शुक्रबार, कार्तिक ७ गते २०८३

बहुउद्देश्यीय केन्द्रिय संघको साधारणसभा घोषित मितिमा नै हुने, विभागले मगायो साधारणसभा स्थगनको माइन्युट 

पौष २६, २०७८ सोमबार
बहुउद्देश्यीय केन्द्रिय संघको साधारणसभा घोषित मितिमा नै हुने, विभागले मगायो साधारणसभा स्थगनको माइन्युट 

 

बहुउद्देश्यीय केन्द्रिय सहकारी संघको साधारणसभा घोषित मितिमा नै हुने भएको छ । संघको नवौं वार्षिक साधारणसभा आगामी पौष २९ गतेका लागि तोकिएको भएपनि संघका पदाधिकारीबीच मतैक्य नहुँदा संघका अध्यक्ष सुरेन्द्र भण्डारी सभा स्थगनको सूचना निकालेका थिए । संघका बहुमत पदाधिकारीले निर्धारित मितिमा नै साधारणसभा हुनुपर्ने माग गर्दै सहकारी विभागमा उजुरी दिएका थिए । विभागले समेत उनीहरुको उजुरीलाई सदर गर्दै तोकिएको मितिमा नै साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको थियो । 

सहकारी ऐन २०७४ ले समेत आर्थिक वर्ष सकिएको ६ महिनाभित्र सहकारी संघ तथा संस्थाको साधारणसभा सम्पन्न गरिसक्नुपर्ने कानुनी व्यवस्था गरेको छ । संघका सचिव माधव तिमल्सिनाले पौष २९ गते नै साधारणसभा सम्पन्न गर्ने तयारी भएको र २८ गतेसम्म सदस्य संघसंस्थाबाट प्रतिनिधि छनौट गरी नाम पठाउन सूचना जारी गरिएको बताए । 

यता संघका अध्यक्ष भण्डारीलाई साधारणसभा स्थगनको माइन्यूटसहित २४ घण्टाभित्र विभागमा उपस्थिति हुन पत्र पठाइएको श्रोतले बताएको छ । 

विभागले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघलाई  सञ्चालक समितिको निणर्यको प्रमाणित प्रतिलिपि पठाउन निर्देशन जारी गरेको छ । पुस २९ गते तय भएको निर्वाचनसहितको नवौं वार्षिक साधारणसभा स्थगित गरिएको प्रमाणित प्रतिलिपि पठाउन उपरजिष्ट्रार खिमानन्द आचार्यद्धारा जारी गरिएको पत्राचारमा उल्लेख छ । 

त्यसैगरी विभागले यस अघि पनि केन्द्रिय संघलाई विभागको निर्देशनको बर्खीलाप हुनेगरी स्थगनको सूचना जारी गरेको भन्दै खुलाइ पठाउन निर्देशन दिइसकेको छ ।  विभागले पुस २३ गते संघलाई निर्वाचनसहितको साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको थियो । विभागले राष्ट्रिय सहकारी महासंघलाई समेत आवश्यक समन्वय गर्न लेखिपठाएको छ ।