ललितपुर बचत संघको २७औं वार्षिक साधारणसभा सम्पन्न
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष रामहरि बजगाईंको सभापतित्व एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष उप्रेती प्रारम्भिक संस्था, जिल्ला संघ र केन्द्रीय संघहरुले वाणिज्य बैंकहरुमा पैसा राख्दा सहकारी क्षेत्रमा तरलता समस्या भएको बताए । सहकारीको पैसा सहकारी क्षेत्रमा नै भनेपनि पैसा निजी बैंकहरुमा जाँदा अहिलेको अहिलेको अवस्था सिर्जना भएको उनले बताए ।
सहकारीमा ब्याजदर कम भएका कारण सहकारीका सदस्यको पैसा अन्यत्र नजाओस् भनेर सन्दर्भ ब्याजदर परिमार्जनका लागि आफुहरु लागिपरेको समेत उनले बताए । आगामी पौष १५ गने सन्दर्भ ब्याजदर निर्धारण सम्बन्धी बैठक बस्ने र अभियानको भावनालाई सम्बोधन हुनेगरी ब्याजदर पुनरावलोकन हुने समेत उनले जनाए ।
कार्यक्रममा विशिष्ट अतिथि एवं नेफ्स्कुनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीमा अहिले देखिएको समस्याको निकासका लागि महासंघले नै पहल गर्नुपर्ने बताए । सदस्यको पैसा फिर्ता गर्न सकिएन भने हाम्रो नेतृत्व हामीमै मात्र सीमित हुने भन्दै उनले त्यसका लागि अभियानकर्मी सचेत हुनुपर्ने जनाए । अभियानभित्र आफुलाई केन्द्रमा राखेर केहि साथीहरु अगाडि बढेकाले त्यसले थप समस्या ल्याउने भन्दै सिंगो अभियानकै हितका लागि सोच्नुपर्ने ढकालले जोड दिए ।
कार्यक्रममा केन्द्रिय बहुउद्देश्यीय सहकारी संघका सचिव माधव तिमल्सिनाले संस्थाहरुले सदस्यलाई सेवा र ब्याजदरमा विश्वास दिलाउनुका साथै सदस्य भेटघाट कार्यक्रम गरे हाल देखिएको तरलता समस्या हल गर्न सकिने बताए । बैंक र नेफ्स्कुनले दिने भन्दा बढि ब्याज वाणिज्य बैंकहरुले दिए भने पैसा उतै जान्छ, त्यसलाई मध्यनजर गर्न उनले सुझाए ।
कार्यक्रममा ललितपुर जिल्ला सहकारी संघका उपाध्यक्ष रामशरण बस्नेतले बैंकहरुले सीमित समयका लागि १२ प्रतिशतसम्म ब्याज आव्हान गरिराखेको अवस्थामा सहकारीहरुले पनि त्यस्ता प्रडक्ट ल्याउन सके तरलता अभावलाई न्यून गर्न सकिने बताए । सहकारी बैंक र नेफ्स्कुनले सीमित अवधिका लागि भएपनि विशेष बचत योजना ल्याएर सदस्यहरुको पैसा अभियानभित्र आउने वाताबरण बनाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गरे । प्रारम्भिक संस्थामा सदस्यको पैसा आउने बातावरण बनिनराखेकाले सहकारीको पैसा सहकारीमा नै भन्ने कुरा त्यति सहज नभएको उनले जनाए ।
संघका सल्लाहकार रामशरण घिमिरेले सहकारीभित्र रहेको पैसा यहिँ रहने बातावरण नबन्दासम्म तरलता समस्या झन् जटिल बन्ने बताए । व्यापार घाटा चुलिएको, कृषि उपजमा परनिर्भरता बढेको र डिजेलपेट्रोलको आयात बढ्दा मुलुकको पैसा बाहिरिँदा समस्या आएको उनको भनाई छ । सहकारीले अब कृषि उत्पादन र प्रशोधनमा परिणाम देखिने गरी नलाग्दासम्म मुलुक आत्मनिर्भर बन्न नसक्ने भन्दै उनले त्यसतर्फ जिम्मेवार भएर लाग्नुपर्ने