हिमालयन बैंकको संचालक समितिले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने निर्णय गरेको छ । हिमालयन बैंक संचालक समिति बैठकले आइतबार मर्जर अघि बढाउने निर्णय गरेको हो ।
हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरमा जानको लाग २०७७ बैशाख ३० गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । तर, हिमालयन बैंकको संचालक समिति अध्यक्ष तुलसी गौतमको ठाउँमा प्रचण्डबहादुर श्रेष्ठ आएपछि मर्जर प्रक्रियाले गति लिन सकेको थिएन ।
हिमालयन बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश दिएको थियो । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई वार्षिक प्रतिवेदन स्वीकृत गर्दा नेपाल इन्भेष्मेन्ट बैंकसँग मर्जरमा गएमात्र पाउने शर्त राखेको थियो ।
हिमालयन बैंकले अब नियमित साधारणसभा र इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नको लागि साधारणसभा बोलाउने छ । नेपाल इन्भेष्टमेन्ट बैंकले भने हिमालयन बैंकसँग मर्जरमा जानको लागि विशेष साधारणसभा बोलाउने छ ।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जानको लागि सञ्चालक समितिले स्वीकृति दिएको र साधारणसभा बोलाउने निर्णय भएको जानकारी दिएका हुन् ।
दुवै बैंकबीच १ बराबर १ कित्ता सेयर अनुपातका आधारमा मर्जर हुनेछ । बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक राख्ने सहमति भइसकेको छ भने बैंक संचालक समिति अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणा रहने सहमति यसअघि नै भइसकेको हाे।