शनिबार, आश्विन १७ गते २०८३

एनएमबी बैंकले स्वीट्जरल्याण्डबाट १ करोड २० लाख डलर ऋृण ल्याउने

पौष १३, २०७८ मंगलबार
एनएमबी बैंकले स्वीट्जरल्याण्डबाट १ करोड २० लाख डलर ऋृण ल्याउने

 

एनएमबि बैंकले स्वीस इन्भेष्टमेन्ट फण्ड इमर्जिङ मार्केट्स (सिफेम) बाट १ करोड २० लाख अमेरिकी डलर ऋण पाउने भएको छ । 

बैंकले सिफेमसँग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने गरी सम्झौता गरेको जनाएको छ। यो ऋणलाई बैंकले कर्जानिक्षेप अनुपातमा गणना गर्न पाउँछ। यसो गर्दा उसलाई नियामकीय सीडी कायम गर्न थप सहज हुने छ।

सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्र्याउने गरी भएको यो सम्झौतामा सिफेम र स्वीस सरकार विकास सहयोग एस डि सि बीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको बैंकले जारी गरेको विज्ञप्ति उल्लेख छ ।

बैंकका अनुसार सिफेमबाट प्राप्त यस कर्जाको लागि एसडिसी ले सिफेमलाई जोखिम बाँडफाडको आधारमा क्रेडिट इन्हास्मेन्ट सुविधा प्रदान गरेको छ । यस सम्झौताले एनएमबि बैंकको लगानीको स्रोतहरुलाई विविधिकरण गर्दै दीगो विकास गर्ने प्रतिवद्धतालाई अझ मजबुत बनाउने बैंकले जनाएको छ।

सिफेमबाट बैंकले प्राप्त गरेको कर्जा रकम बैंकले मुख्यतः लघु साना तथा मझौला उद्यमहरुलाई कर्जा प्रदान गर्न र वित्तीय पहुँच अभिबृद्धि गर्न, वित्तीय क्षेत्रको विकासमा योगदान पुग्ने, रोजगारी बृद्धिमा सहयोग र स्थानिय अर्थव्यवस्थामा सहजता बढाउन सहयोग पुग्ने क्षेत्रहरुमा लगानी गर्नेछ ।

नेपालका लागि स्वीट्जरल्याण्डकी राजदुत एलिजावेथ भोन क्यापेलरले स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ मार्केटसको एनएमबि बैंकमा ऋण लगानीबाट नेपाल–स्वीस सहकार्यमा नयाँ अध्यायको सुरुवात भएको बताइन्।

सम्झौतापछि एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले नेपालमा नै पहिलो पटक सिफेमबाट कर्जा लगानी भित्र्याउनका लागि भएको ऋण सम्झौताले वास्तविक अर्थतन्त्रका क्षेत्रमा लगानी गर्ने प्रतिबद्धतालाई थप गति दिएको बताए।  हालको चुनौतीपूर्ण समयमा साना व्यवसायहरूले उनीहरूको व्यवसायलाई निरन्तरता दिनको लागि निर्वाध रुपमा नगद प्रवाहमा पहुँच पुर्याउन यो सम्झौताले सहयोग गर्ने उनको भनाई छ।