बुधबार, भाद्र ३ गते २०८३

पार्टीका नेताको दौराको फेर नसमाएसम्म अभियानको नेतृत्वमा पुग्न सकिँदैन

पौष ९, २०७८ शुक्रबार
पार्टीका नेताको दौराको फेर नसमाएसम्म अभियानको नेतृत्वमा पुग्न सकिँदैन

 

 

कोभिड १९ पछि काभ्रेको समग्र सहकारीक्षेत्रको अवस्था के छ ? 

कोभिड १९ का बेला सहकारीहरुमा केहि मात्रामा पुँजीको अभाव भएको थियो तर पनि सहकारी सदस्यको सेवा गर्ने वित्तीय संस्था भएको कारण धेरै अप्ठ्यारासँग जुधेर भएपनि आर्थिक र गैर आर्थिक क्रियाकलापमा सहयोग पु¥याए । बैंक तथा वित्तीय संस्था बन्द रहेको बेलामा पनि आफ्ना सदस्यहरुलाई घरघरमा गएर सेवा दिनु भनेको राम्रो कुरा हो । लकडाउन अवधिभरको ब्याज छुट, हर्जाना मिनाहा गर्ने, ऋणको किस्तामा रिसेड्युल गर्ने जस्ता काम गरे । के गरेर सहयोग पुग्छ, त्यस्ता अभ्यासहरु सहकारीले गरेर सदस्यहरुलाई सेवा पु¥याएको मैले बुझेको छु ।

सदस्यप्रति पु¥याएको सेवालाई हेर्दा सहकारी मोर देन बैंक को रुपमा स्थापित भएको हो त ? 

बचत तथा ऋण सहकारीले पनि पैसाको कारोबार गर्छन् र बैंकले पनि पैसाकै कारोेबार गर्छन् । बैंकले घाम लागेको बेला छाता दिन्छ, पानी परेको बेला छाता लिन्छ भने जस्तै अहिले भएको छ । जतिखेर ऋणीले अप्ठेरो महशुस गर्छने, त्यतिखेर बैंकले च्याप्छ । यहि हो मौका भनेर ब्याज बढाउँछ । अलिकता तरलता कम हुन थालेपछि, एक सातामा दुइतीन पटक ब्याजदर परिवर्तन गर्न बैंक पछि हट्दैन । सहकारीमा त्यस्तो हुँदैन । सहकारी सदस्यकेन्द्रित भएर काम गर्छन् । काम्रेमा रहेका सबै सहकारीले लाभांश र व्याज मात्रै होइन संरक्षित पुँजी फिर्ता कोषबाट पनि सदस्यलाई वितरण गर्न थालेका छन् । के गर्दा सदस्यको शेयरमा लाभांश वृद्धि गर्न सकिन्छ भन्ने प्रयत्न भएका छन् । कसरी सदस्यलाई गैरवित्तीय सेवा दिन सकिन्छ, त्यसमा पनि ध्यान पुर्‍याएका छन् । अहिले सहकारीमा धेरै ठूलो पुँजी छैन । सानो आकारमा छन् । काभ्रेका दुइचार वटा संस्थाले बैंकसँग पनि प्रतिस्पर्धा गर्न सक्छन् । यद्यपि साना र थोरै पुँजीमा चलेका भएपनि रोजगारी सृजना र गैरवित्तीय सेवा दिन सहकारी पछि परेका छैनन् । सहकारी ‘मोर देन बैंक’ कै रुपमा स्थापित हुँदै गएका छन् । 

सहकारीको नियमन तथा अनुगमन गर्ने कुरामा सरकारको भूमिका कमजोर हो ? 

