टल्कु बचत तथा ऋण सहकारी संस्था स्थापनाको कुन पृष्ठभूमिमा भएको थियो ?
‘कारितास नेपाल’ भन्ने एउटा संस्था थियो । वि.स. ५४–५५ सालतिरको कुरा होला । त्यो संस्थाले महिला सशक्तीकरण मार्फत महिलाहरुमा आयआर्जनमा सघाउने गथ्र्यो । त्यो बेला म आफैँ कक्षा छ–सातमा पढ्र्थे । त्यो बेला आमाहरूको एउटा समूह हुन्थ्यो । त्यो समूहले बैठक गर्ने, बाख्रापालन सम्बन्धी तालिम दिने, बाख्राको खोर व्यवस्थापन गर्ने जस्ता तािलम प्रदान गथ्र्यो । त्यो कार्यक्रम सञ्चालन गर्नको लागि लोकल पार्टनरको रूपमा ‘सेक्युरिटी नेपाल’ भन्ने एउटा संस्था थियो । ‘सेक्युरिटी नेपाल’ संस्थाको कार्यक्रम संयोजक श्याम शर्मा भुसाल हुनुहुन्थ्यो। उहाँले त्यो प्रोजेक्टको फेजआउटको क्रममा, यसरी समुदायमा आधारित भएर गरेको कार्यक्रमहरूलाई त्यतिकै फेजआउट किन गर्न दिने ? हामीले सञ्चालन गरिरहेको समूहहरूलाई एकत्रित गराएर एउटा सहकारी बनाइदिउँ भन्नुभयो । वि.स. २०५८ सालतिर सहकारीको परियोजना ल्याउनुभयो । ५९ सालको श्रावणको २१ गते संस्था दर्ता गर्ने अवसर जुर्यो ।
प्रोजेक्ट फेजआउट हुने बेलामा महिला बाख्रापालन समूह भनेर साविकको टल्कु दुराचउर गाविसको पाँच, छ, तीन, चार र सातमा दुई–दुई वटा गरेर १० वटा महिला समूह थियो । १० वटा महिला समूहहरूलाई बिउ कोष भनेर ‘कारितास’ले सेक्युरिटीमार्फत् प्रति समूह रू. १० हजारका दरले बिउ पुँजी कोष प्रदान गरेको थियो । समूहको दिदीबहिनीहरूले पनि महिनाको पाँच–पाँच रूपैयाँ बचत गर्ने चलन थियो । त्यो मासिक रुपमा पाँच–पाँच रूपैयाँ बचत गर्ने र आफूलाई आवश्यक पर्दा ५ सयदेखि १५ सय ऋण लिएर ससानो व्यवसाय गर्ने र आफ्नो खर खाँचो टार्ने काम गर्थे । यो २४ वर्षभन्दा अगाडिको कुरा हो ।
त्यसपछि अन्त्यमा १० वटा समूहको १० हजारको दरले १ लाख रूपैयाँ पुँजी सङ्कलन गरी त्यो बेलाका हाम्रा अग्रजहरू, स्वर्गीय अध्यक्ष मिनबहादुर बलामी लगायतको अहिलेको हाम्रो वडा नम्बर ९ को वडाध्यक्ष , अहिलेको दक्षिणकाली नगरपालिकाको मेयर पनि हुनुहुन्थ्यो, त्यो समयमा धेरै जना व्यक्तित्वहरूको प्रयासमा यो हाम्रो सहकारी संस्था जन्म भएको थियो । १ लाख रूपैयाँ शुरूमा कोष रहेको थियो । श्रावणको २१ गते संस्थाको जन्म भए पनि कारोबार भने चार महिना पछाडि मंसीर १ गतेबाट सुरु गरिएको थियो । त्यो बेला बचत सङ्कलन गर्न म आफैँ हिँडेको थिए । म भर्खरै एस.एल.सी. दिएर बसेको थिए । शुरूको दिनमा मैले एक महिना भोलेन्टियरको रुपमा संस्थामा काम गरेँ । त्यसपछि महिनाको रू. १ हजारको दरले तलब लिए ।
त्यसरी काम गर्दै जाँदा बिस्तारै–बिस्तारै सदस्यता वृद्धि हुँदै गयो । १० वटा महिला समूहको कम्तीमा १० जना दिदीबहिनी हुँदा सय जना भयो, सदस्य थप गर्दा डेढसय जना जति सदस्य भए । अहिले संस्थामा २ हजार ३ सय जना सदस्य पुगेको छ । १ लाख रूपैयाँबाट शुरू गरेको हाम्रो संस्थामा ४७ करोडको ब्यालेन्स सिटमा रहेको छ ।
५८–५९ सालमा सहकारी शुरूआत गर्नुभयो, त्यतिखेर यहाँको परिवेश कस्तो थियो? स्थानीयहरूमा बचत गर्नुपर्छ भन्ने खालको भावना थियो कि थिएन? कसरी सहकारीका कुरा लिएर सदस्य माझ पुग्नुभयो ?
