श्रीगणेश बहुउद्देश्यीय सहकारी संस्थाको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं १२ प्रयाग पोखरीमा अवस्थित सहकारीको पुस २४ गते शनिबार साधारण सभा संस्थाका कार्यकारी अध्यक्ष तीर्थलाल महर्जन सभापतित्वमा सम्पन्न भएको हो ।
सभमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यता रहेको थियो भने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विशेष अतिथिका रुपमा रहेका थिए ।
प्रमुख अतिथि भुषालले संस्थाले सदस्य र समाजको उठानको लागि रचनात्मक कार्य गर्दै जान शुभकामना दिँदै आउने वर्षदेखि संस्थाले प्रत्येक सदस्यलाई लाभांश स्वरुप इन्डकसन चुलो प्रदान गर्न सुझाव दिइन् ।
ललितपुर महानगरपालिकाका मेयर महर्जनले आफुसँग भएको पैसालाई घरमा नराखि लगानी वा वित्तीय संस्थामा राखि थप पैसा आर्जन गर्न सुझाव दिए ।
त्यस्तै ज्यापु समाज यलका प्रथम उपाध्यक्ष सविना अवालेले कोरोनाले थलिएको अर्थतन्त्रमा पनि संस्थाको सन्तुलित आर्थिक प्रतिवेदनप्रति सन्तोष व्यक्त गरिन् ।
संस्थाका कार्यकारी अध्यक्ष तीर्थलाल महर्जनले संचालक समितिको तर्फबाट आ व २०७७।०७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आ व २०७८।०७९ को लागि प्रस्तुत नीति तथा कार्यक्रम, लक्ष्य र बजेट सभाले पारित गरेका छ ।
गत आ व २०७७।७८ मा संस्थाको शेयरपुँजी ८ करोड ६ लाख ३२ हजार रहेको छ । संस्थामा १ हजार ८२८ जना सदस्य आवद्ध भएका छन् । उक्त अवधिमा संस्थाको जगेडा कोषमा २ करोड ८१ लाख ११ हजार ७ सय ९ रुपैया रहेको छ । त्यस्तै संस्थाले ५१ करोड ५७ लाख ४१ हजार रुपैया निक्षेप संकलन गरी २६ करोड ९० लाख ९७ हजार रुपैया कर्जा लगानी गरेको छ । सहकारीले गोदावरी नगरपालिका स्थित लेलेमा १२ रोपनी १४ आन ३ पैसा कृषि परियोजनोको लागि जग्गा खरिद गरेको छ ।