एक बक्तब्य प्रकाशित गर्दै अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र)ले धान किसान राज्यबाट उपेक्षित हुँदै अाएकाे जनाएकाे छ ।असार १५ धान दिबसमा संगठनका अध्यक्ष चित्रहादुर श्रेष्ठले दिएकाे बक्तब्य यस प्रकार छ :
नेपाल एक किसान बाहुल्य मुलुक हो । यहाँको दुईतिहाइ जनसंख्या आफ्नो जीवन र जीविकाका लागि कृषिमा आश्रित छ भने किसानहरूले देशको अर्थतन्त्रमा एक तिहाइभन्दा धेरै योगदान गर्दछन् । उत्पादनको क्षेत्रफल, परिमाण, आन्तरिक खपत र राष्ट्रिय अर्थतन्त्रमा योगदानका हिसाबले धान नेपाल र नेपालीहरूको सबैभन्दा महत्त्वपूर्ण बाली हो । देशको अर्थतन्त्रमा झण्डै ५ प्रतिशत योगदान गर्ने धानको उत्पादन बढ्दा राष्ट्रिय अर्थतन्त्रको बृद्धि पनि राम्रो हुन्छ । नेपालीहरूको जन्मेदेखि मृत्युपर्यन्तका सम्पूर्ण रीतिरिवाज तथा संस्कारहरूमा धान र धानजन्य वस्तुहरूको प्रयोग हुन्छ । धान रोपाइँलाई एक उत्सवको रूपमा मनाइन्छ । धान संस्कृति हाम्रो संस्कृतिको आधार हो । किसानहरूले धान बेचेर आफ्ना र परिवारका आवश्यकताहरू पूरा गर्दछन् । सदिऔँदेखि खेती गरेका नेपाली किसानहरूले ३ हजार २ सय भन्दा धेरै धानका स्थानीय तथा रैथाने जातहरूको विकास, खेतीपाती र संरक्षण गरेका छन् । यसर्थ धान नेपाली किसानहरू र आम जनसमुदायको जीवन र जीविकाको महत्त्वपूर्ण हिस्सा हो, संस्कृतिको धरोहर हो ।
यस्तो महत्त्वपूर्ण धान र धान खेती गर्ने किसानहरू नेपाल सरकारको प्राथमिकतामा पर्न सकेका छैनन् । महान् नेपाली जनताले वामगठबन्धनलाई विश्वास गरेर दुईतिहाइ बहुमतको शक्तिशाली सरकार बनाउनुको बाबजुद पनि सरकारको नेतृत्व केपी ओलीजस्तो कम्युनिस्ट खोल ओडेको पदलोलुप नवउदारवादी किसानमाराको हातमा पुग्नाले धान बालीको विकास र धान किसानहरूको जीवनमा कुनै परिवर्तन हुन सकेन । धान रोप्ने बेलामा रासायनिक मलको हाहाकार छ । बालीका नयाँ जातहरूको विकास र प्रबद्र्धनमा कुनै कार्यक्रम छैन । धानको बजार र मूल्य सुनिश्चित छैन, न्यूनतम् समर्थन मूल्य तोके पनि खरिदको प्रभावकारी संयन्त्र छैन । असारे धान भित्राउन र विक्रि गर्न जटिल समस्या छ । धान खेतीको प्रभाव क्षेत्रको आधारमा सिँचाइका योजनाहरू तर्जुमा गरिएको छैन । धान किसानहरूलाई राज्यले कुनै प्रकारले संरक्षण गर्न सकेको छैन । धान खेतीमा यान्त्रीकरण, व्यावसायिक र उच्च उत्पादनयुक्त बनाउने कुनै राष्ट्रिय पहलकदमी भएको छैन । कोरोनाले कुखुरापालक, दूध, तरकारी र अण्डा उत्पादक लगायतका किसानहरुको ढाड सेकेको छ । कोरोना प्रभावित किसानहरुका लागि कुनै