चीनका राष्ट्रपति सी चिनफिङले ताइवानलाई शान्तिपूर्ण रुपमा चीनमा पुनः एकिकरण गर्न चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) प्रतिवद्ध रहेको बताएका छन् ।
चिनियाँ जनताको साझा आकांक्षा र चिनियाँ राष्ट्रको पुनरुत्थानका लागि यो मिशन जरुरी रहेको उनले बताए ।चीनले ‘एक देश दुई प्रणाली’ नीतिअनुसार ताइवानलाई आफ्ना अभिन्न हिस्सा मान्छ । यद्यपी, सन् १९४९ मा जनगणतन्त्र चीन स्थापना भएदेखि नै त्यहाँ कम्युनिष्ट पार्टीको शासन छैन ।
ताइवानको सरकार र त्यहाँका सबै राजनीतिक पार्टीहरुले चीनको ‘एक देश दुई प्रणाली’ नीति अस्वीकार गर्दै आएका छन् । उनीहरुले ताइवान स्वतन्त्र देश रहेको दाबी गर्दै आएका छन् ।
बिहीबार संसद्मा सम्बोधन गर्दै सीले ताइवान प्रश्नको हल गर्नु र मातृभूमिको पूर्ण पुनरुत्थान हासिल गर्नु सीपीसीको अटल ऐतिहासिक मिशन रहेको बताए । उनले ताइवान देश–विदेश तथा ताइवान जलमार्गका दुबै किनारमा बस्ने मानिसहरुले पृथकतावादी कार्यहरुको विरोध गर्नुपर्ने बताए ।
कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले सन यातसेनको १६० औँ जन्मजयन्तीका अवसरमा बेइजिङमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन् ।
सन् १८६६ मा जन्मिएका सनले हजारौँ वर्षदेखि चीनमा शासन गर्दै आएको राजतन्त्रको अन्त्य गर्ने सन् १९११ को क्रान्तिको नेतृत्व गरेका थिए । उनको सन् १९२५ मा निधन भएको थियो ।
ग्रेट हल अफ द पिपलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सीले सनलाई एक महान् राष्ट्रिय नायक, महान् देशभक्त र चीनको प्रजातान्त्रिक क्रान्तिका महान् अग्रगामी भन्दै उच्च प्रशंसा गरे । चिनियाँ कम्युनिष्टहरू सनले थालेको क्रान्तिकारी उद्देश्यका सबैभन्दा दृढ समर्थक, निष्ठावान् सहयोगी र वफादार उत्तराधिकारी भएको सीले बताए ।
सीले सबै चिनियाँ जनतालाई सनबाट सिक्न र सबल तथा समृद्ध चीनका लागि देशभक्ति प्रवद्र्धन गर्न आग्रह गरे । उनले जनताप्रति सनको समर्पणको प्रशंसा गर्दै सधैँ जनतालाई पहिलो स्थानमा राख्ने र उनीहरूको सेवा गर्ने कार्य सनबाट सिक्नुपर्ने बताए ।
नेपालपत्र संवाददाता