बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार नारायण प्रसाद ज्ञवालीले सहकारी अभियान र राज्य दुवैले संयुक्त संयन्त्र बनाएर सहकारीहरुको अनुगमन गर्ने बताएका छन् । अनुगमनका लागि राज्यको तर्फबाट पनि मोडालिटी तयार गरिसकिएको र अभियानबाट पनि त्यसका लागि खाका ल्याउन उनले आग्रह गरे ।
बागमती प्रदेश सहकारी संघको साधारणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । बागमती प्रदेशमा नै सबैभन्दा बढी सहकारी संस्था, कारोबार, सदस्य, पुँजी, रोजगारी सँगै विकृति पनि रहेकाले अभियान र राज्य मिलेर संयुक्त रुपमा नियमन अनुगमन गर्ने कुरामा आफु तयार रहेको उनले बताए । फागुन चैत्र बाट नै संयुक्त अनुगमनको काम थालनी गर्ने भन्दै यथाशीघ्र नियमनको मोडालिटी ल्याउन अभियानलाई उनले आग्रह गरे । विषयगत संघहरु क्रियाशील रहेपनि जिल्ला संघहरु निष्क्रिय जस्तै देखिएकाले जिल्ला संघहरुले प्रदान गर्ने सेवा स्पष्ट नहुँदा सदस्य संस्थाहरुको आकर्षण बढ्न नसकेको उनले उल्लेख गरे ।
बागमतीमा रहेका १३ वटा जिल्ला संघले प्रारम्भिक संस्थाको मासिक प्रगति विवरण संकलन गरी प्रदेशमा बुझाउन मात्रै सकेपनि संघप्रति सदस्य संस्थाको आकर्षण बढ्ने उनको भनाई छ । अहिले रसुवाको सहकारीलाई मासिक रिपोर्ट बुझाउन प्रदेश कार्यालय जाँदा खर्चिलो छ । उनले थपे ‘जिल्ला संघहरुले यसको नेतृत्व लिन तयार भए, म त्यसका लागि तयार छु ।’ अहिले सहकारीमा देखिएको समस्यालाई कसरी समाधान गर्ने र नियामक निकायसँग सहकार्य गर्ने भन्नेमा योजना लिएर आउन उनले अभियन्ताहरुलाई आग्रह गरे ।