शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारी सदस्यले सनराइज बैंकको डेबिट कार्डबाटै रकम झिक्न सक्ने

पौष ७, २०७८ बुधबार
सहकारी सदस्यले सनराइज बैंकको डेबिट कार्डबाटै रकम झिक्न सक्ने

सनराइज बैंकले सहकारी संस्थाका ग्राहकहरुलाई दिने डेबिट कार्डको नमूना सार्वजनिक गरेको छ। 
जसका लागि बैंकले भिसा इन्टरनेसनलबाट समेत सहमति पाइसकेको छ। बैंकले पहिलो चरणमा कार्ड जारी गर्ने विभिन्न चारवटा सहकारी संस्थाहरुसँग सम्झौता गरिसकेको जनाएको छ। 

अहिले सम्झौता गरिएका सहकारी संस्थाहरुमा प्राविधिकहरुको सहयोगमा प्रणाली तयार गरी परीक्षण  भइरहेको छ।  भिसा ब्राण्डअन्तर्गत सहकारी संस्थाका ग्राहकहरुलाई डेबिट कार्ड जारी गर्ने यो परियोजना दक्षिण एसियामै पहिलो अभ्यास भएको दाबी बैंकको छ। 

यस परियोजनाअन्तर्गत जारी हुने कार्डमार्फत् हुने कारवबारका लागि सनराइजले सेटलमेन्ट बैंकको भूमिका निर्वाह गर्नेछ। जारी हुने कार्डको स्वीचिङ सेवा भने नेप्सले गर्ने बैंकले जनाएको छ। आइमार्क र पायोनियर एसोसिएट्सले सम्बद्ध सहकारी संस्था र बैंकको कोर बैंकिङ प्रणाली तथा स्वीचिङ प्रणालीबीच आवश्यक संचार समन्वय गर्न संरचना तयार गर्ने  बैंकले जनाएको छ। 

यस्तै, कारोबार राउटिङ, कार्ड जारी गर्नुअघि ग्राहक पहिचानका गतिविधि, इ(केवाइसी लगायतका कार्यहरुका लागि आवश्यक प्रावधिक सेवा आइमार्क र पायोनियर एसोसिएट्सले गर्ने बैंकले जनाएको छ। 

जारी हुने डेबिट कार्डहरु सम्बन्धित सहकारी संस्थामा रहेको कार्डबाहकको खातामा सोझै लिंक हुनेछ। सहकारी संस्थाहरुलाई जारी गरिने डेबिट कार्डको सुरक्षा तथा प्रयोगको हकमा हाल जारी भइरहेका कार्डभन्दा फरक नहुने बैंकले जनाएको छ। 

उक्त डेबिट कार्ड नेपाल, भारत र भुटानमा प्रयोग गर्न सकिने बताइएको छ। पहिलो चरणमा पाँचवटा सहकारी संस्थाहरुमा यो सेवा सुरु गरिने बैंकले जनाएको छ। चालु आव भित्र चारवटा प्रदेशबाट थप न्यूनतम २५ वटा सहकारी संस्थाहरुमा सेवा विस्तार गर्ने योजना छ।

इच्छुक सहकारी संस्थाहरुले डेबिट कार्ड पाउन सोझै सनराइज बैंक वा प्राविधिक सेवा प्रदायक पायोनियर एसोसिएट्समा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ। राष्ट्र बैंकले चालु आवमा जारी गरेको मौद्रिक नीतिले पनि सहकारीका ग्राहकहरुलाई विद्युतीय भुक्तानी सेवा पुर्‍याउन प्रोत्साहन गर्ने योजना अघि सारेको छ।