कुनै पनि देशको अर्थतन्त्रको प्रगतिशील रूपान्तरण केवल उत्पादन र राष्ट्रिय आय वृद्धि गर्ने प्राविधिक विषय होइन। यो मूलतः विद्यमान उत्पादन सम्बन्ध, सम्पत्तिको स्वामित्व, आर्थिक शक्ति र वर्गीय शोषणको संरचनालाई परिवर्तन गर्ने ऐतिहासिक प्रक्रिया हो। अर्थतन्त्रको विकास कसका लागि, कसको स्वामित्वमा र कसको हितमा भइरहेको छ भन्ने प्रश्नले नै त्यसको प्रगतिशील चरित्र निर्धारण गर्दछ। त्यसैले मार्क्सवादी दृष्टिकोणमा आर्थिक विकासको वास्तविक मापदण्ड राष्ट्रिय उत्पादनको परिमाण मात्र नभई उत्पादनका साधनमाथिको स्वामित्व, श्रमको प्रतिफलको न्यायोचित वितरण, वर्गीय असमानताको अन्त्य र जनताको जीवनस्तरमा आएको वास्तविक परिवर्तन हो।
यस दृष्टिकोणबाट कमरेड पुष्पलालले अघि सार्नुभएको आर्थिक चिन्तन नेपाली समाजको प्रगतिशील रूपान्तरणका लागि आज पनि अत्यन्त महत्त्वपूर्ण वैचारिक आधार हो। उहाँको आर्थिक कार्यक्रमको केन्द्रीय अभिप्राय सामन्ती उत्पादन सम्बन्ध र साम्राज्यवादी आर्थिक परनिर्भरताको अन्त्य गर्दै राष्ट्रिय अर्थतन्त्रको स्वतन्त्र, उत्पादनमुखी र जनपक्षीय विकास गर्नु थियो। यसका लागि उहाँले मुख्यतः क्रान्तिकारी भूमिसुधार, विदेशी पुँजीको राष्ट्रियकरण, राष्ट्रिय औद्योगीकरण र उत्पादनका आधारभूत साधनमाथि राज्यको प्रभावकारी नियन्त्रणलाई विशेष महत्त्व दिनुभएको थियो।
यी कार्यक्रमहरू कुनै अलग-अलग सुधारका विषय थिएनन्। यिनको समग्र उद्देश्य कृषि र उद्योगको विकास, राष्ट्रिय पुँजीको निर्माण, रोजगारीको विस्तार, जनताको क्रयशक्ति वृद्धि, आर्थिक परनिर्भरताको अन्त्य र समाजवादको भौतिक आधार तयार गर्नु थियो।
१. क्रान्तिकारी भूमिसुधार : आर्थिक रूपान्तरणको पहिलो आधार
पुष्पलालको आर्थिक दृष्टिकोणमा क्रान्तिकारी भूमिसुधारको विशेष स्थान रहेको छ। नेपाली समाजको ऐतिहासिक संरचनामा जमिन उत्पादनको प्रमुख साधन थियो र त्यसको स्वामित्व सीमित सामन्ती तथा जमिनदार वर्गमा केन्द्रित थियो। वास्तविक उत्पादन गर्ने किसान भने भूमिहीनता, अधियाँ, बटैया, उच्च ब्याज, ऋणशोषण र विभिन्न प्रकारका सामन्ती उत्पीडनबाट ग्रसित थिए। यस्तो अवस्थामा कृषि उत्पादनको विकास र ग्रामीण समाजको प्रगतिशील रूपान्तरण सम्भव थिएन।
त्यसैले जमिन जोत्ने किसानलाई जमिनको स्वामित्व प्रदान गर्नु, सामन्ती जमिनदारी सम्बन्ध अन्त्य गर्नु र कृषि उत्पादनमा संलग्न वास्तविक श्रमजीवी जनताको आर्थिक अधिकार स्थापित गर्नु उहाँको भूमिसुधार कार्यक्रमको मूल मर्म थियो।
उहाँको नयाँ जनवादी कार्यक्रमले सामन्ती शोषक वर्गको जमिन तथा कृषि औजार बिना मुआब्जा जफत गरी भूमिहीन तथा गरिब किसानलाई निःशुल्क वितरण गर्ने, जमिनमा हदबन्दी कायम गर्ने, जमिनदारी प्रथा अन्त्य गर्ने, जोताहाको हक स्थापित गर्ने र गुठी तथा अन्य सामन्ती प्रकृतिका भूमि सम्बन्धको पुनर्गठन गर्ने प्रस्ताव अघि सारेको थियो। यसका साथै तमसुक जाँच आयोग गठन गरी अन्यायपूर्ण ऋण खारेज गर्ने, किपट प्रथाको अन्त्य गर्ने, बाँझो तथा पर्ती कृषियोग्य जमिन भूमिहीन किसानलाई उपलब्ध गराउने र कृषि मजदुरको जीवनयापनयोग्य ज्यालाको व्यवस्था गर्ने विषय पनि समेटिएका थिए।