त्यो सयमा मानिसहरुमा बचत गर्नुपर्छ भन्ने चेत नै थिएन । मान्छेहरूलाई ‘खुत्रुके’ भनेको पनि थाह छैन, ‘सहकारी’ र बैंक पनि थाह थिएन । फर्पिङमा वाणिज्य बैंक थियो । त्यो बैंक सरकारी जागिर खानेहरूको लागि हो । अलि धेरै पैसा हुनेहरूले खाता खोल्नुहुन्छ भन्ने सुनिन्थ्यो । तर पछि द्वन्द्वकालमा फर्पिङको वाणिज्य बैंक पनि कीर्तिपुर सर्यो । हामीले सहकारी गठन गरी दर्ता गरेर सञ्चालन गर्ने बेलामा सहकारीहरु भाग्ने चलन थियो । नाम त नलिउँ, एउटा–दुई वटा सहकारीहरूमा त्यो समयमा पनि विचलन आएको थियो ।
एक–दुई वटा सहकारी संस्थाहरूले सदस्यबाट बचत उठाउने, गाउँमा एस.एल.सी. पास गरेका केटाकेटीहरूलाई राम्रो तलव दिएर बचत सङ्कलन गर्न लगाउन र स्थानीयलाई टार्गेट दिएर बचत उठाउने र निश्चित समयमा भाग्ने योजना रहेछ । सदस्यहरुबाट लिएको बचत लिएर संस्था भाग्यो । संस्थाबाट ५, १० र १५ हजार ऋण लिनेलाई फाइदा भए पनि कतिपय सदस्यको ५० देखि ६० हजारसम्म बचत लिएर संस्था भाग्यो । त्यो बेलाको ५०÷६० हजार भनेको त ठूलो पैसा हो । त्यसपछि समुदायमा सहकारीलाई ‘भाग्नेकारी’ भनेर उपनाम पनि दिएको थियो ।
सहकारीको ‘सह’ फाल्दिने अनि ‘भाग्नेकारी’ भनिन्थ्यो । शुरू–शुरूमा सदस्यहरूलाई कन्भिस गराउनको लागि अलिकति कठिनाइ त भयो । तर पछि विश्वासिलो माध्यम के भैदियो भने हाम्रो संस्था यहाँ समूहको दिदीबहिनीहरूले बनाएको हो, संस्थाको अध्यक्ष, सञ्चालक समितिका पदाधिकारी र काम गर्ने कर्मचारी पनि यहींको हो, स्थानीय भइसकेपछि एक किसिमको त्यो विश्वास दिलाउन सक्दा हामीलाई पछि–पछि सदस्यता विस्तार गर्नको लागि सहज पनि भएको थियो ।
सुरुदेखि नै सुशासनलाई आत्मसात गर्ने, सुशासन कायम राख्नुपर्छ भन्ने मान्यता थियो । अर्कोतर्फ त्योबेलाको संस्थालाई अगाडि बढाउने अभियान्ताहरू शिक्षित र व्यावहारिक गुण भएका व्यक्तिहरू भएको हुनाले, शुरू–शुरूमा केही गाह्रो भए पनि पछि भने सदस्यता वृद्धि गर्न सजिलै भयो ।
संस्था स्थापनापछि वित्तीय साक्षरतासाथै वित्तीय पहुँच र अभिवृद्धि त भयो नै । स्थानीयस्तरमा कुन–कुन क्षेत्रमा संस्थाले परिवर्तन ल्याउन सक्यो । रोजगारी सृजना देखि समुदायको कुन कुन क्षेत्रमा परिवर्तन ल्याउन सफल हुनुभयो ?
