शनिबार, आश्विन १७ गते २०८३

विद्युत चुहावट ९.१० प्रतिशतले घट्यो

माघ ९, २०७८ आइतबार
विद्युत चुहावट ९.१० प्रतिशतले घट्यो


 नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर ९.१० प्रतिशतमा झारेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गतवर्षको मंसिरसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष २.८२ प्रतिशत विन्दुले घटाएको हो ।

गत वर्ष मंसिरसम्मको वितरणतर्फको विद्युत चुहावट ११.९२ प्रतिशत थियो । प्रणालीमा रहेको विद्युत चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत चुहावट १५.५ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ९.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको प्राधिकरणले जनाएको छ । 

प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको  प्राधिकरणले जनाउको छ ।  यस अवधिमा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएको, सञ्चालमा रहेका सबस्टेसनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट विलिङ भएको लगायतका कारणबाट चुहावट घटेको प्राधिकरणले जनाउको छ ।

‘हुकिङलगायतबाट हुने विद्युत चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारवाही, ओभरलोड भएका सबस्टेसनको सुदृढीकरण तथा नयाँ सबस्टेसनको निर्माण, कन्डक्टर, ट्रान्सर्फमर फेर्नेलगायतका काम अगाडि बढाइकोले चुहावट घटेको हो ।