यस कार्यक्रमको उद्देश्य जमिनको स्वामित्व परिवर्तनमा मात्र सीमित थिएन। यसको लक्ष्य कृषि उत्पादन सम्बन्धलाई सामन्ती शोषणबाट मुक्त गरी उत्पादनशील, न्यायपूर्ण र आधुनिक बनाउनु थियो।
आजको नेपाली कृषि अर्थतन्त्रलाई हेर्दा भूमिसुधारको प्रश्न अझ नयाँ र व्यापक रूपमा उपस्थित भएको छ। एकातिर साना तथा खण्डित खेतीयोग्य जमिन, भूमिहीनता, मोही तथा कृषि श्रमिकका समस्या छन् भने अर्कोतिर खेतीयोग्य जमिन बाँझिने, कृषिमा युवा जनशक्तिको अभाव हुने, कृषि उत्पादन लागत बढ्ने र खाद्यान्न तथा कृषि उपजको आयात बढ्ने प्रवृत्ति छ।
त्यसैले आजको भूमिसुधारलाई जमिन वितरणको परम्परागत प्रश्नमा मात्र सीमित गर्न मिल्दैन। यसलाई वैज्ञानिक भू-उपयोग नीति, जमिनको न्यायोचित पुनर्वितरण, सहकारी तथा सामूहिक खेती, आधुनिक कृषि प्रविधि, सिँचाइ, उन्नत बीउ, मल, कृषि औजार, भण्डारण, प्रशोधन, कृषि ऋण, बीमा र उत्पादनको सुनिश्चित बजारसँग जोड्नुपर्छ।
कृषिको आधुनिकीकरणका नाममा किसानलाई आफ्नो जमिनबाट विस्थापित गर्ने वा जमिनलाई सीमित पुँजीपतिहरूको नाफा आर्जन गर्ने साधन बनाउने प्रवृत्तिको विरोध गर्दै वास्तविक उत्पादक किसानको स्वामित्व, सहभागिता र आर्थिक हित सुरक्षित गर्नुपर्छ। सहकारी तथा सामूहिक खेतीलाई पनि स्वैच्छिक सहभागिता, लोकतान्त्रिक व्यवस्थापन र उत्पादकहरूको वास्तविक हितमा आधारित बनाउनुपर्छ।
यसरी मात्र कृषिलाई निर्वाहमुखी र परम्परागत अवस्थाबाट उत्पादनमुखी, आत्मनिर्भर र राष्ट्रिय औद्योगीकरणको आधारका रूपमा विकसित गर्न सकिन्छ।
२. राष्ट्रिय पुँजीको विकास र विदेशी पुँजीको नियन्त्रण
पुष्पलालको आर्थिक कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्ष विदेशी पुँजीको राष्ट्रियकरण र राष्ट्रिय पुँजीलाई नियन्त्रित तथा नियोजित रूपमा परिचालन गर्नु थियो। यसको ऐतिहासिक पृष्ठभूमि नेपालमाथिको साम्राज्यवादी आर्थिक प्रभाव, विदेशी एकाधिकार पुँजीको प्रभुत्व र राष्ट्रिय उत्पादन प्रणालीको अविकाससँग सम्बन्धित थियो।
कुनै पनि देशको आर्थिक स्वाधीनता त्यस देशको उत्पादन, वित्त, व्यापार, प्राकृतिक स्रोत र आधारभूत आर्थिक संरचनामाथि आफ्नै जनताको प्रभावकारी नियन्त्रण कति छ भन्ने कुरामा निर्भर गर्दछ। राजनीतिक स्वतन्त्रता प्राप्त भए पनि अर्थतन्त्र विदेशी वित्तीय पुँजी, प्रविधि, बजार र एकाधिकारको नियन्त्रणमा रह्यो भने वास्तविक राष्ट्रिय स्वाधीनता अपूर्ण रहन्छ।
यसैले पुष्पलालले राष्ट्रिय हितविपरीत परिचालित विदेशी पुँजीको राष्ट्रियकरण, आधारभूत उद्योग तथा वित्तीय संस्थाको राजकीय सञ्चालन र राष्ट्रिय पुँजीलाई देशको औद्योगीकरणमा लगाउने नीति अघि सार्नुभएको थियो।
