शुक्रबार, कार्तिक ७ गते २०८३

बहुउद्देश्यीय केन्द्रिय संघमा चर्कियो विवाद, साधारणसभा नै अन्यौलमा

पौष २५, २०७८ आइतबार
बहुउद्देश्यीय केन्द्रिय संघमा चर्कियो विवाद, साधारणसभा नै अन्यौलमा

नेपाल बहुउद्देश्यीय सहकारी संघका सञ्चालकहरुबीच विवाद चर्किंदा संघको साधारणसभा हुने कि नहुने अन्यौल भएको छ । संघका सञ्चालकहरु दुई खेमामा बाँडिएका छन् । एउटा पक्ष निर्धारित समयमा साधारण सभा गर्नु पर्छ भन्नेमा रहेको छ भने अर्को पक्ष साधारण सभाको तयारी नुपुगेको भन्दै स्थगन गर्ने पक्षमा छ । संघको निर्वाचन सहितको नवौं वार्षिक साधारण आगामी पौष २९ गतेका लागि तय गरिएको थियो । 

संघमा आन्तरिक विवाद चुलिएपछि अध्यक्ष सुरेन्द्र भण्डारीले एक सूचना प्रकाशित गरी साधारण सभा स्थगत भएको जनाएका छन् । यता संघका सचिव माधव तिमल्सिना पक्षधरहरुले तोकिएकै मितिमा साधारणसभा हुनुपर्ने अडान राख्दै सहकारी विभागमा उजुरी दिएका छन् । विभागले समेत पौष २३ गते बहुउद्देश्यीय केन्द्रिय संघलाई निर्देशन जारी गर्दै तोकिएकै समयमा साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको छ । 

विभागका उपरजिष्ट्रार खिमानन्द आचार्यद्वारा जारी निर्देशन संघको मंसीर १३ गते बसेको सञ्चालक समितिको बैठकले २०७८ पौष २९ गते निर्वाचन सहितको साधारणसभा गर्ने निर्णय गरेको हुँदा, उक्त सञ्चालक समितिको बैठक बसेको मिति मंसीर १३ गतेसम्म कायम सदस्यहरुलाई मात्र निर्वाचनमा भाग लिन व्यवस्था गर्न भनिएको छ । 

त्यसैगरी सहकारी ऐन २०७४ को साधारणसभाको बैठक सम्बन्धी व्यवस्था अन्तर्गत उपदफा २ मा हरेक आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा बोलाउनुपर्ने व्यवस्था भए बमोजिम तोकिएको समयमा साधारणसभा गर्न भन्दै अन्यथा कानुन बमोजिम विभागले कारवाही अगाडि बढाउने निर्देशनमा उल्लेख छ । 

यता संघका अध्यक्ष सुरेन्द्र भण्डारीले भने विभागले जारी गरेको निर्देशनलाई नै अवज्ञा गर्दै साधारणसभा स्थगन भएको सूचना राष्ट्रिय दैनिकमा प्रकाशित गरेका छन् । उनले गत पौष १९ गते वार्षिक साधारणसभाको पूर्वतयारी, संघको सदस्यता प्रदान लगायत १० वटा छलफलका विषयहरु सहित सञ्चालक समितिको बैठक आयोजना गरिएको र सदस्यता प्रदान गर्ने सम्बन्धी विषयम विवाद उत्पन्न भएकाले सचिव माधव प्रसाद तिमल्सिनाको नेतृत्वमा केहि सञ्चालकहरुले सहकारी विभागमा उजुरी दिएको र साधारणसभासम्बन्धी तयारी पूरा नभइसकेको भन्दै सभा स्थगनको सूचना जारी गरेका छन् । 

यता सचिव तिमल्सिनाले भने विभागको निर्देशनलाई समेत उल्लंघन गरेर स्थगनको सूचना निकालेको र सञ्चालकहरुलाई जानकारी नै नदिई एकलौटी ढंगले अध्यक्ष भण्डारीले गरेको गतिविधि मान्य नहुने उनको भनाई छ । तोकिएकै समयमा साधारणसभा गरिनुपर्ने उनले बताए ।