लोप हुने स्थितिमा पुगेको स्थानिय उत्पादन तोरीको तेललाई ब्राण्ड बनाउन सकिन्छ कि भनेर परम्परागत पेशाकर्मी सहकार्यमा जुटेका छन् । भक्तपुर चेम्बर अफ कमर्शले प्रवर्धन गर्ने भएपछि करिब करिब लोप हुनलागेको परम्परागत पेशालाई पुनरोत्थान गर्न भक्तपुरका मानन्धरहरू अघि सरेका हुन् ।
भक्तपुर जिल्ला मानन्धर युवा संघको अगुवाइमा सम्पन्न गरेको प्रारम्भिक चरणको कार्यक्रममा भक्तपुर, मध्यपुर तथा सूर्यविनायक नगरपालिकाका विभिन्न टोलमा बसोबास गर्दै मानन्धरहरू छलफलमा सहभागी थिए ।
‘लोप हुने तरखरमा रहेको मानन्धर समुदायको पुर्ख्यौली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगलाई अब सामुहिक लगानीमा कम्पनीको रूपमा विकास गर्छौं’ भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धरले जनाए । साना उद्योगको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने पेशा पुँजी तथा कच्चा पदार्थको अभाव, मौलिक उत्पादनको गुणस्तर सम्बन्धिको गुणदोष बुझाउन नसकेर आधुनिक बजारबाट लोप हुँदै गएको उनको दाबी छ ।
भक्तपुरको गोमारी टोलमा सम्पन्न कार्यक्रममा पुर्ख्यौली पेशा अँगाल्दै आएका साःकोलान टोल, टेखाच्व, तःपालाछि, गोमारी तथा मध्यपुरको चोडे टोलका व्यवसायीहरू सहभागी थिए । दोस्रो चरणमा गरिने कार्यक्रममा अन्य व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई समेट्ने बताइएको छ ।
भक्तपुर जिल्लाका स्थानीय उत्पादनलाई ब्राण्डको रुपमा परिचित गराउन विभिन्न संघसंस्थाहरूले पनि प्रयास गरिरहेका छन् । भक्तपुरको जुजु धौ, कालो टोपी, ह्याण्डीक्राफ्ट, लोकल रक्सी, चिउरा, चाकु लगायतका स्थानिय उत्पादनलाई करको दायरमा ल्याएर वैध बनाउँदै लानुपर्ने देखिन्छ । सरकारी नीति तथा प्रोत्साहन अभावले करिव उस्तै उत्पादनहरू विदेशबाट आयात गरि उपभोग गर्दा नेपाली मुद्रा विदेशिएका छन् । जुन राष्ट्रहितमा छैन । अब त्यस्ता उत्पादनलाई वैध बनाएर उद्योगको रूपको विकास गर्नसके रोजगारी सिर्जना गरी स्थानिय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने देखिन्छ ।
भक्तपुर चेम्बरले जिल्लाका जुझारू युवाहरूलाई समेटेर परम्परागत पेशालाई लोप हुनबाट बचाउने अभियानै सञ्चालन गर्ने योजना अनुरुप पुर्ख्यौली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन, बजारीकरण तथा ब्राण्ड बनाउनको लागि संघले न्हुछेरत्न मानन्धरको संयोजकत्वामा एक अध्ययन समिति बनाएको हो ।