चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा २८ औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला, २०७८ सम्पन्न भएको छ । एक्सेस ब्राण्डिङ कार्यक्रमको तेश्रो मध्य क्षेत्रमा सम्मिलित १२ वटा संस्थाहरुको सहभागितामा उक्त कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा सहभागी संस्थाहरुले आआफ्ना संस्थाको पछिल्लो प्रतिवेदनहरु प्रस्तुत गर्दै हालको वित्तीय बजारको समीक्षा गरेका थिए । तरलता संकुचन, ऋण मागको चाप, समाचारमा आएका केही सहकारी संस्थाहरुको गलत अभ्यासका कारण वर्तमान समयमा सामना गर्नुपरेको चुनौतीका विषयमा समेत कार्यक्रममा समीक्षा गरिएको थियो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले कार्यक्रम उद्घाटन गर्दै एफडब्लु राइफाइसनको ‘थ्री एस सुत्र– सेल्फ हेल्प, सेल्फ गभर्नेन्स, सेल्फ रेस्पोन्सिबिलिटी’ लगायत सदस्य सुरक्षाका सिद्धान्त तथा नेपालमा सन्दर्भ ब्याजदरको अभ्यासको चर्चा गगरेका थिए । कार्यशालाको सहजीकर्ता नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल र बरिष्ठ कार्यक्रम अधिकृत प्रेम वाग्लेले रहेका थिए ।
संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले सबै संस्थाहरु सहकारीको छवि सुरक्षा गर्ने उद्देश्यले असल अभ्यासहरुमा लाग्नु पर्नेमा जोड दिँदै आफु मात्र राम्रो बन्नेमा मात्र सिमित नभइ अभियान राम्रो बनाउने कुरामा केन्द्रित हुनु पर्ने विचार व्यक्त गरे ।
उक्त कार्यशाला संस्थाहरुको प्रगतिको समीक्षा र मानव संशाधन कार्याशाला गरी २ वटा पक्षमा केन्द्रित रहँदै महत्वपूर्ण निश्कर्षहरु सहित समापन भएको छ । आगामी कार्यशाला युवा बचत तथा ऋण सहकारी संस्था, काभ्रेको आयोजनामा हुने गरी एक्सेस ब्राण्डिङ प्रतिक झण्डा हस्तान्तरण गरिएको छ ।
