शुक्रबार, कार्तिक ७ गते २०८३

नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन र क्रान्तिकारीहरुबीचको एकताको सवाल

पौष १२, २०७८ सोमबार
नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन र क्रान्तिकारीहरुबीचको एकताको सवाल

 

नेपाल कम्युनिष्ट पार्टीको एकताको राष्ट्रिय सम्मेलन यही पुसको १७ र १८ गते सम्म जनकपुरमा हुन गइरहेको छ । क्रान्तिकारीहरूलाई एकतावद्ध गरौं, संसदवादी तथा विसर्जनवादीहरूका विरूद्ध संयुक्त संघर्षको विकास गरौं भन्ने नाराका साथ । यस अवधिमा एमाले, काँग्रेस, माले, राप्रपाहरूका अधिवेशन सम्पन्न भइसकेका छन् । माओवादी केन्द्रको भइरहेको छ ।  अरू पार्टीहरूको अधिवेशन हुँदै जालान् । यो सबैखाले पार्टी जीवनका नियमित कामहरू हुन् । अधिवेशनहरू गर्न सबै पार्टीका खर्च हुन्छन् । जनशक्तिको परिचालन हुन्छ र अधिवेशनले विगतको समिक्षा गरी वर्तमानको मुल्यांकन गर्दै आगामी कार्यदिशा र रणनीति निर्धारण गर्ने हुन्छ । यसमा नै पार्टीको विकास र विनासको भ्रुण अंकुराई रहेको हुन्छ ।
नेपाली जनता र देशलाई बलियो बनाउने संघर्षमा सबै जसो पार्टीहरू असफल भएको तथ्य नेपाली जनताबाट छुपेको छैन । र पनि यस्ता असफल पार्टीहरूकै वरिपरि सत्ता र शक्तिको नियन्त्रण कायमै छ । भोटका व्यापारीहरूले अनेकौं भ्रम दिन सफल भइरहेकै छन् । देशका सम्पदा बेचेर, बन्धकी राखेर जसरी पनि सत्तामा रहने परजीवीहरू संसारमै असफल भइसकेको संसदवादी व्यवस्थामार्फत् आफ्नो लुटको साम्राज्य कायम राख्न चाहन्छन् । यसरी आजसम्मका सम्पूर्ण नेपाली जनताको संघर्षलाई संसदवादमा पतन गराएका छन् । यसमा सबैले गर्व गर्न थालेका छन् । जसका कारण देश र जनता कमजोर र निरीह बन्न पुगेको छ ।

कम्युनिष्ट पार्टी र आन्दोलन भनेको देश र जनतालाई बलियो बनाउने आन्दोलन हो । तर यहाँ ठीक उल्टो भएको छ । झापा विद्रोहबाट विकास भएको एमाले र रोल्पा विद्रोहबाट विकास भएको माओवादी यसका प्रतिनिधि हुन । दुवै कोणबाट नेपाली जनता बलियो हुने आन्दोलनलाई विसर्जनमा पुराए । आज देश ऐतिहासिक संकटबाट गुज्रिरहेको छ । एकपछि अर्को संकट थपिइरहेको छ । कम्युनिष्ट नामधारी पार्टीनै साम्राज्यवादको प्यादा बनेर देश बेच्ने वा उनीहरूको अधिनस्थ गराउने वा नवउपनिवेश बनाउने कागजमा सही गर्न रेस लगाइ रहेका छन् । कहिले सामन्तवादसँग त कहिले भारतीय एकाधिकार पूँजीवादसँग । कहिले अमेरिकी साम्राज्यवादसँग त कहिले युरोपियन साम्राज्यवादसँग । यसरी उनीहरूले कम्युनिष्ट आन्दोलनलाई अन्धाले हात्ती छामे जस्तो बनाएर पतन गराउन खोजे ।

