शनिबार, आश्विन १७ गते २०८३

सहकारीको संख्या सुदृढ तर स्वास्थ्य खराब: मुख्यमन्त्री पाण्डे

पौष २५, २०७८ आइतबार
सहकारीको संख्या सुदृढ तर स्वास्थ्य खराब: मुख्यमन्त्री पाण्डे


बागमती प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सहकारी अभियान संख्यात्मक हिसाबले सुदृढ भएपनि स्वास्थ्यको हिसाबले सुदृढ हुन नसकेको बताएका छन् । 

राष्ट्रिय सहकारी बैंकको १८औं वार्षिक साधारणसभा अन्तर्गत बागमती प्रदेशको सभाको उद्घाटन गर्दै प्रमुख अतिथि पाण्डेले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन र सुशासनमा लैजान, अभियानको नेतृत्वले धेरै काम गर्न बाँकी रहेको औंल्याए । सहकारी क्षेत्रमा रहेको विकृति अन्त्य गर्ने प्रमुख जिम्मेवारी अभियानको भएको भन्दै उनले भने, ‘सहकारीमा फेरि अरु इच्छाराज तामाङहरु नजन्मिउन, तपाईंहरुले ध्यान दिनुस् ।’

सहकारी ऐन २०७४ आएपछि अभियानको नेतृत्व निदाएको घोडाजस्तै भएको भन्दै अधिकार मागेर हैन लडेर लिनुपर्ने पाण्डेको भनाई थियो । कतिपय सरकारी अड्डाले अझैसम्म सहकारीलाई नचिनेको प्रसंग उल्लेख गर्दै सहकारीलाई उत्पादनमूलक काम गर्न अप्ठ्याराहरु रहेको आफु स्वयंले पनि भोगेको बताए । नयाँ सहकारी ऐनले पनि २०४८ कै कतिपय समस्याहरु बोकेर आएको भन्दै उनले प्रश्न गरे, ‘६० लाखभन्दा बढी सदस्य रहेकाे अभियानले त्यसको निराकरण गर्न खोइ त राज्यलाई झक्झक्याएको ?’ 

बागमती प्रदेश भित्रका सहकारीले मात्रै करिब २ खर्ब रुपैया परिचालन गरिरहेको भन्दै प्रदेशले सहकारी मन्त्रालय छुट्टै बनाएर संस्थाहरुको नियमन अनुगमनलाई चुस्तदुरुस्त बनाउन लागिपरेको उनले जनाए । बागमती प्रदेशभित्र कम्तीमा १५ दिनको तालिम नलिएका व्यक्तिलाई सहकारीको सञ्चालक बस्न नदिने उनले जनाए । 

प्रदेश सरकारले ३ प्रतिशत सहुलियत ब्याजदरमा कृषि क्षेत्रमा ऋण परिचालन गर्न २ अर्ब रुपैया छुट्टयाएको भन्दै राष्ट्रिय सहकारी बैंकलाई पनि प्रस्ताव लिएर आउन मुख्यमन्त्री पाण्डेले आव्हान गरे । 

bagmati 3.jpg

सभामा बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी बैंक स्थापना देखि हालसम्म गरेका गतिविधि र उपलब्धिको फेहरिस्त प्रस्तुत गरे । उनले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग सहुलियत ब्याजदरमा ऋण उलपब्ध गराउन माग गर्दै २ प्रतिशतको मार्जिनमा आफुहरुले त्यसलाई परिचालन गर्न सक्ने जनाए । 

सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारी, महासंघका पूर्व अध्यक्ष दिपकप्रसाद बास्कोटा लगायतका अतिथिले मन्तब्य राखेका थिए ।  

सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेललाई राष्ट्रिय सहकारी अभियन्ता सम्मान, कुलचन्द्र अधिकारीलाई पूर्व सञ्चालक सम्मान, डा. रमेशप्रसाद चौलागाईंलाई राष्ट्रिय सहकारी विद्वता सम्मान र सहकारी पत्रकारिता पुरस्कार खिलानाथ दाहाललाइ प्रदान गरिएको थियो । 

सभामा आकुद्वारा यस वर्ष सहकारी भोलेन्टियर पुरस्कार अभियन्ता यज्ञराज ढुंगेल र उत्कृष्ट सहकारी व्यवस्थापक पुरस्कार विन्धबासिनी साकोसका व्यवस्थापक के.बी लामालाई प्रदान गरिने घोषणा गरिएको थियो । 

सभामा बागमती प्रदेशभर र सहकारी बैंक शाखागत रुपमा उत्कृष्ट कारोबार गर्ने संस्थाको नाम घोषणा गरिएको थियो भने बैंकका उत्कृष्ट शाखा तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । सभामा यज्ञराज ढुंगेलद्वारा लिखित पुस्तक ‘हेड सर’ को लोकार्पण समेत गरिएको थियो । बैंकका सञ्चालक ज्ञान बहादुर तामाङले सभा सञ्चालन गरेका थिए । 

bagmati 2.jpg