मंगलबार, मंसिर ८ गते २०८३

नेपाललाई भारतको २४ हजार करोड रुपैयाँ सहायता, उर्जामा समेत लगानी बढाइने


मंसिर ८, २०८३ मंगलबार
नेपाललाई भारतको २४ हजार करोड रुपैयाँ सहायता, उर्जामा समेत लगानी बढाइने

भारतले नेपालको विकास र पूर्वाधार निर्माणका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको सहायता उपलब्ध गराउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा १५ हजार करोड भारतीय रुपैयाँ अर्थात् २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता घोषणा गरेका हुन् ।


यसअन्तर्गत ५ हजार ६०० करोड नेपाली रुपैयाँ बराबर अनुदान र १८ हजार ४०० करोड रुपैयाँ बराबर भारतीय रुपैयाँमै भुक्तानी हुने ऋण उपलब्ध गराइनेछ । अनुदान बाढीपछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनामा खर्च गरिनेछ भने ऋण ऊर्जा क्षेत्रका परियोजनाका लागि उपयोग हुनेछ । कुन परियोजनामा कति रकम परिचालन गर्ने र सहायता उपलब्ध गराउने प्रक्रिया भने दुवै देशबीचको परामर्शबाट टुंगो लगाइने संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री शाहको दुईदिने राजकीय भारत भ्रमणका क्रममा सोमबार जारी संयुक्त प्रेस विज्ञप्तिले नेपाल–भारत विकास साझेदारीमा आर्थिक सहायता, ऊर्जा, पूर्वाधार, व्यापार र सम्पर्क सञ्जाल विस्तारलाई प्रमुख प्राथमिकतामा राखेको छ । दुवै देशका प्रधानमन्त्रीले ‘विकसित भारत र समुन्नत नेपाल’ साझा दृष्टिकोणपत्रसमेत स्वीकार गरेका छन् ।

 भारतले उपलब्ध गराउने कुल सहायतामध्ये ठूलो हिस्सा ऊर्जा क्षेत्रका परियोजनाका लागि ऋणका रूपमा आउने भएको छ । १८ हजार ४०० करोड नेपाली रुपैयाँ बराबरको ऋण भारतीय रुपैयाँमा उपलब्ध गराइनेछ । यसले नेपालमा ऊर्जा उत्पादन तथा प्रसारणसम्बन्धी परियोजना अघि बढाउन सहयोग पुग्ने दुई देशको अपेक्षा छ ।