राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के. बी. उप्रेतीले सन्दर्भ ब्याजदर १४.७५ बाट बढाउन पहल गर्ने बताएका छन् । सहकारी संस्थाहरुले ऋणमा लगानी गर्दा लिने ब्याजदरमा सिलिङ लगाएकाले सहकारी क्षेत्रको पैसा अन्यत्र गएको उनले जनाए । ब्याजदर नबढे सहकारी क्षेत्रमा थप संकट आउन सक्नेतर्फ उनले इंगित गरे । सन्दर्भ ब्याजदर घटाउने निर्णय भए बहिष्कार गरेर जाने समेत उनले बताए ।
काठमाण्डौ जिल्ला बहुउद्देश्ययीय सहकारी संघको आयोजनामा आज भएको एक अन्तर्किया कार्यक्रममा बोल्दै सहकारी बैंकका अध्यक्ष उप्रेतीले सहकारी संस्थाहरुलाई संयमित भएर ऋण लगानी गर्न सुझाए । उनले भने “अहिलेको यो तरलता अभावको अवस्था कहिलेसम्म कायम रहन्छ भन्ने थाहा छैन, त्यसैले अति आवश्यक बाहेकका अवस्थामा ऋण लगानी नगर्नुस्” सहकारी संस्थाहरु
तरलता अभावसँग जुध्न राष्ट्रिय सहकारी बैंकले २ अर्बको तरलता कोष स्थापना गरेको बताउँदै उनले बैंकसँग निरन्तर कारोबार गरेका, यस अघिनै समस्यामा नपरेका तरलता आवश्यक परेका संस्थालाई बैंकले रकम उपलब्ध गराउने जनाए ।
सहकारी क्षेत्रको समस्या समाधान गर्न महासंघ र केन्द्रिय संघहरुले पहल गर्नुपर्ने उनले औंल्याए । उनले भने “समस्या भयो, यसरी समाधान गरौं, तपाईंले यस्तो पहल गर्नुप¥यो भनेर मलाई कसैले भनेको छैन ।”
जिल्ला बहुउद्देश्यीय संघका अध्यक्ष मनोज थापाले तरलता समस्या, बहुउद्देश्यीय सहकारीका समस्या र भावी कार्यदिशाका लागि छलफल आयोजना गरिएको उल्लेख गरे । सहकारी ऐनले बहुउद्देश्यीयहरुलाई प्राथमिक उद्देश्यमा काम गर्न भनेको तर काम गर्न बाटो खुला भने नगरेको उल्लेख गरे । सहकारी अभियानमा नेता धेरै भएपनि समस्या समाधानका लागि राज्यसँग उचित पहल गर्ने कोही नभएको उनले गुनासो गरे ।