राज्य भनेको नियामक निकाय हो । उसले राम्रो काम गर्ने संघसंस्थालाई प्रोत्साहन गर्नसक्छ भने नराम्रो काम गर्नेलाई कारवाही गर्न सक्छ । कसैले सेवा दिने क्रममा फटाईं गरे कारवाही गर्नुपर्छ । मुलुकको सहकारी अभियान कसरी लैजाने भनेर राज्यले स्टेरिङ गर्नुप¥यो । त्यसैगरी पुँजी, प्रविधि, जनशक्ति र विश्व सहकारी अभियानसँग समन्वयको हिसाबले हुन सक्छ, त्यसमा राज्यले सहजिकरण गरिदिनुपर्छ । अहिले केहि स्थानीय तहले सहकारीलाई मान्यता दिन थालेको भएपनि सहकारी प्रति उनीहरुको धारणा फरक छ । वार्षिक योजना बनाउँदा र बजेट विनियोजन गर्दा आफ्नो कार्यक्षेत्रमा भएका सहकारीहरुलाई प्राथमिकता दिएको पाईंदैन । 

संघीयतामा गएपछि स्थानीय प्रदेश र संघले सहकारीको नियमन गर्ने हु“दा सहकारी राम्रो हुन्छ भन्ने अपेक्षा गरिएको थियो नि ? 

धेरै मान्छे भएकाले मान्छमान्छेको बीचमा तारतम्य मिलेन । संघीय सरकारले आफ्नो नीति नियम, कानुन बनाउँछ । सोही अनुसार लागु गर्न खोज्छ । प्रदेशले प्रदेशकै हिसाबले लागु गर्न खोज्छ । केन्द्र र प्रदेश सरकारले बनाएको नीतिनियमको वास्ता नै नगरी स्थानीय सरकाले नीतिनियम बनाएको छ । मलुुकमा धेरै वटा युनिट छन् र उनीहरु आआफैं स्वतन्त्र हुन चाहन्छन् । हामी कसले भनेको मान्ने भनेर द्विविधामा छौं । सहकारी विभागले एउटा भन्छ, प्रदेश रजिष्ट्रार कार्यालयले अर्को भन्छ । स्थानीय तहको आफ्नै ताल छ । यसले सहकारीहरुमा अन्यौल छाएको छ । यसले सहकारीमा शुद्धता पनि ल्याउँदैन । सहकारी भन्ने वित्तिकै आफुलाई जे मन लाग्छ, त्यो गर्ने होइन नि । सिस्टममा चल्नु प¥यो । स्वतन्त्रताको नाममा छाडातन्त्र भएर काम छैन ।

सहकारीलाई संघीयताको मोडलमा लैजानु गलत भयो कि ? 

राज्यले बनाएको संरचनामा जानुलाई गलत नै भन्न मिल्दैन । तर तहबीचको कार्यशैलीमा फरक नआओस् । राज्यले बनाएको संरचनामा त सबै हिँड्नै पर्छ ।

एकातिर सहकारी धेरै भयो भन्ने, अर्कोतर्फ प्रदेश र स्थानीय सरकारले खुरुखुरु नया“ सहकारी दर्ता दिने, यसले के परिणाम ल्याउला ? 

अभियानको तर्फबाट पनि सहकारी धेरै भयो, च्याउजस्तै गरी सहकारी उम्रिए । साधारण सभा नगर्ने, वार्षिक प्रतिवेदन नबनाउने र अडिट नगर्ने संस्था पनि भेटिए । सानासाना संस्थाले जनशक्तिलाई राम्रो सुविधा दिन सक्दैनन्, सदस्यको आवश्यकता पूरा गर्न सक्दैनन् । यसरी सहकारीबाट लिएको लक्ष्य पूरा गर्न सकिँदैन । वित्तीय रुपमा पनि संस्थाहरु बलियो हुनुपर्छ र उसले दिने सेवा प्रविधिसँगै प्रभावकारी हुन्छ भनेर हामीले एकिकरणको कुरा ग¥यौं । अभियानले एकिकरणको कुरा गर्यौं र केहि संस्था त्यतातर्फ पनि गए । काभ्रेमा पनि धेरै संस्था एकिकरणमा जोडिए । तर स्थानीय तह र प्रदेश सरकार आएपछि नयाँ संस्था दर्ता दिन थाले । यसले गर्दा एकिकरण गर्नुको कुनै अर्थ भएन । एउटै व्यक्ति एकभन्दा बढि संस्थामा आवद्ध भए ।

