स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजबाट कोभिड–१९ विरुद्धको खोपको बुष्टर डोज दिन शुरु गरेको छ ।
कोभिड–१९ विरुद्ध दुई डोज खोप लगाएको तीन महिना पुगेका लक्षित समुहलाई थप एउटा खोपको मात्रा दिइन लागेको हो । पहिले जुन खोप लगाएको हो, सोही प्रकृतिको खोप थप अतिरिक्त मात्रा दिइने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । थप एउटा अतिरिक्त मात्रा खोप बुस्टर डोज नभई कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिलाईमात्र दिइने उनले बताए ।
मन्त्रालयले बालबालिकाले लगाउने खोप केन्द्रबाहेक सबै खोप केन्द्रबाट अतिरिक्त खोपको मात्रा दिइने जनाएको छ । बालबालिका बाहेकका जहाँ जहाँ खोप केन्द्र सुरु भएको छ अतिरिक्त खोप लगाउनका लागि लक्षित वर्गले चिकित्सकको सिफारिस तथा खोपको दुईवटा मात्रा लगाएको कार्ड लगेर जानुपर्ने छ । कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एउटा मात्रा खोप दिन लागेको हो ।
मन्त्रालयले मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी सङ्क्रमण भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको यो अतिरिक्त मात्रा दिन लागेको हो ।