बेला आएको बताए । सरकारले सन्दर्भ ब्याजदरको नाममा सिलिङ तोकेर सहकारीलाई नियन्त्रण गर्नेमात्र काम गरेकाले यो विषयमा अभियानले निरन्तर बहस तथा पैरवी गर्नुका साथै परिणाम निस्कने ढंगले अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बजगाईंले स्थपनाकालदेखि नै संघमा आवद्ध सहकारी संस्थाहरुको विकास, प्रवद्र्धन र संवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै सहकारीमैत्री नीति निर्माणका सवालमा पनि पहलपैरवी गर्दै आएको बताए । आन्तरिक रुपमा संस्थगत विकास, सुशासन एवं क्ष्ँमता अभिवृद्धि गर्दे अझ गुणस्तरीय सेवा प्रदान गर्नु आजको आवश्यकता रहेको र बचत ऋण अभियानलाई व्यवस्थित एवं समयसापेक्ष बनाउन अनुकूल नीतिगत व्यवस्थाका लागि राज्यसँग पहल गर्नु आवश्यक रहेको उनको भनाइ छ । सहकारीमार्फत उत्पादन, वितरण र उपभोगलाई जोड दिइ आर्थिक रुपमा सबल मुलुक बनाउन सहकारीहरु लाग्नुपर्नेमा उनले जोड दिए । संघले आफ्ना सदस्यहरुको सबलीकरण र विस्तारका लागि वर्षभर विभिन्न तालिम तथा गोष्ठी सञ्चालन गर्दै आएको उनले बताए । संघमा ५२६ संस्था आवद्ध रहेका छन् । संघको कुल शेयर ६ करोड १९ लाख, बचत १ अर्ब ८० करोड र ऋण लगानी १ अर्ब १७ करोड गरी सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।
संघले कोरोना महामारीका बेला सदस्य संस्थालाई सघाउन तरलता व्यवस्थापन कोष खडा गरेको र त्यस अवधिमा २३ वटा संस्थलाई सहयोग गरेको जनाएको छ । संघले आफ्नै घरजग्गा खरिद गर्ने, आवद्ध सबै संस्थाहरुमा अन्तरलगानी विस्तार गर्ने, हरेक ३ महिनामा वित्तीय विवरण प्रकाशित गर्ने, अनुगमन तथा एकिकरणलाई प्राथमिकता दिने, संस्था प्रवद्र्धन तथा विकासमा टेवा पु¥याउने भएको छ । त्यसैगरी सदस्यहरुलाई आवश्यकता अनुसार सशुल्क र निःशुल्क तालिम प्रदान गर्ने, महिलाद्वारा सञ्चालित सहकारीलाई बिनाधितो लघुकर्जा प्रदान गर्ने, निष्क्रिय रहेका संस्थाहरुलाई सक्रिय बनाउन पहल गर्ने भएको छ ।
सभामा कोषाध्यक्ष दिपक घिमिरेले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक अशोक महर्जनले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा महानगरपालिका र नगरपालिका भित्रका उत्कृष्ट सहकारी संस्थाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने संस्थामा गोदावरी नपाबाट गणपति साकोस, महालक्ष्मी नपाबाट सहारा साकोस र ललितपुर महानगरपालिकाबाट अनमोल साकोस रहेका छन् । त्यसैगरी उत्कृष्ट सहकारी कारोबार गर्नेमा गौरव साकोस धापाखेल, समता साकोस नःटोल, आदिनाथ साकोस ग्वार्को, श्रीकृष्ण प्रणामी साकोस इमाडोल र अभियान साकोस गोदावरी रहेका छन् । सभामा सहकारी एकिकरणतर्फ मंगलदीप साकोस र हेलो नयन साकोसलाई पनि सम्मान गरिएको थियो ।
संघका बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले स्वागत मन्तब्य र सचिव श्यामकृष्ण महर्जनले कार्यक्रम सञ्चालन गरेका थिए ।