ऐन नियमावली एकातिर छ, कार्यान्वयनमा कसैको ध्यान छैन । आफ्ना मान्छेलाई जागिर दिन संस्था दर्ता गरिदिने । आफुलाई फाइदा पुग्छ भने नियामक निकायले त्यहि हिसाबले निर्णय गरिदिने, यसले सहकारीको उन्नति हुँदैन । जुन सहकारी सिस्टममा बसेर खुलेका छन्,  अहिले पनि सिस्टममा नै बसेका छन् । जुन सहकारीको जन्म नै सिस्टमबाट भएन, सहकारीलाई खेतीको रुपमा लियो तिनको भविष्य छैन । तिनले सदस्यको पैसा दुरुपयोग गर्ने र व्यक्तिगत फाइदा मात्रा लिनछन् । तिनले आमुल परिवर्तन गर्छन् भने लाग्दैन । बरु राज्यलाई असफल बनाउन त्यस्ता सहकारीले मद्दत पु¥याउँछ । सहकारीमा भ्वाङ्ग नै भ्वाङ्ग भएपछि त्यसलाई व्यवस्थापन गर्नु राज्यको जिम्मेवारी हो । नागरिकको पैसाको सुरक्षा गर्नु राज्यका लागि बोझिलो हुन सक्छ । यो प्रत्यक्ष पैसासँग गाँसिएको छ । यहाँ दुधेबालक, रिक्शाचालक, मजदुर, डाक्टर, इञ्जिनियर शिक्षक सबैको पैसा छ । कतिपयले धेरै ब्याजको लोभमा सहकारीमा पैसा राखेका छन् । हजारौं मानिस सहकारीबाट डुबिसकेका छन् । बाहिरका मानिस आउने, संस्था खोल्ने र बढि व्याजको लोभमा स्थानीयलाई लोभ्याउने काम भइराखेको छ । यो गलत छ । कतिपय संस्थाले अग्रिम ब्याज दिएका छन् । बाँकीको व्याज पाउने बेलासम्म साँवाँ पनि फुत्किने अवस्था छ । मानिस लोभी प्राणी भयो । मैले दुःख गरेको पैसा कहाँ जान्छ, कसरी परिचालन हुन्छ, भोलि सावाँ नै आएन भने के गर्ने ? मेरो पैसा चलाउने व्यक्ति  क्षमतावान मानिस हो कि होइन, सहकारी चलाउने ज्ञान, सीप र अनुभव कति छ, त्यसलाई हेरिँदैन । मेरो पैसाको ब्याज कहाँ धेरै आउँछ, त्यसमा पैसा राख्छु भन्ने सोचले गर्दा सदस्यहरु सहकारीमा ठगिएका छन् । सामाजिक र वित्तीय चरित्र राम्रो नभएको व्यक्तिको हातमा पैसा पुगेपछि के हुन्छ ? नियामक निकाय भने कान मा तेल हालेर बसेको छ ।

संविधानको प्रस्तावनामा अर्थतन्त्रको ३ खम्बामध्ये एक खम्बाको रुपमा सहकारीलाई लिइयो तर रिजल्ट त शुन्य जस्तै छ नि ?

