शनिबार, आश्विन १७ गते २०८३

हिंसापीडित महिलाको उद्धारदेखि सफल उद्यमी जन्माउँदै दाउन्ने देवी महिला सहकारी

पौष १४, २०७८ बुधबार
हिंसापीडित महिलाको उद्धारदेखि सफल उद्यमी जन्माउँदै दाउन्ने देवी महिला सहकारी

 

नवलपरासीको वर्दघाटमा रहेको दाउन्ने देवी महिला बहुद्देश्यीय सहकारी संस्थाले घरेलु हिंसा पीडित महिलाहरुको उद्धारका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । संस्थाले २०६६ सालबाट समाजमा रहेका दीनदुखी एवं घरेलुहिंसाबाट पीडित र सहाराविहीन महिलाहरुलाई सेवा दिँदै आएको छ । संस्थाले ४५ दिनसम्म उनीहरुलाई खानबस्नको प्रबन्ध मिलाउनुका साथै घरायसी झगडा परेका महिलाहरु जिल्ला प्रहरी कार्यालयको समन्वयमा परिवारसँग पुनस्र्थापना गर्दै आएको संस्थाकी उपाध्यक्ष लक्ष्मी शर्माले बताइन् । त्यस अवधिमा पारिवारिक मिलन हुन नसकेकाहरुलाई भने जिल्ला अदालतमा मुद्दा समेत दायर गरेर कानुनी प्रक्रिया अगाडि बढाई न्याय दिलाउनका निम्ति संस्थाले सहयोग गर्दै आएको उनले जानकारी दिइन् । संस्थाले त्यस्ता महिलाहरुको हेरचाहका लागि २ जना कर्मचारीसहित छुट्टै कार्यालयको व्यवस्था समेत गरेको छ । पीडित महिलाहरुको व्यवस्थापन गर्न लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय र सामाजिक विकास डिभिजनबाट वार्षिक १० लाख रुपैया अनुदान पाउने गरेको र त्यसैबाट कार्यक्रम सञ्चालन गदै आएको उनले बताइन् । महिनामा चारपाँचजना यस्ता समस्या लिएर कार्यालय आउने गरेको र उनीहरुको समस्या समाधानका लागि आफूहरुले सक्दो प्रयास गरेको उनले बताइन् । संस्थाले सञ्चालन गरेको यस कार्यक्रमबाट हालसम्म चारपाँच सय महिलाले सेवा पाएका छन् । संस्थाले कतिपय बेवारिसे अवस्थामा फेला परेका घरठेगान थाहा नभएका महिलाहरुको उद्धार गरी उनीहरुलाई परिवारसँग पुनर्मिलन गराउने काम समेत गरेको छ । 

यसरी शुरु भएको थियो दाउन्ने महिला सहकारी

२०५५ साल फागुन ४ गतेका दिन प्रारम्भिक साधारणसभा गरी २०५६ साल पौष १ गते डिभिजन सहकारी कार्यालयमा दर्ता भइ संस्था अगाडि बढेको हो । पितृसत्तात्मक समाजका विभिन्न बन्देजलाई चिर्दै राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच, सहभागिता र नेतृत्वका लागि एकजुट भएर सहकारीका माध्यमबाट आर्थिक सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आफुहरुलाई सशक्त बनाउन संस्था स्थापना गरिएको हो । संस्थाले समाजमा पछाडि परेका उत्पीडित समुदायलाई एकिकृत गरी उनीहरुको आर्थिक सामाजिक रुपान्तरणमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ ।

तत्कालिन समयमा त्यहाँका साहु महाजनहरुले ससानो ऋण समेत नपत्याएको अवस्थामा विपन्न महिलाहरुलाई समुहमा आवद्ध गराई उनीहरुको चेतनास्तर अभिवृद्धि गर्नुका साथै बचत गर्ने बानीको विकास गरी ऋण प्रवाहमार्फत् आर्थिक रुपमा सबल बनाउन लागिपरेको समेत संस्थाकी अध्यक्ष देवी पौडेलले बताइन् । संस्थाले सदस्यहरुलाई आर्थिकरुपमा सबल बनाउन विभिन्न तालिमहरु सञ्चालन गर्ने गरेको छ । साथै कृषि, पशुपालन, मौरी, व्यवसायिक खेती जस्ता कार्यक्रमहरुबाट उनीहरुको जीवनस्तरमा सुधार ल्याउन संस्था क्रियाशील रहेको छ । संस्थाले सदस्यहरुमाझ बचतको बारेमा सिकाएको र ससानो बचत गर्दा पनि भविष्य सुन्दर हुने विषयमा सिकाउँदै आएको छ । संस्थामा २ हजार सदस्य आवद्ध भइसकेका छन् । संस्थाबाट ऋण लिएर व्यापारव्यवसाय, तरकारी खेती , पशुपालन र कृषि गर्ने सदस्यहरुको संख्या पनि बढ्दै गएको छ  ।

