शनिबार, मंसिर ५ गते २०८३

शेन्जेन शिखर सम्मेलनः ऐतिहासिक शान्ति घाेषणापत्रमा ट्रम्प, सी र पुटिनले भने ‘परमाणु युद्ध’ गर्दैनाैं


मंसिर ४, २०८३ शुक्रबार
शेन्जेन शिखर सम्मेलनः ऐतिहासिक शान्ति घाेषणापत्रमा ट्रम्प, सी र पुटिनले भने ‘परमाणु युद्ध’ गर्दैनाैं

काठमाडाैं । विश्वका तीन शक्तिशाली राष्ट्र अमेरिका, चीन र रुसका राष्ट्रप्रमुख पहिलो पटक एउटै टेबलमा बसेर औपचारिक त्रिपक्षीय शिखर बैठक गरेका छन् । बैठकपछि तीनै देशले अन्तर्राष्ट्रिय शान्ति, ऊर्जा सुरक्षा र आणविक जोखिम न्यूनीकरणलगायत विषय समेटिएको चारबुँदे घोषणापत्र जारी गरेका छन् ।

चीनको दक्षिणी सहर सेन्जेनस्थित किलिन भिल्लामा बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच करिब ८० मिनेट बैठक भएको हो । एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसरमा भएको यो बैठक तीनै देशका राष्ट्रप्रमुखबीचको पहिलो औपचारिक त्रिपक्षीय शिखर बैठक हो ।

बैठकपछि जारी ‘शान्तितर्फको घोषणापत्र’ मा तीनै देशले चार विषयमा साझा प्रतिबद्धता जनाएका छन् ।

घोषणापत्रमा संयुक्त राष्ट्रसंघलाई विश्वव्यापी चुनौतीको सामना गर्न सक्षम बनाउने गरी सुधार गर्ने, पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति बढाउने र अन्तर्राष्ट्रिय फौजदारी अदालतले आफ्नो क्षेत्राधिकारको दुरुपयोग गर्न नहुने उल्लेख छ ।

त्यस्तै, आणविक युद्ध कसैले जित्न नसक्ने र यस्तो युद्ध कहिल्यै लड्न नहुनेमा तीनै नेताले सहमति जनाएका छन् । आणविक जोखिम घटाउन र परमाणु हतियारको प्रसार रोक्न संवाद अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।

बैठकमा युक्रेन र इरानलगायतका अन्तर्राष्ट्रिय द्वन्द्वका विषयमा पनि छलफल भएको थियो । तर, ती विवाद समाधानका लागि कुनै ठोस सम्झौता वा कार्ययोजना सार्वजनिक भएको छैन ।

तीनै नेताले बैठकलाई अन्तर्राष्ट्रिय शान्ति र रणनीतिक स्थिरताका लागि महत्त्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरेका छन् । यद्यपि, जारी घोषणापत्रमा तत्काल कार्यान्वयन हुने विस्तृत योजना वा समयसीमा उल्लेख छैन ।

विश्वका तीन ठूला आणविक शक्ति राष्ट्रका नेताहरू एउटै मञ्चमा आएर साझा घोषणापत्र जारी गर्नु कूटनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ । तर, यसले युक्रेन र इरानजस्ता जारी द्वन्द्व समाधानमा कस्तो प्रभाव पार्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।