जनजीविका बचत तथा ऋण सहकारी संस्थाले एकदिन निःशुल्क स्वास्थ्यशिविर आयोजना गरेको छ । भक्तपुरको सूर्यविनायकमा रहेको उक्त संस्थाले भक्तपुर लायन्स सेवा समन्वय समितिद्वारा सञ्चालित लायन्स आँखा तथा मधुमेह सेवा केन्द्रको संयुक्त आयोजनामा शिविर सञ्चालन गरेको हो ।
शिविरमा नाक, कान, घाँटी र आँखासम्बन्धी निःशुल्क सेवा प्रदान गरिएको संस्थाकी व्यवस्थापक सुनिता जोन्छेँले बताइन् । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरु गर्दै आएको भएपनि कोभिडका कारण रोकिएका यस्ता कार्यक्रम पुनः सञ्चालनमा ल्याएको उनले बताइन् । उक्त शिविरमा संस्थाले आफ्ना सदस्यहरुका साथै समुदायका मानिसहरुलाई समेत सहभागी गराएको थियो । शिविरबाट २ सयजनाले सेवा लिएको उनले बताइन् । वीपी नेत्र प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र च्याम्हासिंहको प्राविधिक सहयोगमा भएको शिविरमा सिर्जनशील महिला समुह र भक्तपुर चेम्बर अफ कमर्शले समेत सहयोग गरेका थिए ।