पछिल्लो अवस्थामा संसदवादीहरूले एमसीसी पास गराएर नेपाललाई अमेरिकन उपनिवेश बनाउन तछाडमछाड गरिरहेका छन् । जनताको खबरदारीको नेतृत्व रणनीतिक संयुक्त मोर्चा र अन्य देशभक्तहरूले नगरेको भए यो उहिले नै पास भइसक्थ्यो । उनीहरूको कानुनमा यदि यो सहयोग लिने देशले चार बर्षभित्र सहयोग सम्झौता नगरे सम्पूर्ण परियोजना फिर्ता हुने व्यवस्था रहेको छ । नेपालको संविधानभन्दा माथि हुनेगरी गर्न लागेको यो एमसीसी परियोजना नेपालको हितका लागि नभएर अमेरिकी हितका लागि मात्र भएको तथ्य नेपालमा यति धेरै विरोध हुनुका बाबजुद सदनबाट पास गराउन खोज्नुले पुष्टि हुन्छ ।

यस्तो अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको पनि एकताको राष्ट्रिय अधिवेशन हुन गइरहेको छ । अधिवेशनले राष्ट्रियता, जनजीविका र जनतन्त्रसँग सम्बन्धित समस्याहरू के के हुन् ? उत्पीडित वर्ग र समुदायका समस्याहरू केके हुन् ? र ती समस्याहरूलाई कसरी समाधान गर्ने योजना बनाउछ, धेरै चासोकासाथ हेरिएको छ ।

एमाले र माओवादी मिलेर बनेको झण्डै दुईतिहाइ बहुमतको सरकार र जनादेश प्राप्त शक्ति नेपालको राजनीतिक इतिहासकै सर्वथा नयाँ उचाइ प्राप्त शक्ति थियो । जनताले हेर्न चाहेका थिए कि उनीहरूले साँचै जनताका समस्याहरू समाधान गरेको ? तर उनीहरूमा न्यूनतम जनवादी तथा देशभक्त चरित्र पनि देखिएन । नैतिक र इमान्दारिताको त कुरै नगरौं कानुनी मर्यादालाई पनि पटकपटक कुल्चिएको देखियो । सर्वोच्च अदालतले सरकारी पार्टीको नाम नै अवैधानिक रहेको फैसला गर्न पुग्यो । र नेपाल कम्युनिष्ट पार्टीको वैधानिकतालाई मान्यता दिन बाध्य भयो ।

नेपाल उग्रदक्षिणपन्थी, उग्रबामपन्थी तथा मध्यपन्थी संसदवादी विसर्जनवादीहरूको चुंगुलमा फसाइएको छ । नेपाली जनवादी क्रान्तिको कार्यभार अझै पुरा भएको छैन । आजसम्म भएका संघर्षहरूले नेपाली समाजको उपरी संरचना बदल्यो, आधार भने बदल्न सकेको छैन । मात्रात्मक परिवर्तन भयो तर गुणात्मक परिवर्तन हुन सकेन । रूप फेरियो, सार भने उही छ । यसले राजनीतिक आन्दोलन र संघर्ष प्रति वितृष्णा पैदा गरेको छ र कम्युनिष्ट पार्टी र संघर्ष प्रति त झन् भ्रम सिर्जना गरेको छ । समाजको वर्ग विश्लेषण वा उत्पादन सम्बन्ध, उत्पादनका साधन माथिको स्वामित्वको प्रश्न समाधान गर्ने सवालमा गम्भीर तरिकाले भ्रमित गरिरहेको छ । क्रान्तिकारी शक्तिहरू पनि विभाजित हुँदा भ्रम छर्नेहरू झन् सफल भएका छन् ।
भारतसँग भएका असमान सन्धिसम्झौताहरूले नेपाल नवउपनिवेशको अवस्थामा थियो । अमेरिकी सत्तासँगको एमसीसी सम्झौताले नेपाल अमेरिकाको उपनिवेश बन्दै छ । संसदवादी दलहरू यो वा त्यो बहानामा एमसीसी पास गराउन लागिपरेका छन् । यसबाट नेपालको स्वाधीनता र स्वाभिमान गुम्ने खतरा देखिएको छ ।

