शुभश्री बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठको अध्यक्षता एवं मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा शुभकामना मन्तब्य राख्दै मेयर श्रेष्ठले शुभश्री सहकारीले बचत ऋणको मात्र कारोबार नगरी सामाजिक क्षेत्रमा पनि उल्लेख्य योगदान पु¥याएको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि एवं नेफ्स्कुनकी सञ्चालक मन्दरा मिश्रले प्रदेशमा दर्ता भएका बहुउद्देश्यीय नामधारी सहकारीले ब्याजको प्रलोभन देखाउँदै घरदैलोमा नै पैसा उठाउन आउन थालेको भन्दै चनाखो भएर कारोबार गर्न आग्रह गरिन् । नाम बहुउद्देश्यीय भएपनि काम बचतऋणको गर्ने र १४–१५ प्रतिशत ब्याजको प्रलोभन देखाएर बचत गर्न बोलाउने गरेकाले त्यसतर्फ सचेत हुनुपर्ने बेला आएको उनको भनाई छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठले सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै १४औं साधारणसभासम्म आइपुग्दा सदस्यहरुको सक्रिय सहभागिताले आर्थिक कारोबारमा सन्तोषजनक प्रगति गर्न सकेकको बताए । संस्थाले सदस्य तथा समाजको हितलाई सर्वोपरी ठानी कारोबार गर्दै आएको र सदस्यहरुको आर्थिक विकासलाई मात्रै नभई सामाजिक तथा साँस्कृतिक विकासलाई पनि प्रमुख ठानेको उनले सो अवसरमा बताए । अहिले प्रविधिको युग भएकाले संस्थाले नयाँ नयाँ प्रविधिलाई अँगालेर शेयरसदस्यलाई सहज र सरल सेवा दिने योजना संस्थाले बनाएको सो अवसरमा उनले जानकारी दिए । संस्थाले मोबाइल बैंकिङ एटिएम कार्ड र विभिन्न एप्स सञ्चालनमा ल्याई नमुनायोग्य संस्थाको रुपमा समाजमा उभिने र नमूनायोग्य काम गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।
संस्थामा अधिक तरलता भएकाले असल ऋणी सदस्यहरुलाई ऋण लगानी गरी क्रमशः तरलता घटाउँदै जाने नीति अघि सारेको उनले जनाए । सभामा संस्थाका कोषाध्यक्ष तुलसीमान श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत असार मसान्तसम्म २५९२ शेयरसदस्य ४ करोड ४५ लाख शेयरपुँजी, ३४ करोड ४८ लाख बचत संकलन र १६ करोड ८८ लाख ऋण लगानी भएको जानकारी दिए ।
संस्थाको जगेडा तथा अन्य कोषहरुमा २ करोड ३७ लाख ६५ हजार रहेको छ । संस्थाले त्यस अवधिमा ६४ लाख २८ हजार खुद बचत आर्जन गर्न सफल भएको छ ।
संस्थाका लेखासमिति संयोजक भूपाल श्रेष्ठले समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले वित्तीय बजारको वर्तमान अवस्थालाई मध्यनजर गरी तरलता व्यवस्थापन गर्न नयाँ नीति तथा योजना ल्याउन सुझाए ।
सभामा उत्कृष्ट ज्येष्ठ सदस्य, बचतकर्ता र ऋणी तथा एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । संस्थाका सचिव काशीभक्त कायस्ठले सभा सञ्चालन र सञ्चालक रत्नसुन्दर कायस्थले धन्यवाद ज्ञापन गरेका थिए ।