अब खोतल्दै जाने हो, यही विषयमा थेसिस गर्ने हो भने धेरै कुरा निस्केला । हाम्रो नाङ्गो आँखाले देखिने अथवा हामीले आफ्नो सदस्यहरू भेटघाट गर्दै जाँदा उहाँहरूले भन्ने कुरा नै हो । सहकारी अभियानलाई अगाडि बढाउँदै जाँदा बचत गर्नुपर्छ भन्ने खालको भावना विकास गर्न सकियो । बचत गर्दै गइयो भने भोलीको दिनमा आपत् पर्दा संस्थाबाट लिन सकिने कुरा सदस्यलाई बुझाउन सकियो । सानोतिनो व्यापार–व्यवसाय गर्नको लागि कुनै साहु महाजनकहाँ ढोका ढकढक्याउन जान नपर्ने, र सामूहिक रूपमा ऋण दिने परिपाटी बसाली सकेपछि २०–२५ हजार ऋण पाउन सक्ने भएपछि आर्य आर्जनका लाग्ने अवसर सृजना भयो ।
अर्कोतर्फ सहकारीबाट सरल रूपमा ऋण उपलब्ध भइसकेपछि छोराछोरीलाई उच्च शिक्षा अध्ययन गराउनको लागि पनि म सक्षम छु भन्ने खालको विकास भएको छ भने सानोतिनो कुखुरापालन, मौसमी–बेमौसमी तरकारी खेतीहरू सञ्चालन गर्नको लागि पनिसहज भएको छ भन्ने खालको बुझाई वृद्धि भएको छ । त्यसैगरी सामाजिक काम गर्नु पर्यो भने सहकारीले आफ्नो सामुदायिक विकास कोष मार्फत वा खर्च गर्ने शीर्षक मार्फत सहयोग प्रदान गरिन्छ भन्ने जस्ता कुराले सदस्यको आकर्षण संस्थामा बढेर गएको छ ।
पछिल्लो चरणमा हामीले सोसल मिडियाार्फत् विभिन्न सूचनाहरू प्रवाह गर्ने गर्छौँ भने संस्थाले मोबाइल बैंकिङ सेवा मार्फत् पनि सदस्यहरूलाई सेवा प्रदान गर्दै आएको छ । मोबाइल बैंकको पहुँच नपुगेका सदस्यहरूलाई पनि मोबाइल बैंकिङ प्रयोगको फाइदा र बैंकिङहरू कसरी सञ्चालन गर्ने भन्ने विषयमा जानकारी दिन बेलाबलामा भिडियो र लेखहरू लेखेर पोस्ट गर्ने गरेका छौं । गठन गर्ने बेलाको १० वटा समूहलाई हामीले बढाएर २८–२९ वटा पु¥याइसकेका छौँ । त्यो समूहको मिटिङ मासिक रूपमा तोकिएको दिनमा, तोकिएको समयमा हुन्छ । संस्थाका कर्मचारीले बचत संकलनसँगै वित्तीय साक्षरता, सहकारी शिक्षा, सहकारीको ऐन नियम, अहिलेको अवस्थामा सहकारी अध्यादेश र निर्देशनहरूको बारेमा सदस्यहरूलाई जानकारी गराउने काम गर्छौं ।
संस्थाको ऋण प्रवाहका क्षेत्रहरू कुन कुन छन्, अहिले कतिपय संस्थाहरूलाई ऋण असुलीमा समेत समस्या भएको र भाका नाघेका कारण प्रोभिजनको समेत दबाब परेको छ, टल्कु साकोसको हकमा के छ ?
