नेपाल राष्ट्र बैंकले कुनै एक वित्तीय संस्थाकाे १० वा विभिन्न संस्थाकाे ५१ प्रतिशत क्रस होल्डिङ भएका लघुवित्त गाभ्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घोषणा गरेको लघुवित्तको ‘फोर्सफुलु मर्जर’ लाई सोमबार निर्देशनमार्फत अगाडि बढाएकाे हो ।
निर्देशनले केहि अन्यौल भने थपिएको बैंकरहरुले जनाएका छन् । यस अघि राष्ट्र बैंक एक तप्का मात्रै क्रस होल्डिङ भएका सबै संस्थालाई गाभ्ने प्रयासमा थियो। निर्देशन अनुसार भने त्योभन्दा फरक १० प्रतिशतमाथि भएकालाई मर्जरमा लैजाने भनेर आएको छ। त्यसमा पनि ५१ प्रतिशतको अर्को व्यवस्थाले थप अन्योल बढाएको हो ।
बराबर प्रतिशतमा होल्डिङ भएको अवस्थामा कुन संस्थासँग मर्जरमा जाने भन्ने अन्यौल कायम रहेको छ ।
अहिले रहेका ७० वटा लघुवित्त संस्थाहरुमध्ये ४१ वटामा बैंक तथा वित्तीय संस्थाहरुको लगानी छ। ती संस्थाहरुमा बैंक तथा वित्तीय संस्थाहरुको सेयर लगानी अधिकतम ७० प्रतिशतसम्म रहेको देखिन्छ ।
३३ वटा लघुवित्त कम्पनीमा बैंक तथा वित्तीय संस्थाहरुको १२ प्रतिशतभन्दा बढी लगानी छ। यसैगरी दुईभन्दा बढी संस्था मिल्दा ६ वटा संस्थामा उनीहरुको लगानी ५१ प्रतिशत पुग्न आउँछ।