प्रस्तावनामा लेख्दैमा त्यो पूरा हुँदैन । सबैभन्दा महत्वपूर्ण व्यवहार हो । ऐन कानुन, कार्यविधि बनेसँगै, कार्यान्वयनको पक्ष महत्वपूर्ण हो । राज्यको नीति पनि चाहियो, कानुनी आधार पनि बन्नुपर्‍यो । तर कागजमा लेखेर मात्र केहि हुनेवाला छैन । जबसम्म कार्यान्वयनमा गइँदैन, तबसम्म रिजल्ट आउँदैन । राम्रो काम नगर्ने बैंकलाई राष्ट्र बैंकले सम्हाल्छ तर सहकारीलाई कसले हेर्ने ? यति धेरै सहकारी मुलुकमा छन् । कतिवटा संस्थाको अनुगमन भयो ? सहकारी बुझेका कर्मचारी कति छन् ? सहकारीमा अनुगमन गर्ने भनेको सहजिकरण गर्ने हो र राम्रो गर्न कार्ययोजना बनाउन लगाउने हो । यो भयो भने मात्रै सहकारीबाट रिजल्ट आउँछ ।

कोभिड १९ को संक्रमण घटेसँगै र अवस्था सहज बनेर जाँदा बैंकिङ क्षेत्रले लगानी बढाएकाले बजारमा तरलता अभाव देखिएको छ, यसको असर सहकारी क्षेत्रमा पनि पर्ला नि ?

पुँजी प्रशस्त हुँदा हामी अलिकति खुल्छौं, कम भएको बेला खुम्चिने हाम्रो अभ्यास छ । पैसाको नियन्त्रण हामीसँग हुँदैन । हाम्रो खातामा पैसा हुन्थ्यो तर नोट हामीसँग हुँदैनथ्यो । अहिले त हिसाब नै माइनसमा छ । यो समस्या राज्यको हो । विकास बजेट खर्च गर्ने कुरामा राज्य कमजोर देखियो । राज्यभित्र दुइनम्बरी काम धेरै हुन थाल्यो । त्यसबाट सिर्जेको पैसा बैंक, वित्तमा आउँदैन । त्यो कहिँ गएर बस्छ । खोइ राज्यले खोजेको ? यो राज्यको काम हो । प्रशासनिक बजेट सबै खर्च हुने, विकास बजेट खर्च गर्नु नपर्ने । विकास बजेट खर्च भयो भने मात्रै जनताको हातमा पैसा पुग्छ । त्यो पैसा घुम्दै बैंक तथा सहकारी संस्थासम्म आइपुग्छ । त्यो अवस्था अहिले छैन । राज्य जनताप्रति जवाफदेहि छैन । आफ्ना मान्छेलाई भर्ती गर्नमा मात्रै खुसी छ । देशलाई दोहन गर्ने र फाइदा लिने प्रवृत्ति बढेको छ । खर्च घटाउनु पर्ने ठाउँमा खर्च बढाएको छ । पार्टी पार्टीको होडबाजी छ । मन्त्रीको संख्या बढेको छ । मन्त्रालय टुक्राएर भएपनि भाग पुर्‍याएको छ । जुन तन्त्र भने पनि नेताका लागि देखियो । सर्वसाधारणले पञ्चायतकालमा पनि त्यहि काम गरेका थिए, आजपनि त्यहि काम गरिरखेका छन् । जनताप्रति राज्यको जवाफदेहिता नै देखिएन । हामीले माइक्रो लेभलमा केहि गर्न सक्छौं । माइक्रो लेबलमा सुशासनयुक्त, सदस्यकेन्द्रित र व्यवसायिक संगठनमा हामी पछि पर्दैनौ । हामी श्रमजीवी हौं । हामीले हरेक शासनप्रणालीमा श्रम गरिराखेका छौं । राज्यको श्रोतसाधनको दोहन गर्नेहरुबाट देश बन्दैन । देश बनाउन श्रम गर्ने संस्कारको विकास गर्नुपर्छ । तरलता व्यवस्थापन राज्यको जिम्मेवारी हो । हाम्रो क्षेत्रबाट त सक्ने प्रयास हामी गर्छौं ।

काभ्रे बचत संघमा तपाईंको २ कार्यकाल कस्तो रह्यो ?

