वर्दघाट–७, नवलपरासीमा रहेका दुईवटा सहकारी संस्थाबीच एकिकरण हुने भएको छ । मुलुकमा सहकारीको संख्या धेरै भयो भन्ने आवाज उठिरहेका बेला मोफसलमा रहेका २ वटा संस्था एकिकरण हुन लागेका हुन् । एउटै कार्यक्षेत्र र दोहोरो सदस्य रहेकाले दुवै संस्थाले एकिकृत भई कारोबार गर्न लागेका हुन् । वर्दघाटमा रहेको सुलभ साकोस र वाल्मिकी बहुउद्देश्यीय सहकारी संस्थाबीच एकिकरण हुने भएको हो । दुई संस्था एकिकरण भई आगामी माघ १ गतेबाट सुलभ वाल्मिकी बहुउद्देश्यीय सहकारी संस्थाको नामबाट एकिकृत कारोबार गरिने सुलभ साकोसकी व्यवस्थापक लक्ष्मी तिवारीले जानकारी दिइन् । पौष मसान्तभित्र लेखापरीक्षण सकी संयुक्त साधारण सभा आयोजना गरी एकिकरणको घोषणा गरिने उनले बताइन् । उक्त क्षेत्रमा दुध उत्पादक कृषकको संख्या अधिक रहेको र संस्थाका अधिकांश सदस्य पनि कृषक रहेकाले उनीहरुलाई विभिन्न सेवा दिने उद्देश्यले बहुउद्देश्यीय संस्थाको रुपमा काम गर्न लागिएको तिवारीले बताइन् ।
संस्थाले हाल दैनिक १००० लिटर दूध संकलन गरी स्थानीय बजारमा विक्री वितरण गर्दै आएको छ । त्यसका साथै पशुका लागि चाहिने दाना, कृषिका लागि आवश्यक बीउबिजन र मलखाद विक्री वितरण समेत गर्दै आएको छ । सदस्यहरुको आर्थिक सामाजिक तथा साँस्कृतिक विकासका लागि सरल र सुलभ ढंगले वित्तीय सेवा प्रदान गरी उनीहरुको जीवनस्तर माथि उठाउनु संस्थाको लक्ष्य रहेको उनले बताइन् ।
कोभिड १९ का कारण व्यापर व्यवसाय, उद्योगधन्दा र दैनिक जीवनयापन प्रभावित हुँदा संस्थाको कारोबारमा समेत प्रभाव परेको उनले बताइन् । हालसम्म संस्थामा १२ सय १ सदस्य आवद्ध रहेका छन् जसमा ६०६ महिला र ५९५ पुरुष छन् ।
असार मसान्तसम्म संस्थाको ६४ लाख ९० हजार शेयरपुँजी, ६८ लाख ७४ हजार संस्थागत पुँजी रहेको छ भने ४ करोड ३६ लाख ३१ हजार बचत संकलन रहेको छ । संस्थाले हालसम्म ६ करोड ५१ लाख कुल कारोबार पुगेको छ । संस्थाले सहकारी बैंकबाट एक करोड ऋण लिएर सदस्यहरुका बीचमा लगानी गरेको र अब ६० लाख रुपैयामात्र फिर्ता गर्न बाँकी रहेको जनाएको छ । सदस्यहरुको व्यापारव्यवसाय प्रवद्र्धनका लागि संस्थाले बढिमा ८ लाखसम्म ऋण प्रदान गर्दै आएको छ । संस्थाले लघुवित्त कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ । लघुवित्तमार्फत समुह निर्माण गरी ऋण लगानी गर्ने गरको र कुनै ऋणी सदस्यले ऋण नतिरे समुह जमानी हुने हुँदा ऋण असुलीमा कुनै समस्या नभएको उनले जानकारी दिइन् ।
संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका सदस्यहरुबाट ससानो रकम मासिक बचतको रुपमा संकलन गरी उनीहरुको सुनिश्चित भविष्यका लागि लगानी गर्दै आएको छ । समुदायमा निम्न आयवर्गका किसान, ससाना व्यापारी एवं मजदुर रहेकाले उनीहरुको आयस्तर वृद्धि गर्न संस्था लागिपरेको व्यवस्थापक तिवारीले बताइन् । संस्थाले अनुत्पादक भन्दापनि ससानो लगानीबाट आयस्तर वृद्धि गर्ने क्षेत्रमा नै लगानीलाई प्राथमिकतामा राखेको उनले जनाइन् । दूध र अण्डाको लागि पकेट क्षेत्र भएकाले त्यसैलाई स्तरोन्नति गर्न आफुहरुले सहयोग गर्ने गरेको उनले सुनाइन् । डिभिजन सहकारी कार्यालयबाट स्थानीय तह र प्रदेशमा सहकारी संस्थाको फाइल हस्तान्तण भएको लामो समय भएपनि अहिलेसम्म फाइल कहाँ र कुन अवस्थामा छन् भन्ने आफुहरुलाई जानकारी नभएको उनले सुनाइन् । कर्मचारी अभाव देखाउँदै समयमा काम नगर्ने र फर्काइदिने गरेको गुनासो उनले गरिन् ।
संस्थाले स्थानीय सरकारसँग मिलेर थुप्र सामाजिक कार्य गर्नुका साथै सदस्यहरुलाई कोभिड राहत सुविधा, खेलकूदको विकास र प्राकृतिक विपद्मा परेकाहरुको उद्दार तथा पुनस्र्थापनाका लागि समेत काम गर्दै आएको छ ।