शुक्रबार, कार्तिक ७ गते २०८३

बागमती प्रदेश सहकारी संघको पहिलो साधारणसभा सम्पन्न

पौष २९, २०७८ बिहीबार
बागमती प्रदेश सहकारी संघको पहिलो साधारणसभा सम्पन्न

 

बागमती प्रदेश सहकारी संघको प्रथम वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको सभापतित्व एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । 

सभामा बोल्दै अध्यक्ष कँडेलले बागमती प्रदेशमा रहेका केहि सहकारीमा समस्या रहेकाले त्यसलाई समाधान गर्न प्रदेश संघले पनि भूमिका खेल्नुपर्ने बताए । आफुहरुले पहिलादेखि नै सहकारी विभागमा संयुक्त अनुगमनका लागि आवाज उठाउँदै आएकोमा प्रदेश रजिष्ट्रार कार्यालयले त्यसप्रकारका योजना ल्याउनु सकारात्मक भएको बताए । संयुक्त अनुगमनलाई छिटै अगाडि बढाउन सके सहकारीहरु थप समस्याग्रस्त हुन बाट जोगिने उनको भनाई थियो । ऐनमा भएका कतिपय राम्रा व्यवस्था कार्यान्वयनमा ल्याउनु र स्थानीय, प्रदेश र संघका कतिपय ऐनका दफालाई सहकारीमैत्री बनाउन पहल गर्नु अहिलेको आवश्यकता रहेको कँडेलको भनाई छ । महासंघले १० वर्षे रणनीतिक योजना बनाएको र दीगो एवं मर्यादित सहकारी बनाउन ४ वटा स्तम्भ अघि सारेको उनको भनाई छ । सहकारीमैत्री कानुनी बातावरण बनाउने, सुशासनमा लैजाने, सदस्यहरुको दीगोपनाका लागि संघहरुलाई क्रियाशील बनाउने र चल्नै कठिन भएका संघहरुलाई एकिकरणमा लैजाने एवं साझा अभियानालाई सुदृढ बनाउन लागिपर्ने जस्ता विषय रणनीतिमा समेटिएको उनले उल्लेख गरे । 

कार्यक्रमका विशिष्ट अतिथि एवं महासंघका पूर्व अध्यक्ष दीपकप्रसाद बाँस्कोटाले संघहरु आफ्नो सदस्य संस्थालाई स्वायत्त र आत्मनिर्भर बनाउन अग्रसर हुनुपर्ने बताए । सरकार र सहकारीबीचको दूरी कायम गर्नसके सहकारीको भविष्य उज्ज्वल रहेको उनले जनाए । 

bagmati agm.jpg

कार्यक्रममा सहकारी महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटाले पुँजी, सहभागिता र सक्रियताको हिसाबले सहकारी जनताको सञ्जाल बनेकाले यसलाई अनुशासित रुपमा अगाडि बढाउनुपर्ने बताए । राज्यले नियामकको मात्र कार्य नगरी सहजिकरणको कार्यसमेत गर्नुपर्ने बताउँदै उनले खराबी गर्नेलाई कारवाही र राम्रो गर्नेलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए । ‘राजनीतिक पार्टीले सहकारीलाई सुशासनमा राख्न सहयोग गर्ने हो हस्तक्षेप गर्ने होइन’ उनले भने, ‘सहकारीमा सुशासन मुख्य समस्या हो, संस्थाहरुलाई सुशासनमा लैजानै पर्छ ।’

कार्यक्रममा संघका अध्यक्ष शर्माले मुलुकभरका सहकारीमध्ये करिब ३५ प्रतिशत सहकारी बागमती प्रदेशमा रहेको र कुल कारोबारको करिब ६० प्रतिशत हिस्सा यही प्रदेशले ओगटेको बताए । प्रदेशको सहकारी अभियानलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारका सबै नियामक, केन्द्रिय र विषयगत संघहरुसँग समन्वय गरेर अगाडि बढ्ने उनले जनाए । 

कार्यक्रममा संस्थाका महासचिव भीमप्रसाद दाहाललले वार्षिक प्रतिवेदन र तथा कार्यक्रम प्रस्तुत गर्दै चालु आवमा ४०० संस्थालाई सदस्य बनाउने लक्ष्य लिएको बताए । शिक्षा तथा तालिम, समन्वय र सहकार्य, साझेदारी कार्यक्रम संघसंस्थाको प्रवद्र्धन तथा अनुगमन, ऐन नियमको संशोधन लगायतका विषयमा संघले भूमिका खेल्ने उनको भनाई छ । कार्यक्रममा कोषाध्यक्ष टिकाराम भट्टराईले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक नेत्रराज पौडेलले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

संघका वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले स्वागत मन्तब्य र सचिव देवराज न्यौपानेले कार्यक्रमको सञ्चालन गरेका थिए ।