ऋण लगानी भइसकेपछि भाका नाघ्ने, भाका ननाघ्ने त सबै संस्थामा हुन्छ । पहिला–पहिला ‘व्यवसायी’ भन्ने थियो । हामी कस्तो ठाउँमा पर्यौं भन्दा न गाउँ, न सहर जस्तो । जुन ठाउँमा हामी लोकेटेड छौँ, यहाँबाट हामी बाइक वा गाडीमा तीन मिनेट तल बजारमा झर्यो भने पाँचवटा वाणिज्य बैंकका शाखा छन् । वाणिज्य बैंकहरूले के स्ट्रटेजी अपनाइरहेको छ भन्दा सहकारी संस्थामा ब्याज महँगो छ, महँगो ब्याज तिर्ने सदस्यहरू को–को छन् ऋणीहरू को–को छन् भनेर खोजी–तलास गर्ने र त्यसपछि इन्डाइरेक्ट्ली उनीहरूलाई बैंकसँग कनेक्ट गर्ने र सहकारीको ऋण असुली गर्न लगाएर, त्यहाँबाट ऋण लगानी गर्ने गरेका अवस्था छ । जसको धितो बलियो र पिच रोडले छोएको छ उनीहरुलाई बैंकले ऋण दिने गर्दै आएको छ । यसले गर्दा एउटा चुनौति थपिएको छ ।
अहिले संस्थामा ४० प्रतिशतको हाराहारीमा तरलता छ । त्यो भनेको एक त ठूला–ठूला ऋणहरूलाई हामीले लगानी गर्न सकेको छैनौँ भने, अर्को पहिला–पहिलाका पुराना अर्थात भाका नाघेका ऋण हामीले असुली गर्न सक्यौं । त्यो दुइटै कारणले गर्दा हामीसँग तरलता अधिक छ । बढीमा २० प्रतिशतसम्म हुनुपर्नेमा ४० प्रतिशत तरलता संस्थामा छ ।
अघिलो बर्षको असार मसान्तसमम्म हामीसँग १२ प्रतिशत भाका नाघेको ऋण छ । हाम्रो टार्गेट ५ प्रतिशत भन्दा कम गर्ने हो । गत वर्ष हाम्रो २२–२३ प्रतिशत भाखा नाघेको ऋण थियो । ऋण असुली गर्नको लागि हामीले एउटा सञ्चालक समितिको बैठकमा छलफल गरेर ‘असुली उपसमिति’ गठन गरेका छौं । ऋण असुलीलाई प्रभावकारी बनाउने नीति हामीले लिएका छौं ।
संस्थामा ठूला–ठूला ऋणीहरू पनि हुनुहुन्छ, मेडिकल व्यवसायहरू गर्नेहरू हुनुहुन्छ, उहाँहरूले महिनावारी रूपमा अथवा तीन महिनामा एकचोटि किस्ताबन्दीमा ऋणको साँवा ब्याज तिर्ने गर्नुहुन्छ । अहिले लघुवित्त समूहहरू बढाउँदै लाने, र लघुवित्त समूह हामीले २४ वर्षको अन्तरालमा ऋण लगानी, असुली, नियमित बचत, एकाघरको सदस्यको बचतको बाल बचत लगायतका संस्थाको विभिन्न कार्यक्रमहरूमा सहभागिताको हिसाबमय सामूहिक ऋण अथवा लघुवित्त समुहमार्फत् लगानी गरिएको ऋण राम्रो भएको हामीले अनुभव गरेका छौं ।
यसैलाई बढवा दिनको लागि समूह मार्फत २–३ लाखसम्म लगानी गरेर कुनै एउटा व्यवसायी राम्रो हुन्छ भने भन्ने त्यो व्यवसायमा ऋण लगानीतर्फ हामीले ध्यान दिएका छौँ । पछिल्लो चरणमा सानातिना व्यवसायहरू, जसको बजार फर्पिङ र दक्षिणकाली तिरै होस्, वा अलिकति बढी उत्पादन भइदियो भने कालीमाटीसम्म पुगोस् । एकैजना ऋणीलाई ५० देखि ६० लाख दिनुभन्दा सानो–सानो ऋण १० जनालाई दिने, उहाँहरूको जीविकोपार्जन पनि हुन्छ भन्ने खालकोे व्यवसायिक ऋणलाई प्राथमिकता दिएका छौँ ।
पछिल्लो चरणमा वैदेशिक शिक्षाको लागि ऋण लिने पनि बढिराखेको छ । अब यो आमाहरू समूहमा हुनुहुन्छ, आमाहरूले तरकारी खेती, बाख्रापालन, भैँसीपालन भनेर समूहबाट बढीमा ३ लाखसम्म ऋण लिनुहुन्छ । छोराछोरीहरू जापान, अस्ट्रेलिया, यू.के. जानुपर्यो भने धितो ऋण लिने समेत गरेका छन् । सदस्यहरुले समुहबाट लिएको ऋणको किस्ता पनि तिर्नुहुन्छ र आफ्ना छोराछोरी विदेशमा पढाउनलाई पठाएको ऋणको पनि साँवा ब्याज तिरीराख्नु भएको छ ।
सहकारीमा मासिक बचत मुख्य भनिन्छ, यहाँहरूले मासिक बचतलाई कसरी लानुभएको र सदस्यको सहभागिता कस्तो छ ?