उहाँको आर्थिक कार्यक्रममा बैंक, ऋणप्रदायक संस्था, यातायात, सञ्चार र आधारभूत उद्योगलाई राजकीय क्षेत्रमा सञ्चालन गरी तिनमा सार्वजनिक क्षेत्रको प्रभुत्व कायम गर्ने अवधारणा थियो। विदेशमा लगानी गरिएको पुँजी स्वदेशमा फर्काउने, राष्ट्रिय उद्योगमा लगानी गर्न राष्ट्रिय पुँजीपतिलाई प्रोत्साहित गर्ने र आवश्यक कच्चा पदार्थ, पुँजी तथा बजारको व्यवस्था गर्ने जिम्मेवारी राज्यले लिनुपर्ने कुरासमेत उल्लेख थियो।
यसको अर्थ राष्ट्रिय पुँजीको विकासलाई अनियन्त्रित निजी नाफाको प्रक्रियामा छाड्नु होइन। राष्ट्रिय उत्पादन, रोजगारी, प्रविधि विकास र आर्थिक स्वाधीनताको लक्ष्यअनुरूप त्यसलाई नियन्त्रित, निर्देशित र योजनाबद्ध रूपमा परिचालन गर्नु हो।
आजको परिस्थितिमा यो प्रश्न झन् गम्भीर बनेको छ। विश्व पुँजीवाद वित्तीय पुँजी, डिजिटल एकाधिकार, बहुराष्ट्रिय कम्पनी र अन्तर्राष्ट्रिय वित्तीय संस्थाको प्रभावमा अघि बढिरहेको छ। ऋण, लगानी, प्रविधि, व्यापार र बौद्धिक सम्पत्तिमाथिको नियन्त्रणमार्फत कमजोर अर्थतन्त्र भएका देशहरूलाई परनिर्भर बनाउने प्रवृत्ति बढिरहेको छ।
नेपालमा पनि उत्पादनशील लगानीको तुलनामा व्यापार, आयात, घरजग्गा, उपभोग र अनुत्पादक क्षेत्रमा पुँजी केन्द्रित हुने प्रवृत्ति देखिन्छ। राष्ट्रिय उद्योग कमजोर छन्, वित्तीय स्रोतको ठूलो हिस्सा उत्पादनशील क्षेत्रमा पर्याप्त रूपमा परिचालित हुन सकेको छैन र वैदेशिक व्यापारको असन्तुलन गम्भीर छ।
त्यसैले आज विदेशी लगानीको प्रश्नलाई अन्ध समर्थन वा अन्ध विरोधका रूपमा होइन, राष्ट्रिय हित र आर्थिक स्वाधीनताको कसौटीमा मूल्याङ्कन गर्नुपर्छ। प्रविधि हस्तान्तरण, रोजगारी सिर्जना, निर्यात वृद्धि, स्थानीय उत्पादनको विकास र राष्ट्रिय क्षमताको विस्तारमा योगदान पुर्याउने वैदेशिक लगानीलाई स्पष्ट सर्त र सार्वजनिक नियमनभित्र उपयोग गर्न सकिन्छ। तर प्राकृतिक स्रोत, रणनीतिक उद्योग, वित्तीय प्रणाली र राष्ट्रिय सुरक्षामाथि बाह्य एकाधिकार कायम गर्ने लगानी तथा सम्झौताको विरोध गर्नुपर्छ।
राष्ट्रियकरणको ऐतिहासिक सिद्धान्तलाई आजको सन्दर्भमा सार्वजनिक स्वामित्व, सार्वजनिक नियमन, रणनीतिक क्षेत्रमाथि राष्ट्रिय नियन्त्रण र जनताको हितमा आर्थिक स्रोत परिचालन गर्ने नीतिसँग जोडेर बुझ्न आवश्यक छ।
३. राष्ट्रिय औद्योगीकरण : आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड
पुष्पलालको आर्थिक चिन्तनमा राष्ट्रिय औद्योगीकरणलाई विशेष महत्त्व दिइएको थियो। उहाँको बुझाइमा सामन्ती उत्पादन सम्बन्धको अन्त्य र राष्ट्रिय पुँजीको विकासपछि देशलाई औद्योगिक अर्थतन्त्रको दिशामा अघि बढाउनु आवश्यक हुन्छ।
कृषिको विकास र औद्योगीकरण परस्पर पूरक प्रक्रिया हुन्। कृषि उत्पादन बढेपछि उद्योगका लागि कच्चा पदार्थ, श्रमशक्ति र बजारको आधार तयार हुन्छ। उद्योगको विकासले कृषिका लागि आवश्यक औजार, मल, प्रविधि, प्रशोधन तथा भण्डारणका साधन उपलब्ध गराउँछ। यसले कृषिको उत्पादकत्व बढाउँछ र ग्रामीण अर्थतन्त्रलाई गतिशील बनाउँछ।
यसरी कृषि र उद्योगबीचको अन्तरसम्बन्धले राष्ट्रिय उत्पादन प्रणालीको विकास गर्दछ। तर आयातमा आधारित व्यापार र उपभोगलाई नै आर्थिक विकास ठान्ने प्रवृत्तिले यो आधार तयार गर्न सक्दैन।