यो सच्चाइलाई मनन गरेर सामन्तवाद, भारतीय एकाधिकार पूँजीवाद तथा अमेरिकन साम्राज्यवाद विरोधी शक्तिहरू एक पंक्तिमा उभिनुको विकल्प छैन । नेपाल कम्युनिष्ट पार्टी नेपाली जनताको यो आकाक्षालाई पुरा गर्न दृढ संकल्पित छ ।

नेपाल कम्युनिष्ट पार्टीले भनेको छ:

नेपाली समाजको मुख्य दुश्मन सामन्ती, दलाल तथा नोकरशाही पूँजीवाद भनेको छ । यसको प्रतिनिधि संस्था संसदवाद भनेको छ । संसदवाद भनेको संसदबाट जनताको सबै प्रकारका समस्या समाधान हुन्छ भनेको हो । संसदवादको विकास भएको सातसय बर्षको विश्व इतिहासले कुनैपनि देशका जनताका समस्या समाधान गरेको इतिहास छैन । आधारभूत रूपमा कम्युनिष्टहरूको सत्ता रहेका देशहरूमा जनताका समस्या समाधान भएका उदाहरणहरू देख्न सकिन्छ ।

सामन्त तथा मध्यम वर्गीय वर्गश्रोतबाट विकास भएका यथास्थितिवादी तथा छद्म क्रान्तिकारी अवसरवादीको रक्षा र विकास भारतीय एकाधिकार पूँजीवाद र साम्राज्यवादी शक्तिहरूले गरिरहेका छन् । यसलाई किसान र मजदुरको एकताले मात्र परास्त गर्न सक्छ । जसको साथमा राष्ट्रिय पूँजीपति तथा राष्ट्रिय स्वाधीनताका पक्षधर शक्तिहरू रहेका हुन्छन् ।

नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन विभाजित छ । यो तत्काल एकतावद्ध हुने दिशामा प्रेरित पनि छ । रणनीतिक संयुक्त मोर्चा यसको उदाहरण हो । यसले वर्तमान राज्यसत्ताको विकल्पको आवश्यकतो महसुस गर्दछ । यस्ता शक्तिहरूबीच थप सहकार्यको आवश्यकता छ ।
हिजो नेपाली क्रान्तिको चरित्र भनेको संयुक्त जनआन्दोलन हो भनेर कमरेड पुष्पलालले विश्लेषण गर्नु भएको थियो । आजको सन्दर्भमा रणनीतिक उद्देश्य मिलेकाहरूबीचको संयुक्त मोर्चा हो । जुन योजनालाई नेपाल कम्युनिष्ट पार्टीले अगाडि बढाइरहेको छ ।

नेपाली जनक्रान्तिका मित्र शक्तिहरू भनेको उत्पीडित वर्ग र समुदाय भएको तथ्यलाई अगाडि बढाएको छ । समाजको मुख्य चालक शक्ति किसान रहेको दृष्टिकोणलाई अगाडि बढाएको छ । उनीहरू हित प्रर्वधन नै पार्टीको कार्यक्रम र कार्यदिशा हुनुपर्छ ।

र, भनेको छ, नेपाल नयाँ जनवादी क्रान्तिको निर्णायक चरणमा छ । संयुक्त जनक्रान्ति र बल प्रयोगको सिद्धान्तको समायोजन र कार्यान्वयनका माध्यमबाट मात्र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ र जनवादी गणतन्त्र नेपालको स्थापनाको नेपाली जनताको युगिन आकांक्षा पुरा गर्न सकिन्छ । यो आकांक्षालाई नेपाल कम्युनिष्ट पार्टीको एकताको सम्मेलनले सम्बोधन गर्न सक्नु पर्छ ।