दक्षिण भेग भनेको चोभारदेखि यता पर्छ । मैले सरसर्ति हेर्दा चोभारदेखि यता जति पनि सहकारी संस्थाहरू छन्, ती सहकारी संस्थाहरूको अडिट रिपोर्ट हेर्दा नियमित बचत’ भन्ने शीर्षक नै देखेको थिइन । त्यसबाट हाम्रो संस्था पनि अछुतो रहेन । नियमित बचत भनेको के हो भन्ने ज्ञान नै थिएन । नियमित बचत भनेको आफ्नो संस्थाको मेरुदण्ड हो, भोलि गएर सहकारी संस्थाको अन्य बचतहरू फिर्ता भए पनि नियमित बचत फिर्ता हुँदैन, त्यसले गर्दा संस्थामा आइपर्ने जोखीमहरू न्यूनिकरण हुन्छ भन्ने खालको कुरा पछिल्लो चरणमा स्तरिकरण कार्यक्रममा सहभागी भएपछि थाह पायौं ।
नेफस्कूनले सञ्चालनमा ल्याएको स्क्यान कार्यक्रममा आवद्ध भइसकेपछि नियमित बचतको बारेमा सिक्न पाइयो । हाम्रो संस्थामा पनि नियमित बचत थिएन, ३ वर्ष जति भयो हामीले सुरु गरेको । शुरूमा त सञ्चालक समितिलाई समेत बुझाउन गाह्रो भयो । सञ्चालक समितिमार्फत् पनि आफूले नै नियमित रूपमा, आफूले नै गरेको बचत आफूलाई आपत् पर्दा निकाल्न पाएन भने त्यसको के अर्थ भन्ने खालको कुरा पनि निस्किएको थियो । त्योबेलामा, यो यस्तो हो यो यस्तो भनेर सञ्चालक समितिलाई समेत बुझाउन गाह्रो भएको अवस्थामा सदस्यहरूलाई बुझाउन झन् गाह्रो हुन्थ्यो होला । ३–४ महिनाको अन्तरालमा लघुवित्तमा आवद्ध महिलाहरुको अन्तरसमूह बैठक सञ्चालन गरिन्छ ।
अन्तरसमूह बैठकमा समूहका प्रतिनिधिहरूलाई हाम्रै संस्थामा ल्याए सहकारी शिक्षा सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै गर्दा नियमित बचतको पनि लगभग ४०–५० मिनेटको स्लाइडहरू प्रस्तुत गरेपछि महिनाको कम्तीमा न्यूनतम २०० रूपैयाँँ बचत गर्नुपर्छ भनेर नियमित बचत सुरु गरेका थियौं । तीन बर्षको अवधिमा करिव ६ सय ५० जना मासिक बचतमा आवद्ध भएका छन् ।
शुरूदेखि नै भएको भए धेरै राम्रो हुनेरहेछ । मासिक बचतमा ५५ लाख रुपैयाँ जम्मा भइसकेको छ । हामीले टेलरको एक जना कर्मचारीलाई जिम्मा दिएको छौँ, केही गरी कसैले रोक्यो भने त्यसलाई फलोअप गर्ने र कोही–कोहीले मोबाइल बैंकिङबाटै पनि मासिक बचतमा रकम ट्रान्सफर गर्न पनि मिल्ने व्यवस्था मिलाएका छौं ।
मोबाइल बैंकिङ पनि प्रयोगमा ल्याउनुभएको छ, यसको उपयोगिता कस्तो छ ?
