सहकाली बचत तथा ऋण सहकारी संस्था संस्थागत पुँजी निर्माणमा बलियो देखिएको छ । संस्था स्थापनाको १४ वर्षको अवधिमा शेयरपुँजी भन्दा झण्डै दोब्बर संस्थागत पुँजी निर्माण गर्न सफल भएको छ । संस्थाले आर्थिक वर्ष २०७७।७८ को असार मसान्तसम्म १९ करोड २४ लाख ६० हजार बराबर जगेडासहित अन्य कोषहरु निर्माण गर्न सफल भएको छ । त्यस अवधिमा संस्थाको शेयर १० करोड ७४ लाख ३० हजार रुपैया रहेको छ । गत असारमसान्त २ अर्ब १५ करोड ७५ लाख ७७ हजारको वासलात बनाउन सफल भएको छ ।
२०६४ सालमा ६ लाख ३९ हजार शेयरपुँजीबाट शुरु भएको संस्थाले यस अवधिसम्म आइपुग्दा ३४७३ सदस्यबाट १ अर्ब ६४ करोड ७६ लाख ५५ हजार बचत संकलन गरी १ अर्ब ५३ करोड ८२ लाख १६ हजार ऋण लगानी गरेको संस्थाका अध्यक्ष राधेश्याम खड्काले बताए ।
संस्थाको हालै १४औं साधारणसभा प्रस्तुत वित्तीय विवरण अनुसार संस्थाको स्थिर सम्पत्ति ९ करोड ३ लाख भन्दा माथि रहेको छ भने संस्थागत लगानी १ करोड ३१ लाख रहेको छ ।
असारमसान्त सम्म संस्थाले १ करोड १४ लाख ४० हजार सञ्चालन मुनाफा आर्जन गरेको छ भने विभिन्न शीर्षकमा १ करोड १८ लाख १३ हजार राज्यलाई करमा योगदान गरेको छ ।
संस्थाले सामाजिक कार्यलाई प्राथमिकताकासाथ अगाडि बढाउने, सदस्यलाई कृषि र पर्यटनसँग जोड्ने, व्यक्तिगत जमानी तथा अन्य ऋणहरुमा बीमाको व्यवस्था गर्ने, सदस्यहरुमा उद्यमशीलता अभिवृद्धि गर्ने, प्रतिस्पर्धात्मक र स्तरीय सेवा प्रदान गर्न आवश्यक नवीनतम प्रविधिको प्रयोग बढाउने , कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्र थप गरी सदस्यलाई सुविधा दिने योजना बनाएको प्रतिवेदनमा उल्लेखछ ।
सभामा लेखासमितिको तर्फबाट संयोजक कुमारप्रसाद चालिसेले समितिको प्रतिवेदन प्रस्तुत गर्दै कर्मचारीको क्षमता अभिवृद्धि गरी कामको बाँडफाँड गर्नुपर्ने , सम्पत्ति शुद्दिकरण ऐनको पूर्ण पालना गरिनुपर्ने तथा ऋण लगानी तथा बचतऋण परिचालन नीति र कार्यविधिलाई समयानुकूल बनाउन सुझाए ।
सभामा कोषाध्यक्ष सुजन कार्कीले आर्थिक वर्ष २०७७।७८ को प्रतिवेदन, वार्षिक बजेट तथा खर्च विवरण प्रस्तुत गरेका थिए ।