मैले भन्दा पनि यो यहाँका सहकारीकर्मीले भन्ने कुरा हो । उहाँहरुले तपाईं आउँदा संघ क्रियाशील हुन्छ भन्नुभयो भने गाह्रो छैन । कहिलेकाँही नेतृत्व परिवर्तन हुँदैमा पनि राम्रो हुन्छ भन्ने छैन । कुशल व्यक्ति आए संघ राम्रो हुन्छ । मुख्य कुरा टिमवर्क हो । टीम प्लेयर भएसम्म गाह्रो छैन । मेरो सहकारीमा २ दशकभन्दा बढिको यात्रा छ । म जहाँ बसेर काम गरेँ त्यहाँ स्वयंसेवकको रुपमा रहेँ । आर्थिक लाभ लिने काम गरिँन । मैले पैसा जम्मा गरे अरु सदस्यसरह ब्याज पाएँ । शेयर खरिद गरेँ, अरुसरह लाभांश पाएँ । ऋण र बचत कारोबार गरेँ अरुसरह संरक्षित पुँजीकोष फिर्ता पाएँ । अरुले जस्तै ऋण लिएँ, अरु सरह ब्याज छुट पाएँ । फरक यति हो । आफ्नो पैसा सहकारीमा परिचालन भयो । सहकारीबाट ऋण लिएर व्यवसाय गरेँ । त्यो नै मेरो लागि लाभ हो । आफ्नो पैसाले राम्रो व्याज, शेयरबाट राम्रो प्रतिफल र कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता पाउनु, गारोसारोमा सहयोग पाउनु ने मेरो उपलब्धी हो । मेरो वित्तीय आचरण कस्तो छ सबैलाई थाहै छ । कतिपय मानिस वित्तीय हिसाबले असाध्यै बोझिलो र स्वार्थी हुन्छन् । तर ममा त्यो स्वभाव छैन । अर्कोतर्फ म सबैलाई सहकारीको दृष्टिकोणले हेर्छु । म गाउँ, शहर, महिला, पुरुष, धर्म, राजनीतिक आस्थाका आधारमा विभेद गर्दिन । मेरो आचरण नै सहकारी आचरण हो । टिमकै कारण संघ यो स्थानमा पुगेको हो । म मात्रै सबै होइन । संघका कर्मचारी, सञ्चालक समिति र सदस्य संस्थाहरुको साझा प्रयासबाट प्राप्त उपलब्धी हो ।

तपाईं दुई दशकभन्दा बढि समयदेखि सहकारी अभियानमा हुनुहुन्छ । नेतृत्वको हिसाबले पनि प्रारम्भिक देखि जिल्लाका संघहरुमा राम्रो नेतृत्वदायी भूमिका खेलिसक्नुभयो, प्रदेश र केन्द्रमा तपाईंको नेतृत्व किन हुन सकेन ?

काभ्रे जिल्लाका असल सहकारी अभियन्ताले मलाई चिन्नुहुन्छ । मेरो व्यवहार, सोच र कार्यशैली राम्रो भएकाले जिल्लामा नेतृत्व गर्न पाएँ । यहाँ सदस्य र सदस्य संस्थासँग म जोडिएको छु । प्रदेश र केन्द्रमा नेतृत्व गर्न पार्टीपार्टीमा जानुपर्ने भयो । मैले कहिल्यै पनि पार्टीका नेताहरुको दौराको फेर समात्न भ्याइन । त्यसकारण म पार्टीको लिष्टमा पर्दिन । कुनै पार्टीको छेऊमा नपरेपछि म बहिरगमन हुनैपर्छ । मलाई कसैले चिन्दैन । कसले सहकारी राम्रो बनाएको छ, संघमा कसले राम्रो गर्‍यो होइन, राम्रोको अहिले कहाँ पहिचान हुन्छ ? हाम्रो पो चाहियो त । हाम्रो हुन नेताको पछि लाग्नुप¥यो । नेता आउँदा फुलमाला लिएर बस्नुपर्‍यो । म त्यो चरित्रको मानिस होइन । त्यसकारण मेरो स्थान प्रदेश र केन्द्रमा हुँदैन । तर हाम्रोको कामको मुल्यांकन गर्ने हो भने हामी उर्वरामा पर्छौं । 