मोबाइल बैंकिङ सञ्चालन गर्नुको मुख्य तात्पर्य भनेको हाम्रो संस्थाको कार्यक्षेत्र दक्षिणकाली नगरपालिकाको ५ देखि ९ सम्म रहेको छ । अहिले हामीले जति पनि कार्यक्रमहरू सञ्चालन गर्छौं, वडा नं. ९ मा केन्द्रित गरेका छ । यस वडाका लगभग–लगभग ९० प्रतिशतभन्दा बढी घर परिवार संस्थामा आवद्ध छन् । बजारतिरकोले हेर्दाखेरि टल्कु सहकारी त ९ नम्बरको मात्र हो भन्ने बुझाइ भयो । बजार क्षेत्रका सदस्य ३ हजार बचत फिर्ता लिनलाई पनि संस्थामा आउनलाई झ्याउ मान्ने र हाम्रो कलेक्टर त जानुहुन्छ, कलेक्टरसँग उहाँहरूलाई पुग्ने सम्मको बचत फिर्ता दिने रकम नहुने अवस्था रहयो । त्यस्तैगरी बाल बचतकर्ताहरू बढेर युवा भएपछि सदस्य बन्ने नै भए ।
उनीहरुले घरमा नै बसेर मोबाइल रिचार्ज, इन्टरनेटको बील भुक्तानी जस्ता सुविधा खोजको कारण मोवाइल सेवा सञ्चालनमा ल्याएका हौं । अर्कोतर्फ सहकारीमा पैसा छ, तर शनिबार बन्द हुन्छ, कहिलेकाहीँ आपत् पर्दाखेरि त अब निकाल्न कहाँ जानु, बैंकमा भए एटीएम हुन्थ्यो, सहकारीको एटीएम राख्न मिल्दैन? एटीएम राख्नलाई प्रोसेस र लगानी पनि बढी पर्ने देखियो । मोबाइल बैंकिङबाट युवारूलाई पनि समेट्ने र बजारका सदस्यहरूलाई बचत फिर्ता गर्नको लागि सजिलो हुने हुँदा डिजिटल प्लेटफर्मको प्रयोगमा ल्याएका हौं ।
हामी डिजिटलाइज हुनुपर्छ भन्ने हाम्रो सोचले गर्दा २०८० माघ ६ गतेदेखि मोबाइल बैंकिङ सुचारु गरेका हौं । अहिलेसम्म आइपुग्दा लगभग ३३ महिनाको अवधिमा १२ करोड बढी रकम मोबाइल बैंकिङबाट आउटवार्ड भइसकेको छ । मोबाइल बैंकले विशेष त युवाहरूलाई बढी आकर्षित गरेको छ । ३ सय सदस्यले यसको प्रयोग गर्दै आएका छन् । मोबाइलमा रिचार्ज गर्दा वा इन्टरनेटको भुक्तानी गर्दाखेरि अरू मोबाइल बैंकिङ प्लेटफर्मबाट गर्दा काटिने रकमहरू हामीले सदस्यको सम्बन्धित खातामा नै डिपोजिट गर्नेे व्यवस्था गरेका छौँ । अर्कोतर्फ हामीले साधारणसभाको केही समय अगाडिदेखि डिजिटल फिडब्याक दिन मिल्ने व्यवस्था गरेका छौँ । क्युआर स्क्यान गरी सहकारीको सबै रिपोर्टहरू हेर्न सक्ने व्यस्था मिलाएका छौं ।
यहाँको नगरपालिका कतिको सहकारीमैत्री छ, स्थानीय सरकारले सहकारीलाई कतिको प्राथमिकतामा राखेर काम गरेको छ त ?
विगतमा हरेक महिनाको ७ गतेभन्दा अगाडि डिभिजन सहकारी कार्यालयमा प्रतिवेदन पेश गर्न जान्थ्यौं । २०७२ को संविधानले स्थानीय निकायमै हुने भनेपछि, सहकारी संस्थाहरूको नियमन अनुगमन गर्न स्थानीय निकायलाई नै गर्ने अधिकार प्रत्यायन गर्नु सङ्घीयताको राम्रो, राम्रो पक्ष हो । हाम्रो नगरपालिकाको हिसाबमा हेर्नुपर्दा, शुरूमा सहकारी शाखामा बस्ने कर्मचारीहरू पनि त सहकारी नै पढेर आएको त हुँदैन, सहकारी भन्ने विषयलाई कुनै पनि युनिभर्सिटीले अथवा यो सिटिइभिटीको कोर्सहरूमा छैन, पछिल्लो चरणमा नेफ्स्कून सहकारी महासंघहरूले कोर्सहरू बनाएर ६ देखि ७ सय घन्टे कोर्सहरू बनाएर पढाउन लाग्नु भएको छ,त्यो राम्रो कुरा हो । तर निजामती कर्मचारीहरू, अब नेपालको संविधान पढेर आउनेहरूलाई सहकारी भने त्यति थाहा हुँदैन । शुरू–शुरूमा हामीलाई धेरै गाह्रो भएको थियो । नियमन गर्ने कुर्सीमै बस्ने कर्मचारीले हामीलाई सिकाउनुपर्नेमा हामीले उहाँहरूलाई सिकाउनुपर्ने अवस्था जस्तो थियो । कुनै समयमा विनियम संशोधन लगायतका कुराहरूमा हामीले समस्या झेल्नु परेको थियो । हामीले विनियम पुनःलेखन गर्दाखेरि निवेदन पेस गरेको ८–९ महिनापछि मात्र स्वीकृत भएको अनुभव पनि छ ।