पुष्पलालले राष्ट्रिय उद्योगधन्दाको विकासका लागि राज्यको सक्रिय भूमिका, राष्ट्रिय पुँजीको परिचालन, आधारभूत उद्योगको स्थापना तथा ग्रामीण र सहरी क्षेत्रमा कुटीर उद्योग, हस्तकला, शिल्पकला र दस्तकारीको प्रवर्द्धनमा जोड दिनुभएको थियो। जमिनदारीबाट मुक्त भएका भूमिपतिलाई राष्ट्रिय उद्योगधन्दामा लगानी गर्न प्रोत्साहित गर्ने र उद्योगका लागि आवश्यक कच्चा पदार्थ, पुँजी तथा बजारको व्यवस्था राज्यले गर्नुपर्ने अवधारणा पनि यसैसँग सम्बन्धित थियो।
आज नेपालका लागि राष्ट्रिय औद्योगीकरणको अर्थ ठूला कारखाना स्थापना गर्नु मात्र होइन। कृषि उत्पादनमा आधारित उद्योग, खाद्य प्रशोधन, जडीबुटी प्रशोधन, औषधि उत्पादन, कृषि औजार, निर्माण सामग्री, ऊर्जा उपकरण, सूचना प्रविधि, विद्युतीय सामग्री तथा साना र मझौला उद्योगको सञ्जाल विकास गर्नु पनि हो।
हामीसँग जलस्रोत, वन, जडीबुटी, कृषि उत्पादन, खनिज सम्भावना र दक्ष तथा अदक्ष श्रमशक्ति छ। तर यी स्रोतलाई देशभित्रै मूल्य अभिवृद्धि हुने गरी परिचालन गर्न नसक्दा कच्चा पदार्थ र श्रम निर्यात गर्ने तथा तयारी वस्तु आयात गर्ने अर्थतन्त्रको चक्रबाट मुक्त हुन सकिएको छैन।
यस अवस्थाको अन्त्यका लागि राष्ट्रिय औद्योगिक नीति, सार्वजनिक तथा सहकारी लगानी, राष्ट्रिय उद्यमशीलताको विकास, अनुसन्धान तथा प्रविधि हस्तान्तरण, उत्पादनमुखी ऋण र सुनिश्चित बजारको व्यवस्था गर्नुपर्छ। उद्योग स्थापना गर्नु मात्र पर्याप्त हुँदैन; तिनको उत्पादन प्रतिस्पर्धी, गुणस्तरीय र दिगो बनाउने आधार पनि तयार गर्नुपर्छ।
४. आम विद्युतीकरण र ऊर्जा आत्मनिर्भरता
कृषि र औद्योगीकरणको विकासका लागि ऊर्जा अपरिहार्य हुन्छ। यही कारणले कृषि, उद्योग र विद्युत्लाई एउटै आर्थिक रूपान्तरणको एकीकृत कार्यक्रमका रूपमा बुझ्नुपर्छ।
नेपाल जलविद्युत्को दृष्टिले सम्भावनायुक्त देश हो। तर विद्युत् उत्पादनको सम्भावना हुनु र त्यसबाट राष्ट्रिय अर्थतन्त्रको औद्योगिक रूपान्तरण हुनु एउटै कुरा होइन। विद्युत् उत्पादनसँगै त्यसको सुलभ वितरण, ग्रामीण विद्युतीकरण, सिँचाइ, कृषि प्रशोधन, उद्योग, यातायात र घरेलु उत्पादनमा उपयोग बढाउनुपर्छ।
आम विद्युतीकरणको अर्थ प्रत्येक नागरिक र उत्पादन केन्द्रसम्म भरपर्दो तथा सुलभ ऊर्जा पहुँच पुर्याउनु हो। विद्युत्लाई केवल निर्यातयोग्य वस्तु वा राजस्वको स्रोतका रूपमा होइन, राष्ट्रिय उत्पादन शक्ति विकास गर्ने रणनीतिक साधनका रूपमा उपयोग गर्नुपर्छ।
ऊर्जा क्षेत्रमा सार्वजनिक हित र राष्ट्रिय नियन्त्रण कायम गर्दै जलविद्युत्, सौर्य, वायु तथा अन्य नवीकरणीय ऊर्जाको सन्तुलित विकास आवश्यक छ। आयोजना निर्माण गर्दा स्थानीय समुदायको अधिकार, वातावरणीय सन्तुलन, लाभको न्यायोचित वितरण र राष्ट्रिय हित सुनिश्चित गर्नुपर्छ।
यसरी क्रान्तिकारी भूमिसुधार, राष्ट्रिय औद्योगीकरण र आम विद्युतीकरणलाई एउटै एकीकृत प्याकेजका रूपमा अघि बढाउँदा मात्र कृषि, उद्योग र ऊर्जा क्षेत्रबीच उत्पादनशील सम्बन्ध स्थापित हुन सक्छ।
