जिल्ला सहकारी संघ लिमिटेड, काठमाडौंको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संघका अध्यक्ष ज्ञान बहादुर तामाङको सभापतित्व एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौड्यालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभामा शुभकामना मन्तव्य राख्दै मन्त्री पौड्यालले शिक्षालाई सिप र सिपलाई उत्पादनसँग जोड्न सहकारीले काम गर्नुपर्नै बताए ।
सहकारी अभियानले दिएको सुझाव अनुरुप कानुनी व्यवस्था गरेर सहकारी विषयलाई क्रमिकरुपमा पाठ्यक्रममा समावेश गर्दै जाने उनले प्रतिवद्धता जनाए ।

त्यसैगरी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले हाल कायम रहेको १४ दशमलव ७५ प्रतिशत व्याजदरलाई २ प्रतिशतले बढाउन चाहेपनि सरकारी पक्षका कारण बढ्ने सम्भावना कम रहेको बताए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले ग्रामीण क्षेत्रमा भन्दापनि सहरी क्षेत्रमा खुलेका सहकारीहरुमा बढी विकृति देखिने गरेको जनाए ।
जिल्ला संघका महासचिव मनोज भण्डारीले संचालन गरेको सभामा उपाध्यक्ष खेमराज सुवेदीले स्वागत गरेका थिए ।
सभामा संचालक समितिको तर्फबाट अध्यक्ष ज्ञान बहादुर तामाङले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन तथा चालु आवको नीति तथा कार्यक्रम सभामाम प्रस्तुत गरेका थिए ।