अब हामीले बुझेअनुसार यस नगरपालिकामा अहिलेसम्ममा तीन जना सहकारी शाखामा कर्मचारीहरू प्रमुख भएर आउनुभएको थियो । शुरूमा आउने सर हाम्रोमा एकचोटि सहकारीको वार्षिक साधारणसभाको दिनमा आउनुभयो, अनुगमन गर्ने र कागजातहरू चेकजाँच गर्ने भनेर आउनै भएन । दोस्रो पटक एक जना म्याम आउनु भएको थियो । त्यही समयमा हामीले संस्थाको विनियम स्वीकृतको लागि निवेदन दिएका थियौं । त्यसका लागि संघ, प्रदेश र अन्य स्थानीय निकायहरुको कानुन अध्ययन गर्नुभयो र यहाँबाट जाँदा उँहा सहकारीको विज्ञ जस्तै भएर जानु भयो । अहिले एक जना सर आउनु भएको छ । उहाँसग मेरो भेट भएको छैन । नगर प्रमुख, उपप्रमुख लगायतले हामीलाई वित्तीय अनुशासनमा चलेको संस्था भन्नु भएको छ । संस्थाले आयोजना गर्ने थुप्रै कार्यक्रममा उहाँहरु आउनु भएको छ । जुन बेला नगरपालिकाले सहकारीको अधिकार प्राप्त गर्यो, त्यो बेलादेखिको हेर्ने हो भने पहिलो पटक सहकारीको अनुगमन गर्ने भनेको छ । यो सबल पक्ष हो ।
नगरपालिकाले आफ्नो मातहतमा रहेका सहकारी संस्था मध्ये कुन सुशासनमा चलेको छ, त्यसका पदाधिकारीहरूलाई बोलाएर छलफल गर्नुपर्ने हुन्छ । चार–पाँच महिना अगाडि नरपालिकाले एउटा बैठक आयोजना गरेको थियो । त्यो बैठकमा धेरै सहकारीकर्मीको उपस्थित रहेको थियो । हाम्रो नगरपालिकामा ८६ वटा सहकारी छन् । तीमध्ये १२ वटा जति निष्क्रिय होलान् । यस नगरपालिकामा पनि केहि सहकारी संस्थामा तरलताको समस्या देखिएको छ । सहकारी भनेको ठग हो, भाग्ने संस्था हो, हाम्रो पैसा लिएर खाएर रमाइलो गर्ने हो भन्ने खालको टीकाटिप्पणी गर्दा हामी दिनरात नभनी थोरै तलबमा काम गरिरहेको कर्मचारीहरूलाई उत्प्रेरणा नहुने रहेछ ।
ऋण लगानीको प्रोसेस कस्तो हुन्छ, व्यवस्थापकको अधिकार के हो, अध्यक्षको काम कर्तव्य के हो भन्ने खालको कुरायो क्षेत्रमा संलग्न नभएकालाई थाह हुन्न । अहिलेत सामाजिक सञ्जालमा कसैले केही लेख्दियो भने कमेन्ट गर्दे पुग्छ । हामी नीति–नियममा चलिरा छौँ भनेर देखाइराखौँ । सेयर सदस्यहरूसँग हामीले राम्रो व्यवहार गरेर, नीतिअनुसारको कुराहरू गर्यो भने भोलि गएर उनीहरुले नै छरछिमेकीलाई सुनाउँदा संस्थालाई राम्रो हुन्छ । अहिले हाम्रो स्ट्रटेजी पनि त्यो पनि हो,सदस्य मार्फत् नै संस्थाको बारेमा अरुहरुलाई जानकारी दिने रहेको छ ।
नीति नियम अनुसार संस्था सञ्चाला हुँदा कतिपय सहकारीले कति लामो समय लगाएको र झन्झटिलो प्रोसेस भनेर गुनासो गर्छन् । हामीले २०–२२ वटा वटा कार्य विधि बनाएर संस्थाको कारोबार सञ्चालन गर्दै आएको अवस्था छ ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई व्यवस्थित गर्न चालेको कदम तपाईलाई कस्तो लागेको छ ?