राहत र सुविधाको व्यवस्था छैन । विपन्न वर्ग र किसान–मजदुरहरु भोकभोकै मर्नुपर्ने अवस्था छ । नातावाद, कृपावाद र भ्रष्टाचारले सीमा नाघेको छ । जातीय छुवाछुत, महिला हिंसा र बलत्कारका घटनामा व्यापक बृद्धि भएको छ । आरोपी र अपराधीहरूलाई सरकारले संरक्षण गरिरहेको छ । सुकुम्वासीहरूका वस्तीहरू भत्काइएको छ । निर्मला पन्त, अंगीरा पासी र रुपा सुनारहरूले न्याय पाएका छैनन् । वैदेशिक ऋणले अर्थतन्त्रको ५० प्रतिशत पुग्न लागेको छ । देश थप ऋणका लागि अयोग्य हुँदै औपचारिक रूपमा टाट पल्टने स्थिति छ । कोरानाविरुद्ध खोपको व्यवस्था गरिएको छैन । किसानहरुको खोपको प्राथमिकतमा राखिएको छैन । मोहीका समस्या ज्यूँकात्यूँ छन् । क्रान्तिकारी/वैज्ञानिक भूमिसुधारको कुनै योजना र कार्यक्रम अघि सारिएको छैन । अरबौँ बराबरको चामल र खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ । आत्मनिर्भरताको कुनै ठोस योजना छैन । खाद्य सम्प्रभुताको दिशामा कुनै कदम अघिसारिएको छैन । बरु त्यसको उल्टो एमसीसी, भूमि बैंक र कृषिमा विदेशी लगानी भित्राउने जस्ता किसानविरोधी नवउदारवादी निर्णयहरू गरिएको छ । यसले यो सरकार राष्ट्रघाती, जनघाती र किसानविरोधी भएको पुष्टि हुन्छ ।
तसर्थ हामी नेपाल सरकारसँग धानको संरक्षण र विकासका साथै धान किसानहरूको अधिकारको रक्षाका लागि ठोस कदम चाल्न जोड्दार माग गर्दछौँ । क्रान्तिकारी/वैज्ञानिक भूमिसुधार गरी किसानहरूलाई जमिनको मालिक बनाउन, धान खेतीको यान्त्रीकरण, व्यावसायीकरण र उत्पादकत्व बृद्धिका साथै यसको जातीय विकास र प्रबद्र्धन गर्न, समयमै धानको समर्थन मूल्य तोकी खरिदको संयन्त्र निर्माण गर्न, एसआरआईजस्ता प्रविधिहरूको व्यापक प्रचारप्रसार गर्न, धान किसानहरूको अधिकार रक्षा र प्रबद्र्धन गर्दै कृषि तथा खाद्य उत्पादन प्रणालीमा व्यापक रूपान्तरण गरी खाद्य सम्प्रभुताको दिशामा अगाडि बढ्न जोड्दार माग गर्दछौँ । त्यसरी नै दोस्रो चरणको कोरोना र लकडाउनबाट प्रभावित किसानहरुलाई तत्काल राहत तथा क्षतिपूर्ण प्रदान गर्न र व्यवसाय पुन:सुचारु गर्ने वातावरण बनाउका लागि माग गर्दछौँ । साथै, देशभरका सम्पूर्ण श्रमजीवी किसानहरूलाई किसानविरोधी केपी ओली र उनका पिछलग्गुहरूका जालझेल र भ्रममा नपरी अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) र यसका घटक संगठनहरूमा संगठित भई क्रान्तिकारी भूमिसुधार, जलवायु न्याय, कृषि क्रान्ति र खाद्यसम्प्रभुताको संघर्षलाई विजयको शिखरसम्म पुराउँदै वैज्ञानिक समाजवादको दिशामा अघि बढ्न हार्दिक अपिल गर्दछौँ ।