राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय परीक्षा बोर्ड बीच पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंगलबार हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापश्चात् दुइ वर्ष सेवाअवधि पूरा गरेका बोर्डका कर्मचारीहरुलाई बोर्डको सिफारिसमा अधिकतम १५ लाख रुपैँयासम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्नेछ । बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्नेछ । हाल बैंकको आधार दर ५.५१ प्रतिशत रहेको छ । सम्झौता अनुसार बोर्डको कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले विद्यार्थीहरुले बोर्डलाई बुझाउने शुल्कहरुलाई डिजिटल प्रविधिबाट भुक्तानी गर्ने व्यवस्था गर्न दुबै संस्था मिलेर अगाडि बढ्ने बताए । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले दुई संस्थाबीचको लामो सम्बन्धलाई व्यवहारिक र वस्तुपरक बनाउँदै लैजाने बताए ।
बैंकको सातै प्रदेशभर ७७ वटै जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।