५. श्रमिक वर्गको अधिकार र सामाजिक न्याय
कुनै पनि प्रगतिशील अर्थव्यवस्थाको केन्द्रमा श्रमिक वर्गको हित र सम्मान हुनुपर्छ। उत्पादनको वास्तविक आधार श्रम हो। तर उत्पादन प्रक्रियामा श्रमिकको योगदानअनुसार प्रतिफल, सुरक्षा र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित भएन भने आर्थिक विकासको लाभ सीमित वर्गमा केन्द्रित हुन्छ।
पुष्पलालको नयाँ जनवादी आर्थिक कार्यक्रममा श्रमिकहरूलाई समान कामको समान ज्याला, जीवनयापनयोग्य पारिश्रमिक, कामको समय क्रमशः घटाउने व्यवस्था, सुरक्षित कार्यस्थल, स्वास्थ्योपचार, आवास, प्राविधिक तालिम तथा बालबालिकाको शिक्षाको व्यवस्था गर्नुपर्ने कुरा समेटिएको थियो।
महिला श्रमिकलाई समान कामको समान ज्याला, प्रसूति बिदा र अन्य सामाजिक सुरक्षाको व्यवस्था तथा बालश्रमको अन्त्यलाई पनि उहाँले महत्त्व दिनुभएको थियो। काम गर्दा अंगभंग भएका श्रमिकलाई विशेष सहयोग र जीवन निर्वाहको सुनिश्चितता गर्नुपर्ने प्रस्तावसमेत थियो।
आजको सन्दर्भमा यी प्रश्नलाई अझ व्यापक बनाउनुपर्छ। औपचारिक क्षेत्रका श्रमिकसँगै अनौपचारिक क्षेत्र, निर्माण, यातायात, कृषि, घरेलु श्रम, सेवा क्षेत्र र वैदेशिक रोजगारीमा रहेका श्रमिकका अधिकार पनि सुनिश्चित गर्नुपर्छ।
प्रविधि र कृत्रिम बुद्धिमत्ताको विकासले श्रमको प्रकृति परिवर्तन गरिरहेको छ। यसबाट उत्पादकत्व बढाउने अवसरसँगै रोजगारी विस्थापन, श्रम असुरक्षा र डिजिटल एकाधिकारका चुनौती पनि बढिरहेका छन्। त्यसैले प्रविधिको लाभ केही कम्पनी र पुँजीपतिमा मात्र केन्द्रित हुन नदिई श्रमिकको कार्यसमय, पारिश्रमिक, सामाजिक सुरक्षा र जीवनस्तर सुधारमा उपयोग गर्नुपर्छ।
श्रमिकलाई केवल उत्पादनको साधनका रूपमा होइन, अर्थतन्त्र र समाजको रूपान्तरणका सक्रिय निर्माता तथा निर्णय प्रक्रियाका सहभागीका रूपमा स्थापित गर्नु नै प्रगतिशील आर्थिक व्यवस्थाको आधार हो।
६. व्यापार विविधीकरण र राष्ट्रिय आर्थिक स्वाधीनता
पुष्पलालले राष्ट्रिय अर्थतन्त्रको विकासलाई अन्तर्राष्ट्रिय व्यापार सम्बन्धबाट अलग राख्नुभएको थिएन। उहाँले देशगत तथा वस्तुगत व्यापार विविधीकरण, समानता र पारस्परिक लाभमा आधारित अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय हितअनुकूल व्यापार नीतिको आवश्यकता औंल्याउनुभएको थियो।
कुनै एउटा देश, बजार वा शक्तिमा अत्यधिक निर्भर अर्थतन्त्र दीर्घकालीन रूपमा स्वाधीन रहन सक्दैन। त्यसैले व्यापारिक सम्बन्ध विविधीकरण गर्नु, निर्यातयोग्य वस्तुको उत्पादन बढाउनु, आयात प्रतिस्थापन गर्न सकिने वस्तु देशभित्र उत्पादन गर्नु र अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धलाई पारस्परिक लाभ तथा समानताको सिद्धान्तमा आधारित बनाउनु आवश्यक हुन्छ।
आजको बहुध्रुवीय विश्वमा नेपालले छिमेकी तथा अन्य सबै देशसँग सन्तुलित, स्वतन्त्र र राष्ट्रिय हितमा आधारित आर्थिक सम्बन्ध विस्तार गर्नुपर्छ। कुनै पनि शक्ति केन्द्रको सामरिक तथा आर्थिक स्वार्थको परिधिमा सीमित नभई आफ्नो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध परिचालन गर्नुपर्छ।