दक्षिणकाली नगरपालिकामा सहकारी प्राधिकरणबाट इजाजत प्राप्त गर्ने पहिलो संस्था हामी हो । अधिराज्यभरको १७७ नम्बरको संस्था टल्कु हो । शुरूमा त हामी फस्ट भयौँ भनेर खुशी लागेको थियो । प्राधिकरणको गठन गर्नुभन्दा अगाडि विषयगत सङ्घहरूले, केन्द्रीय सङ्घले आयोजना गर्ने विभिन्न समिट तथा गोष्ठीहरूमा सहभागी हुँदै गदा प्राधिकरणले विधिवत रूपमा सबै प्रक्रिया पूरा गरी लगानी गरेको ऋण असुली गरिदिन्छ भन्ने मैले सुनेको थिए ।
तर पछिल्लो समय सहकारी विभागले एकथरी त राष्ट्रिय सहकारी नियमन प्राधिकरणले अर्कै निर्देशन जारी गर्ने गरेको छ । प्राधिकरणले सहकारी क्षेत्रको अनुगमन, नियमन, दर्ता स्वीकृति र दर्ता खारेजी लगायतका सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने गरी एउटा मात्र निकायलाई जिम्मा दिनुपथ्र्यो । गत असोजको १३ गते एउटा निर्देशन प्राधिकरणले व्यवस्थापक र सञ्चालकको योग्यता यति हुनपर्छ भनेर सूचना निकालेको छ । सो सूचनामा असोज मसान्तभित्र सहकारी संस्थाको लाइसेन्स नविकरण गर्नुपर्ने उल्लेख छ । लाइसेन्स नविकरणका लागि फिट एण्ड प्रपर टेष्ट पुरा गरेको हुनुपर्ने व्यवस्था छ । यसका लागि प्रहरी रिपोर्ट र कर्जा सूचना केन्द्रबाट कालो सूचीमा परे नपरेको प्रमाणित गर्नु पर्ने हुन्छ । तर सबै सहकारी संस्थाले एकै पटक लाइसेन्स नविकरण गर्नुपर्ने भएकाले प्रहरीबाट रिपोर्ट ल्याउन निकै समस्या भएको छ भने कर्जा सूचनाले त अहिलेसम्म प्रमाणित नै गर्न भ्याएको छैन ।
कर्जा सूचना केन्द्रमा पनि फोन गर्दा दुई–तीन दिनमा आउँछ भन्नुभएको थियो । अहिले धेरै चाङ बढेको छ, सीआईबीको क्रेडिट इन्फर्मेसन ब्युरोको जुन वेबसाइट खोल्दाखेरि जुन लिस्ट हुन्छ, त्यो लिस्टमा नाम भएकाहरूको नवीकरण गराइदिनु भनेको केन्द्रले जानकारी दिएको छ । यस नगरपालिकामा ८६ वटा मध्ये ७ वटाको मात्र इजाजत आएको छ । कतिपय संस्था प्रोसेसमा होलान् । प्रोसेसमा भएका सहकारीलाई कर्जा सूचना केन्द्र र पुलिस रिपोर्ट चाहिन्छ भनेर थाह छैन । अर्कोतर्फ सहकारीको नियामक धेरै भए । कसको निर्देशन र मापदण्ड पालना गर्ने भन्नेमा हामीलाई अन्यौलता त्याएको छ ।
नेफ्स्कूनले बचत तथा ऋण सहकारीको छुट्टै ऐन माग गर्दै आएको छ । अहिले प्राधिकरण ऐन ल्याउने कुरा आएको छ । सो ऐन ल्याउनुभन्दा बहुउद्देश्यीय, कृषि लगायत ५० प्रतिशतभन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई बचत ऋणको नाममा परिवर्तन गर्नुपर्यो । हैन भने बचत तथा ऋण, ऋणको मुख्य कारोबार गर्ने सहकारीको लागि मात्र भनेर छुट्टै ऐन बनाइदिनपर्यो । हामी पनि कुरा उठाउँछौँ सबैले यो कुरा उठाउनुपर्छ जस्तो लाग्छ । अनुगमनको लागि प्राधिकरणसँग प्रयाप्त जनशक्ति नभएको अवस्थामा स्थानीय निकायको सहकारी शाखाको कर्मचारीहरूलाई सो सम्बन्धी प्रशिक्षणहरू दिएर गरियो भने अझै व्यावहारिक हुन्छ ।