संस्थाले सामाजिक विकास मन्त्रालयबाट १० अनुदान पाएको र उक्त अनुदान कृषि तथा पशुपालनका लागि पाँच जना सदस्यहरुलाई वितरण गरेको उनले बताइन् । संस्थाको १४ वटा इकाई समिति रहेको छ । हरेक महिना समितिको बैठक बसेर गाउँगाउँमा नै बचत संकलन गर्ने गरिन्छ । सदस्यलाई ऋण चाहिएको खण्डमा भने समितिबाट शिफारिष लिएर संस्थामा नै आउनुपर्छ । ५ जनाको एउटा समुह हुने र ५ वटा समुह मिलेर एउटा समितिमा गठन हुने गरेको छ । समितिमा कम्तीमा २० जनादेखि बढिमा २०० जना समेत रहने गरेका छन् । संस्था महिला तथा बालबालिका कार्यालयद्वारा प्रवर्द्धित भएकाले समुह, समिति र सञ्चालक समितिको संरचनात्मक ढाँचामा अगाडि बढेको छ ।

सानो पुँजीबाट शुरु भएको संस्थाले हालसम्म आइपुग्दा आर्थिक रुपमा पनि ठूलो फड्को मार्न सफल भएको छ । गत असार मसान्तसम्म संस्थाको शेयरपुँजी १ करोड ३४ लाख जगेडा तथा अन्य कोषहरुमा १ करोड १० लाख, बचत संकलन १० करोड ९८ लाख ऋण लगानी ११ करोड ८२ लाख गरी कुल कारोबार १४ करोड ५४ लाख रहेको छ । संस्थाले सदस्यहरुको आवश्यकताअनुसार बढिमा १० लाखसम्म ऋण लगानी गर्दै आएको छ ।

आत्मनिर्भर उद्यमी जन्माउन सफल

संस्थाले दुई दशकको अवधिमा थुप्रै उद्यमी महिला जन्माउन सफल भएको छ । आफ्नो कार्यक्षेत्रभित्रका विपन्न, पीछडिएका र एकल महिलालाई समेत संस्थामा आवद्ध गराई उनीहरुको आर्थिक स्तरमा खेलेको भूमिका प्रशंसनीय छ । संस्थाकी शेयर सदस्य नारायणीकोइराला एक प्रतिनिधि पात्र हुन् । २० वर्षदेखि स्थानीय हाटबजारमा व्यवसाय गर्दै आएकी नारायणीको कथा अलि पृथक छ । २०६५ साल कार्तिकमा दुर्घटनामा उनका श्रीमानको निधन भयो । २६ वर्षको उमेरमा उनले पतिवियोग सहनुप¥यो ।  सानै उमेरमा एकल महिला हुनुको पीडा त छँदै थियो त्यसमाथि घरब्यवहारको सम्पूर्ण बोझ उनकै काँधमा आइलाग्यो । तर पनि एक छोराकी आमा नारायणीले हिम्मत हारिनन् । उनको पछाडि दाउन्ने महिला सहकारी बलियो आडको रुपमा रह्यो । उनलाई व्यापार गर्नका निम्ति संस्थाले सहुलियत दरमा ऋण उपलब्ध गरायो । शुरुमा ५० हजार रुपैया ऋण लिएर लत्ताकपडाको व्यापार गर्न शुरु गरेकी नारायणीले अहिले त्यहि संस्थाबाट १० लाख सम्म ऋण लिन्छिन् । उनले भनिन्, ‘श्रीमान्को मृत्यु हुँदा घरको ढलाई मात्रै भएको थियो, उहाँको घरनिर्माण पूरा गरी सपरिवार खुसीसाथ बस्ने चाहना थियो । उहाँको अधुरो ईच्छालाई मैले पूरा गर्न सकेँ । त्यतिमात्र होइन ब्यापार गरेरै मैले ५ ठाउँमा ५ करोड बराबरको घडेरी समेत जोडेकी छु ।’ उमेरले ३९ वर्ष मात्र लागेकी नारायणीको मनमा पीडा भएपनि मुहारमा खुसी देखिन्छ । ठट्यौली गर्दै उनले भनिन् ‘कति दुख गर्नु, बुढेसकाल पनि लाग्यो, अब हाटबजार छाडेर घरकै पसलमात्र चलाउँछु ।’