स्कोप बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले बीरकाजी शाक्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति र अर्निमैया बज्राचार्यको संयोजकत्वमा लेखा समिति समेत चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा दिपकराज शाक्य, सचिवमा आनन्दबिर बज्राचार्य, कोषाध्यक्षमा प्रदीप शाक्य र सदस्यहरुमा रितेश बज्राचार्य, रिना शाक्य, शंधदेवी शाक्य, उत्तमराज बज्राचार्य र राजेश बज्राचार्य चयन भएको संस्थाले जनाएको छ । त्यसैगरी लेखासमिति सदस्यहरुमा साजन महर्जन र रोजन बज्राचार्य रहेका छन् ।
संस्थाका अध्यक्ष यज्ञराज बज्राचार्यले सभामा सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले शुरुदेखि नै आफ्ना सदस्यको हित र सेवालाई ध्यान दिइ, सोही अनुसार क्रियाकलापहरु अगाडि बढाएको बताए । समयानुकुल संस्थाका सेवालाई सरल सहज, गुणस्तरीय र प्रविधिमैत्री बनाउँदै लगेको उनले बताए । सहकारी सञ्जालले गर्दा सबै समुहका व्यक्तिहर वित्तीय सञ्जालमा जोडिएको र यसलाई आगामी दिनमा अझै सशक्त बनाउनुपर्ने उनले बताए । स्थानीय उत्पादनलाई सहकारीमार्फत जनसमुदायमा पु¥याई सबै क्षेत्रलाई समृद्धितर्फ डोर्याउनु पर्ने भन्दै उनले यसका लागि सेवामुखी हुनुपर्नेमा जोड दिए ।
संस्थाका कोषाध्यक्ष प्रदीप शाक्यले सदस्यहरुलाई १२ प्रतिशत लाभांश दिने बताए । संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म ४३५३ सदस्यबाट ६ करोड ६८ लाख शेयरपुँजी, ९ करोड ३२ लाख जगेडा तथा अन्य कोष, ८० करोड २९ लाख बचत संकलन गरी ७० करोड ४९ लाख ऋण लगानी गरेको जानकारी दिए ।
सभामा स्वागत मन्तव्य राख्दै आनन्द वीर बज्राचार्यले सहकारी भनेको सदस्यहरुको छरिएर रहेको पूँजीलाइै एकिकृत गरी सदस्यहरुद्वारा चुनिएका प्रतिनिधीहरुले जवाफदेहिता र पारदर्शिताकाका आधारमा पूँजी व्यवस्थापन र जोखिम न्युनिकरण सिद्वान्तमा रहेर सदस्यलाई बचत र ऋणको माध्यमबाट सेवा प्रदान गर्ने समाजिक व्यवसाय भएको बताए ।

समुदायमा आधारित संस्थाको रुपमा सहकारी अभियानमा बेग्लै पहिचान बनाउन सकेको छ ।