नेपालमा सयौं सहकारीकर्मी छन् , जो पार्टी र नेताका पहिचानमा छैनन् । तर समुदायमा असाध्यै राम्रो काम गरेका छन् । कतिजना महासंघ र कतिजना केन्द्रिय संघबाट तर्किएका छन् । अहिले पार्टीगत भागबन्डाले राज गरेको छ । सहकारी बाँडीचुँडी गरेर आफ्ना मान्छेलाई राज गराउने ठाउँ बनेको छ । यस्तो परिपाटी रहेसम्म हाम्रो पहिचान हुँदैन ।मलाई माइक्रो स्याटिस्फ्याक्सन छ । मेरो अनुहार सधैं उज्यालो छ । म्याक्रो त मेरो हातमा पर्दैन । माइक्रो आफ्नो हातमा छ । आफ्नो टिमका साथीहरुको बीचमा म सन्तुष्ट छु । माइक्रो स्याटिस्फ्याक्सन हुने साथीहरु सहकारी क्षेत्रमा धेरै छन् । 

नेताको दौराको फेर नसमाएसम्म सहकारी अभियानमा जति नै राम्रो गरे पनि राष्ट्रिय स्तरमा पुग्न नसकिने भन्नुभएको हो ?

पुगिँदैन । नेताको पछि नलाग्दा त्यो सम्भव नै छैन । हामीले सदस्य र सहकारीकर्मीसँग सम्बन्ध गाँस्नुपर्ने हो । नेताकापछि मात्रै लाग्ने र सदस्यको लागि केहि नगर्ने सहकारीकर्मी हुन सक्दैन । त्यसबाट सन्तुष्टि पनि आउँदैन । हामी सदस्यको हितका लागि जन्मिएका हौं । हामी पार्टी केन्द्रित होइनौं, सदस्यकेन्द्रित हौं ।

सहकारीका केन्द्रिय संघहरुमा राजनीतिकरण घुस्यो भनिन्छ नि ?

पार्टीको सदस्य भइसकेपछि सिधासिधा उहाँहरुको एउटा खुट्टा सहकारीमा र अर्को खुट्टो पार्टीमा छ । त्यसमा पनि पार्टीको सहकारी विभागभित्र भए त हुन्थ्यो । हरेक पार्टीको सहकारी विभाग हेर्ने सहकारीकर्मी हुनुपथ्र्यो । कुन पार्टीको सहकारी राम्रो भन्ने प्रतिस्पर्धा भएको भए ठिक हुन्थ्यो । यहाँ त पार्टीको सदस्य बन्ने मात्र देखियो । उहाँहरुकै संस्था हेर्नुस् त । मैले त धेरै वर्ष अघिदेखि नै भन्दै आएको छु । महासंघको अध्यक्षको संस्था कस्तो छ ? मिडियामा देखाऊँ । हामी गाउँका मानिसलाई अध्ययन भ्रमणमा लैजाऊ । त्यसपछि महासंघका सञ्चालक र क्रमशः केन्द्रिय संघका सञ्चालकहरुको संस्था देखाउँ न । मैले त्यतिबेलै पनि भनेको हो, हाम्रा प्रारम्भिक संस्था र जिल्ला संघलाई हेर्नुस्, काम गर्ने थर्ड डिभिजनको पदासीन विशिष्ट श्रेणीमा भएर के अर्थ राख्छ? यो नकच्चरो प्रवृत्ति हो । सहकारीमा भाषण दिएर हुँदैन, यो अप्लाइड साइन्स हो । हामीले बाटो पक्की र चौडा बनाउनुपर्छ ता कि त्यसमा सबैले सहज यात्रा गर्न सकुन् ।