्यसमाजी मान्यताअनुसार उनी ‘पशुपतिनाथ देउता होइन ढुङ्गाको मूर्ती हो’ भन्ने गर्थे । उनलाई ‘सबका गुरू’ भनिन्थ्यो । जहाँ धर्मको उल्लङ्घन हुन्थ्यो यिनै सबका गुरूको नाम आउँथ्यो ।

१९९५ सालमा शुक्रराज शास्त्री गिरफ्तार भए । जेलमा बस्दै अभियोगहरू थप्दै सफाईको मौका नदिई २ वर्ष २ महिना जेलमा राखेर एकतर्फी फैसला गरी १९९७ माघ १० गते टेकू पचलीको खरीको रुखमा झण्ड्याइयो ।
शहादतको रात्री नुहाईवरि हातमा गीता ग्रन्थ लिएर यी महान शहीद विदा भए । झुण्ड्याउन खटिएको पोडेलाई उनले लगाएको घडी फुकालेर दिँदै अन्तिम वाक्य बोले, “ल यो घडी तिमीलाई नै भयो, मेरो घाँटीमा पासो एकैचोटीमा प्राण जाने गरी बाँध ।” पासो लगाएपछि उनले लामो उच्चारण गरे ‘ॐ’ !
झुण्ड्याइएको पार्थिव शरीर दिनभरि त्यसै राखियो । साँझ परेपछि लाश बुझ्न परिवारलाई बोलाउँदा “समयमै सव जिम्मा नदिने, हामी लाश बुझ्दैनौँ, जसले मारेको हो, उसैले के गर्नुपर्छ गरोस्” भन्ने जवाफ पठाएपछि सिपाहीहरू शुक्रराजको घरमा पुगी उनका भाई वाकपतिराजलाई लछारपछार गर्दै, मुण्ट्याउँदै लगी जबरजस्ती लाश जिम्मा लिन लगाए ।
आर्यघाटमा चिता बनाउने ठाउँ दिइएन । नदीको पानीभित्रबाट दाउरा राखी बागमती नदीको बीचमा चिता खडा गरियो । दाहसंस्कार गर्न गएकाहरूलाई बयान गराउनुको साथै पतिया गर्नुपर्छ भनी लगियो ।
साभार–गाैतमजीकाे मुहारपुस्तिका