बैंक तथा वित्तीय संस्थामा तरलताको चाप परेसँगै सहकारी संस्थाहरु पनि तरलताको चाप पर्ने भन्दै सहकारीकर्मीहरु छलफलमा जुटेका छन् । बैंक तथा वित्तीय संस्थाले आक्रामक रुपमा ऋण लगानी विस्तार गर्दा पहिलो त्रैमास नसकिँदै वित्तीय बजारमा तरलताको चर्को अभाव देखा परेको छ । वित्त क्षेत्रमा परेको यस्तो चाप सहकारीमा समेत पर्न सक्ने आँकलन गर्दै समस्या आए कसरी समाधान गर्ने भन्ने तर्फ छलफल उनीहरुले अगाडि बढाएका हुन् ।
यसै सन्दर्भ सहकारी अभियानका अगुवा संघहरुले ‘तरलता व्यवस्थापनमा अभियानको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । बागमती प्रदेश सहकारी संघ, जिल्ला सहकारी संघ ललितपुर, ललितपुर जिल्ला बचत संघ, बहुउद्देश्यीय सहकारी संघ ललितपुर, राष्ट्रिय सहकारीबैंकका ललितपुरस्थित ४ शाखा तथा नेफ्स्कुनको फिल्ड कार्यालयको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
सहकारी विभागका रजिष्ट्रार झलक राम अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती, नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल, बागमती प्रदेश संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल, केन्द्रिय बहुद्देश्यीय सहकारी संघ का सचिव माधव तिमल्सिना, बहुउद्देश्यीय सहकारी संघ ललितपुरका अध्यक्ष शरद महर्जन लगायतका सहकारी अभियन्ताको उपस्थिति कार्यक्रममा रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सीइओ बद्री गुरागाईंले कार्यपत्र प्रस्तुत गर्दै तरलता के हो ? तरलता अभावबाट बच्ने उपाय, पैसा कहाँ गयो ? र समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने लगायतका विषयमा प्रस्तुतिकरण दिएका छन् ।

ललितपुर बचत संघका अध्यक्ष रामहरि बजगाईंले अहिले पैसा कहाँ गयो र अहिले यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भइराखेको बताए । आजको कार्यक्रममा सञ्चालन गरिरहेको बजगाईंले सहकारी संस्थाहरुको पैसालाई बैंक तथा वित्तीय संस्थामा नलगी सिधै सहकारी बैंक र संघहरुमा कसरी जम्मा गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल चलेको बताए । त्यसैगरी बजारमा हल्ला आएजस्तो सहकारीहरुमा तरलताको समस्या नरहेको तर पर्ख र हेरको अवस्थामा रहेको उनले जनाए । ‘ऋण लगानी गर्न नसकेको अवस्था होइन तर नगरेको अवस्था हो,’ उनले भने ‘संस्थाहरुलाई अप्ठ्यारो प¥यो भने संघ र बैंकले सघाउँछन् ।’ ‘सदस्यको बचत फिर्ता पहिलो दायित्व भएको र ऋण लगानी सदस्यलाई दिइएको सुविधामात्र हो,’ बजगाईंले भने, ‘बचत फिर्ताप्रति हामी जवाफदेहि हुन्छौं तर ऋण लगानीमा जवाफदेहि हुने बेला अहिले होइन ।’
संस्थाहरुलाई हतोत्साहित नभइ लगानी गरेको पैसा असुलीको लागि सदस्यहरुलाई अनुरोध गर्ने, सदस्यहरुलाई बचत शिक्षा कार्यक्रममा सहभागि गराउने, सदस्यको पैसा संस्थामा र संस्थाको पैसा सहकारी बैंंक र संघहरुमा जाने वातावरण मिलाउन कार्यक्रमले अभिप्रेरित उनले जनाए ।

कार्यक्रममा सन्दर्भ ब्याजदरकाे विषयमा समेत अावाज उठेकाे छ । बैंकहरूले १२ –१३ प्रतिशतसम्म ब्याजदरमा निक्षेप उठाइरहेका बेला सहकारीकाे लगानीकाे ब्याजदर पुनरावलाेकन नभए त्यसले समस्या पार्ने भन्दै सन्दर्भ ब्याजदर पुनरावलाेकन गर्न समेत सहभागिहरूले माग गरेका छन् ।