शुक्रबार, कार्तिक ७ गते २०८३

व्यवसायिक बन्दै चितवन जिल्ला सहकारी संघ

पौष २, २०७८ शुक्रबार
व्यवसायिक बन्दै चितवन जिल्ला सहकारी संघ

 

सहकारी संस्थाहरुको विकास प्रवद्र्धन गर्न भन्दै खुलेका संघहरु नै व्यवसायिक बन्न सकिरहेका छैनन् । कार्यालय खर्च समेत धान्न नसकेर उनीहरु विभिन्न संघसंस्था र राज्यकोषमा भर पर्नु परेको अवस्था छ । तर भरतपुरमा रहेको जिल्ला सहकारी संघले भने फरक पहिचान बनाउन सकेको छ । २०१७ सालमा स्थापना भएको चितवन जिल्ला सहकारी संघले पछिल्लो समयमा आएर फरक पहिचान बनाएको हो । संघले २ वर्ष अघिदेखि पेट्रोल पम्प सञ्चालन गरेसँगै संघले मुलुकमा नै छुट्टै पहिचान दिन सकेको हो । 

संघका व्यवस्थापक विनोद खतिवडा साझा पेट्रोल पम्पको नामबाट विगत २ वर्षदेखि पम्प सञ्चालन गर्दै आएको बताउँछन् । सहकारी संस्थाहरुको लगानीमा पम्प स्थापना गरिएको उनले बताए । जिल्लाभरका ३८१ संस्थाहरुले १० हजारदेखि २० लाखसम्म रकम पम्प सञ्चालनका लागि लगानी गरेका छन् । पम्पको क्षमता २ लाख ४ हजार लिटर रहेको छ । यसले एक साताका लागिको माग धान्न सक्ने उनले बताए । संघले २ वटा ट्यांकरद्वारा अमलेखगञ्जदेखि डिजल पेट्रोल ढुवानी गरेर विक्रीवितरण गर्दै आएको छ । 

हालसम्म पेट्रोल पम्पमा ६ करोड लगानी भइसकेको छ । विगतमा दैनिक ७ लाखको डिजल पेट्रोल विक्री हुँदै आएकामा हाल आएर दैनिक सरदर ३० लाखको विक्री हुने गरेको व्यवस्थापक खतिवडा बताउँछन् । 

व्यवस्थापक खतिवडाका अनुसार जिल्ला संघका अरु व्यवसाय र पेट्रोलपम्पको ब्यालेन्ससिट छुट्टाछुट्टै बन्ने गरेको छ ।

एक बिगाहा क्षेत्रफलमा पेट्रोलपम्प निर्माण गरिएको छ । पम्पसँगै निमार्ण गरिएको २२ वटा व्यवसायीक सटर पनि छन् । पेट्रोलपम्पबाट वार्षिक १ करोड ३० लाख आम्दानी हुने संघको भनाई छ । संघले आगामी दिनमा चार्जिङ स्टेसन बनाउने योजना बनाएको छ ।

त्यसैगरी संघलाई व्यवसायिक रुपमा अगाडि बढाउने उद्देश्यकासाथ २०३७ सालबाट तोरी मिल शुरु गरेको थियो । दैनिक २०० लिटर तेल संघले बाहिरी जिल्लाबाट भ्रमण गर्न आउनेहरुलाई विक्री गर्दै आएको छ । ३ सय ५० रुपैपाँ प्रतिलिटर मूल्यमा चितवनमै शुद्ध तेल खपत हुन्छ तर संघले सहकारी संस्थालाई १० रुपैयाँ छुट दिने गरेको छ । 

पछिल्लोे समयमा तोरीको मूल्य दोब्बर बढेको छ । ८ हजार रुपैयाँमा एक क्वीन्टल तोरी पाइदैँ आएकोमा अहिले १६ हजार रुपैयाँ पर्ने गरेको छ । नयाँ मुल्य अनुसार प्रति लिटर तेलको ३८० पर्ने उनले जनाए । तर पनि संघले स्टक रहेकाले पुरानै मुल्यमा विक्री गर्दै आएको उनको भनाई छ । 

विगतमा चितवनमा नै प्रशस्त तोरी उत्पादन हुने गरेको भएपनि पछिल्लो समयमा उत्पादन घटेकाले भारतसँग निर्भर रहनुपरेको उनले दुखेसो गरे । 

पुरानै प्रविधिबाट तेल उत्पादन भइरहेकाले आगामी दिनमा आधुनिक मेशिनबाट उत्पादन गर्ने योजना रहेको लेभलिङ, प्याकेजिङ गरेर प्रतिष्पर्धात्मक बजारमा ब्रान्डिङ तोरी तेल बिक्री गर्ने  व्यवस्थापक खतिवडाले  बताए ।


संघले फलफूल तथा तरकारीको बजार पनि सञ्चालन गरिरहेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युएनडीपी अन्तर्गत सहकारी बजार विकास कार्यक्रम (सिएमडीपी) सँग साझेदारी गरी सहकारी बजार स्थापना गरेको हो । १० करोड लागतमा संचालन गर्नलागिएको बजारमा ७० प्रतिशत मन्त्रालय तथा सीएमडीपीको सहयोग रहेको छ । संघले बजार व्यवस्थापनका लागि आधुनिक भवन निर्माणको कार्य समेत अघि बढाइसकेको छ । भवन निर्माणका सहकारी बजार विकास कार्यक्रमबाट २ करोड ६० लाख १९ हजार र जिल्ला सहकारी संघले १ करोड ११ लाख ५१ हजार गरी ३ करोड ७१ लाख ७० हजारको कुल लागतमा निर्माण हुन लागेको हो । 

बजार विकास कार्यक्रम (सिएमडीपी)  बाट छनौट भएका १२ वटा सहकारीमार्फत तरकारी तथा फलफूलको बजारव्यवस्थापन हुँदै आएको छ । अहिले पालिका तहमा नै बजार बनेको र त्यहाँ उत्पादन भएका तरकारी तथा फलफूल खपत नभए संकलन गरेर जिल्ला र राष्ट्रियस्तरमा विक्रिवितरण गर्ने योजना संघको छ । 

संघले सहकारी आवासगृह निर्माण, तोरीको तेलको ब्राण्डिङ्ग तथा तरकारी र फलफूको बजारीकरण गर्ने योजनालाई प्राथमिकतामा राखेको छ ।