यसका साथै व्यापार घाटा घटाउने, उत्पादनको गुणस्तर बढाउने, निर्यात बजार विस्तार गर्ने र विदेशमा रहेका नेपाली श्रमिक तथा पुँजीको सीप, ज्ञान र स्रोतलाई राष्ट्रिय उत्पादनमा उपयोग गर्ने नीति आवश्यक छ।
७. राज्यको भूमिका र योजनाबद्ध आर्थिक विकास
पुष्पलालको आर्थिक दृष्टिकोणको एउटा महत्त्वपूर्ण पक्ष राज्यको सक्रिय र योजनाबद्ध भूमिका हो। राष्ट्रिय अर्थतन्त्रको विकासलाई बजारको स्वतःस्फूर्त प्रक्रियामा मात्र छाड्न सकिँदैन। विशेषगरी कमजोर उत्पादन आधार, सीमित राष्ट्रिय पुँजी र बाह्य निर्भरता भएको देशमा राज्यले दीर्घकालीन राष्ट्रिय प्राथमिकता निर्धारण गरी आर्थिक स्रोत र साधनलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्छ।
यसको अर्थ सबै आर्थिक गतिविधि राज्यले नै सञ्चालन गर्नुपर्छ भन्ने होइन। सार्वजनिक, सहकारी, सामुदायिक र राष्ट्रिय निजी क्षेत्रको भूमिका स्पष्ट गर्दै राष्ट्रिय हितका आधारमा तिनलाई परिचालन गर्नुपर्छ। रणनीतिक तथा आधारभूत क्षेत्रहरूमा सार्वजनिक स्वामित्व र नियन्त्रण कायम गर्नुपर्छ भने अन्य उत्पादनशील क्षेत्रमा राष्ट्रिय उद्यमशीलता तथा सहकारी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्छ।
योजनाबद्ध विकासका लागि उत्पादन, रोजगारी, आयात प्रतिस्थापन, निर्यात, प्रविधि विकास र सामाजिक न्यायका स्पष्ट लक्ष्य निर्धारण गर्नुपर्छ। राज्यका नीति तथा बजेटको मूल्याङ्कन भाषण र घोषणाका आधारमा होइन, उत्पादन र जनजीवनमा आएको वास्तविक परिवर्तनका आधारमा हुनुपर्छ।
भ्रष्टाचार, कमिसनतन्त्र, दलाल पुँजीको प्रभाव, अनुत्पादक खर्च र सार्वजनिक सम्पत्तिको निजीकरणले राष्ट्रिय विकासको आधार कमजोर बनाउँछन्। त्यसैले आर्थिक रूपान्तरणसँगै सार्वजनिक उत्तरदायित्व, पारदर्शिता, जननिगरानी र संस्थागत जवाफदेहिताको व्यवस्था अनिवार्य छ।
८. आजको नेपालमा पुष्पलालको आर्थिक दृष्टिकोणको सामयिकता
आज नेपालको अर्थतन्त्र गम्भीर संरचनात्मक चुनौतीबाट गुज्रिरहेको छ। कृषि उत्पादनको कमजोर अवस्था, औद्योगिक आधारको सङ्कुचन, बढ्दो आयात निर्भरता, व्यापार घाटा, वैदेशिक ऋण तथा अनुदानमाथिको निर्भरता, उत्पादनशील रोजगारीको अभाव, युवाशक्तिको विदेश पलायन र रेमिट्यान्समा आधारित उपभोगमुखी अर्थतन्त्र यसका प्रमुख समस्या हुन्।
यसका साथै वित्तीय पुँजीको बढ्दो प्रभाव, प्राकृतिक स्रोतको दोहन, सार्वजनिक संस्थानहरूको कमजोर अवस्था र उत्पादन तथा वितरण प्रणालीमा दलाल तथा बिचौलिया प्रवृत्तिको प्रभुत्वले राष्ट्रिय अर्थतन्त्रलाई थप कमजोर बनाइरहेको छ।
यस परिस्थितिमा आर्थिक विकासको प्राथमिकता पुनर्निर्धारण गर्न आवश्यक छ। हाम्रो लक्ष्य केवल आर्थिक वृद्धिदर बढाउनु वा विदेशी लगानी भित्र्याउनु हुनुहुँदैन। देशभित्रै उत्पादन क्षमता, रोजगारी, प्रविधि, राष्ट्रिय पुँजी र जनताको क्रयशक्ति बढाउनु मुख्य उद्देश्य हुनुपर्छ।
यसका लागि निम्न कार्यक्रमलाई प्राथमिकतामा राख्न सकिन्छः
१. क्रान्तिकारी तथा वैज्ञानिक भूमिसुधार गरी भूमिहीन, सुकुम्बासी र वास्तविक उत्पादक किसानको अधिकार सुनिश्चित गर्ने तथा कृषि जमिनको उत्पादनशील उपयोग गर्ने।
२. कृषिको आधुनिकीकरण र आत्मनिर्भरता का लागि सिँचाइ, मल, बीउ, प्रविधि, कृषि ऋण, बीमा, भण्डारण, प्रशोधन र बजारको एकीकृत व्यवस्था गर्ने।
३. राष्ट्रिय औद्योगीकरण लाई प्राथमिकता दिई कृषि, ऊर्जा, जडीबुटी, खनिज तथा स्थानीय कच्चा पदार्थमा आधारित उद्योग विकास गर्ने।
४. आम विद्युतीकरण र ऊर्जा आत्मनिर्भरता मार्फत सस्तो, भरपर्दो ऊर्जा कृषि, उद्योग, यातायात र उत्पादन क्षेत्रमा उपयोग गर्ने।
५. राष्ट्रिय पुँजी र वित्तीय स्रोतको उत्पादनमुखी परिचालन गरी बैंक तथा वित्तीय प्रणालीलाई राष्ट्रिय उत्पादन, रोजगारी र उद्यमशीलताको विकाससँग जोड्ने।
६. आधारभूत तथा रणनीतिक क्षेत्रमा सार्वजनिक स्वामित्व र नियन्त्रण कायम गर्दै सार्वजनिक संस्थानहरूको पुनर्संरचना र प्रभावकारी सञ्चालन गर्ने।
७. श्रमिक तथा किसानको अधिकार सुनिश्चित गरी जीवनयापनयोग्य ज्याला, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा र आवासको व्यवस्था गर्ने।
८. व्यापार विविधीकरण र आयात निर्भरता न्यूनीकरण गर्दै राष्ट्रिय उत्पादनको गुणस्तर, प्रतिस्पर्धात्मक क्षमता र निर्यात विस्तार गर्ने।
९. प्रविधि, अनुसन्धान र मानव संसाधन विकास लाई राष्ट्रिय औद्योगीकरणसँग जोड्दै युवा जनशक्तिका लागि स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गर्ने।
१०. आर्थिक लोकतन्त्र र जननिगरानी स्थापित गर्दै उत्पादनका साधन, सार्वजनिक स्रोत र विकासको प्रतिफलमाथि श्रमजीवी जनताको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने।
यी कार्यक्रमलाई अलग-अलग मन्त्रालयका छरिएका परियोजनाका रूपमा होइन, कृषि, उद्योग, ऊर्जा, वित्त, श्रम र व्यापारलाई जोड्ने राष्ट्रिय आर्थिक रूपान्तरणको एकीकृत योजनाका रूपमा अघि बढाउनुपर्छ।
९. नयाँ जनवाददेखि वैज्ञानिक समाजवादसम्मको आर्थिक रूपान्तरण
पुष्पलालको आर्थिक दृष्टिकोणलाई उहाँले अघि सार्नुभएको नयाँ जनवादी क्रान्तिको कार्यक्रमबाट अलग गरेर बुझ्न सकिँदैन। नेपालको तत्कालीन अर्धसामन्ती तथा अर्धऔपनिवेशिक सामाजिक-आर्थिक संरचनाको रूपान्तरण गर्दै राष्ट्रिय स्वाधीनता, जनतन्त्र र सामाजिक न्यायको आधार निर्माण गर्नु नयाँ जनवादी कार्यक्रमको ऐतिहासिक उद्देश्य थियो।
यस प्रक्रियामा सामन्ती उत्पादन सम्बन्धको अन्त्य, राष्ट्रिय अर्थतन्त्रको विकास, विदेशी एकाधिकार पुँजीको नियन्त्रण र श्रमजीवी जनताको आर्थिक तथा राजनीतिक अधिकार स्थापना गर्नु अनिवार्य थियो। यसरी नयाँ जनवादी रूपान्तरणले वैज्ञानिक समाजवादतर्फ अघि बढ्ने भौतिक आधार तयार गर्ने अपेक्षा गरिएको थियो।
तर समाजवादको निर्माण केवल राजनीतिक घोषणाबाट वा संविधानमा समाजवाद लेखेर सम्भव हुँदैन। त्यसका लागि उत्पादनका साधनमाथिको स्वामित्व सम्बन्धमा वास्तविक परिवर्तन, उत्पादन शक्तिको विकास, श्रमिक वर्गको नेतृत्वदायी भूमिका, आर्थिक योजनाबद्धता, सामाजिक न्याय र जनताको सक्रिय सहभागिता आवश्यक हुन्छ।
आजको नेपाली समाजको वर्गीय तथा उत्पादन सम्बन्ध पनि पुष्पलालको समयको तुलनामा परिवर्तन भएको छ। त्यसैले उहाँका ऐतिहासिक कार्यक्रमलाई यान्त्रिक रूपमा दोहोर्याउनु होइन, तिनको वैज्ञानिक मर्म आत्मसात् गर्दै वर्तमान उत्पादन सम्बन्ध, वित्तीय पुँजीको प्रभुत्व, प्रविधिको विकास, विश्व अर्थतन्त्रको संरचना र नेपालको बदलिँदो वर्गीय अवस्थाको ठोस विश्लेषणका आधारमा नयाँ आर्थिक कार्यक्रम विकास गर्नु आवश्यक छ।
अन्ततः समाजवादको वास्तविक आधार उत्पादनको सामाजिक चरित्र, स्वामित्वको न्यायोचित पुनर्गठन, श्रमको सम्मान, आर्थिक लोकतन्त्र र जनताको जीवनमा आउने गुणात्मक परिवर्तन हो।
निष्कर्श : राष्ट्रिय स्वाधीनता र समाजवादको भौतिक आधार
कमरेड पुष्पलालको आर्थिक दृष्टिकोणको मूल सार राष्ट्रिय उत्पादन शक्तिको विकास, सामन्ती शोषणको अन्त्य, विदेशी एकाधिकार पुँजीको नियन्त्रण, राष्ट्रिय पुँजीको योजनाबद्ध परिचालन र श्रमजीवी जनताको आर्थिक अधिकारको स्थापना हो। उहाँले अघि सार्नुभएको क्रान्तिकारी भूमिसुधार, राष्ट्रिय औद्योगीकरण र आम विद्युतीकरणलाई एकीकृत आर्थिक कार्यक्रमका रूपमा बुझ्नु आज पनि उत्तिकै आवश्यक छ।
अर्थतन्त्रको वास्तविक प्रगति तब मात्र सम्भव हुन्छ, जब उत्पादनका साधन र आर्थिक स्रोत केही सीमित वर्गको नाफा आर्जन गर्ने माध्यम नभई व्यापक जनताको जीवनस्तर उकास्ने साधन बन्छन्। किसानले उत्पादनको उचित प्रतिफल पाउँछन्, श्रमिकले सम्मानजनक ज्याला र सुरक्षा पाउँछन्, राष्ट्रिय उद्योगले विकासको अवसर पाउँछन्, युवाले स्वदेशमै रोजगारी पाउँछन् र राज्यले राष्ट्रिय स्रोत तथा साधनलाई जनताको हितमा परिचालन गर्छ।
राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका प्रश्न पनि अर्थतन्त्रको यही रूपान्तरणसँग अभिन्न रूपमा जोडिएका छन्। उत्पादन र वितरणको संरचना परिवर्तन नगरी राष्ट्रिय स्वाधीनता पूर्ण हुन सक्दैन; श्रमजीवी जनताको आर्थिक अधिकार स्थापित नगरी जनतन्त्र सार्थक हुन सक्दैन; र उत्पादनका साधनमाथिको स्वामित्व तथा आर्थिक शक्तिको पुनर्गठन नगरी समाजवादको निर्माण सम्भव हुँदैन।
त्यसैले पुष्पलालको आर्थिक दृष्टिकोणलाई आजको नेपालको वस्तुगत यथार्थसँग जोडेर पुनर्विकसित गर्नु आवश्यक छ। यो विगतको स्मरण वा वैचारिक श्रद्धाञ्जलीको विषय मात्र होइन; राष्ट्रिय अर्थतन्त्रलाई परनिर्भर, दलालमुखी र उपभोगमुखी अवस्थाबाट उत्पादनमुखी, आत्मनिर्भर, न्यायपूर्ण र समाजवादी दिशामा रूपान्तरण गर्ने एउटा महत्त्वपूर्ण वैचारिक तथा कार्यक्रमिक आधार हो।
अन्ततः आर्थिक विकासको प्रश्न केवल देश कति धनी भयो भन्ने मात्र हाेइन, देशको सम्पत्ति कसले सिर्जना गर्छ, त्यसको स्वामित्व कसको हातमा छ र त्यसबाट लाभ कसले प्राप्त गर्छ भन्ने हो। यही प्रश्नको वैज्ञानिक र जनपक्षीय समाधान नै पुष्पलालको आर्थिक दृष्टिकोणको मूल मर्म हो।
(पुरानाे लेख परिमार्जन)
