शुक्रबार, आश्विन २३ गते २०८३

मिलीजुली कालिञ्चोक साकोसको ३३ औं साधारण सभा , सदस्य केन्द्रीय सेवालाई थप प्रभावकारी बनाउने


आश्विन २२, २०८३ बिहीबार
मिलीजुली कालिञ्चोक साकोसको ३३ औं साधारण सभा , सदस्य केन्द्रीय सेवालाई थप प्रभावकारी बनाउने

  मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले कार्यक्षेत्रको आधारमा  तीन एकाइमा विभाजन गरी एकाइगत साधारण सभा सम्पन्न गरी  निर्णय प्रमाणित सभा समेत सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष  कृष्ण बहादुर गौतमले  “सदस्यको मनमा मिलिजुली, सदस्यको घरमा मिलिजुली” भन्ने मूल नारालाई आत्मसात् गर्दै प्रविधिको अधिकतम उपयोगसहित सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको बताए ।  छरिएर रहेका स–साना पूँजीलाई एकीकृत गरी सदस्यहरुको आर्थिक क्षमतामा अभिवृद्धि गर्ने तथा साहु–महाजनबाट महँगो ब्याजदरमा ऋण लिनुपर्ने बाध्यताबाट   मुक्त गराउने पवित्र उद्देश्यका साथ  संस्थाको स्थापना भएको र सोही अनुसार कार्य गर्दै आएको सभामा बताए ।  सदस्यहरुको आर्थिक, सामाजिक तथा जीवनस्तर सुधारमा योगदान पुर्‍याउने प्रयासमा लागि परेको उनीहरुको हितलाई ध्यानमा राखी सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई अङ्गीकार गर्दै संस्था सञ्चालन गर्दै आएको उनको भनाई छ ।  संस्थाले सदस्यहरूलाई ऋणी मात्र बनाउने उदेश्य नलिई उद्योग र व्यवसाय सञ्चालन गरी गराई धनी पनि बनाउने उद्देश्य लिएको  उनले जनाए ।

d2fa8c32-c377-4e3e-82f9-d3855d7cdfbc.jpeg

संस्थाले सदस्यलाई ऋण लिनुअघि मासिक तीन पटक वित्तीय साक्षरता तथा ऋण व्यवस्थापन तालिमको आयोजना गर्दै आएको  र यस आ।व।बाट व्यवसाय विकास सेवा समेत प्रदान गर्ने उनको भनाई छ ।  उनले सभामा वित्तीय संस्थाको सहज पहँुच नभएका स्थानहरुमा समेत सेवाकेन्द्र स्थापना गरी सदस्यहरुलाई घरदैलोमै वित्तीय सेवा उपलब्ध गराउँदै आएको समेत बताए ।  विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रका सदस्यहरुको आर्थिक कारोबारलाई सहज, सरल र सुरक्षित बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको उनको भनाई छ । आगामी दिनमा सेवाकेन्द्रहरुको पहुँच विस्तार गर्ने, प्रविधिमैत्री सेवाहरुलाई थप प्रभावकारी बनाउने, वित्तीय सेवामा नवीनता ल्याउने तथा प्रत्येक सदस्यको आवश्यकतालाई केन्द्रमा राखी सेवा प्रवाहलाई अझ गुणस्तरीय बनाउने उनले जानकारी दिए ।

सभामा सञ्चालक समितिकोतर्फबाट सचिव ठाकुर प्रसाद पाठकले आर्थिक बर्ष २०८२/०८३ को बार्षिक पग्रति प्रतिवेदन र आ.ब. २०८३/०८४ को प्रस्तावित कार्यक्रम , कोषाध्यक्ष सुरेश चन्द्र खड्काले  आ.ब.२०८२/०८३ को आथिर्क प्रगती प्रतिवेदन र आ.ब. २०८३/०८४ को प्रस्तावित बजेट तथा  लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक नारायण प्रसाद सापकोटाले  आ.ब. २०८२/०८३ को प्रतिवेदन  सभामा प्रस्तुत गरेका थिए । आ.ब. २०८२/०८३ को असार मसान्तसम्म संस्थामा  २१ हजार २७३ सदस्य र ७ हजार ७९७ बाल सदस्य  गरी २९ हजार ७० जना बचतकर्ता रहेका छन् ।

संस्थाले गत आर्थिक बर्षमा  १ अर्ब १९ करोड २२ लाख ४२ हजार बचत संकलन गरी  ९२ करोड ३१ लाख ३५ हजार ऋण लगानी गरेको छ । संस्थामा बाह्य ऋण शुन्य प्रतिशत रहेको र जगेडा कोषमा ९ करोड ११ लाख ६७ हजार पुगेको छ । गत असार मसान्तसम्म संस्थाको कुल वासलात १ अर्ब ४२ करोड ७१ लाख ५३ हजार पुगेको सभामा जानकार दिइयो । संस्थाले ऋण लगानीपूर्व ऋण व्यवस्थापन शिक्षा तथा परामर्श कार्यक्रम अनिवार्य गरेको र  साना ऋण मागेकै दिन लगानी गर्दै आएको जनाएको छ ।  ईन्जिनियरबाट धितो मूल्यांकन, हकवालाको मञ्जुरी, धितोबन्धक तथा अनलाईन रोक्काको प्रक्रिया अपनाई ऋण लगानी, धितो लिलामबाट असुली, क्षमता हुँदाहुँदै ऋण तिर्न आलटाल गर्ने सदस्यलाई कर्जा असुली न्यायाधिकरण र जिल्ला अदालतमा मुद्दा दायर सुरु गरी असुलीमा तीव्रता दिइएको समेत सभामा जानकारी दिइएको छ ।

 संस्थाले सेवाकेन्द्रबाट वित्तीय पहुँच, एकीकृत कारोबार तथा डाटा व्यवस्थापन, मोबाईल बैंकिङ तथा डिजिटल भुक्तानी, सदस्यमैत्री कार्यालय समय, कर्मचारी क्षमता तथा कार्यासम्पादन व्यवस्थापन, एक्सेस सियुलेगका सूचक अनुसार कार्य समीक्षा र कार्यान्वयन गर्दै आएको छ । त्यसैगरी  आचारसंहिता, स्वमूल्यांकन, पियर मूल्यांकन र पाँच एस पद्धति कार्यान्वयन, समय सापेक्ष ब्याजदर, सदस्य शोकमा राहत वितरण, जेष्ठ सदस्य भत्ता, सुत्केरी सम्झना सहयोग, एकाइगत साधारण सभा र निर्णय प्रमाणित सभा, स्थापना दिवसमा रक्तदान तथा उत्कृष्ट सदस्य र कर्मचारी सम्मान जस्ता क्रियाकलाप समेत संस्थाले गर्दै आएको जनाएको छ ।  संस्थाले भावी चार वर्षीय रणनीतिक योजना निर्माण गोष्ठी सम्पन्न गरी आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट तयार, विनियम, निर्वाचन नियमावली, आर्थिक प्रशासन नियमावली, सम्पत्ति शुद्धीकरण निवारण कार्यविधि, ऋण कार्यविधि संशोधन गरेको जनाएको छ । 

c7b85daa-8866-4d28-a51d-94874f7d732f.jpeg

संस्थाले चालु आ.ब. २०८३/०८४ को लागि चारवर्षीय रणनीतिक योजना बमोजिम वार्षिक कार्यक्रम, सुशासन तथा गुणस्तरमा थप सुदृढीकरण, अद्यावधिक गर्न बाँकी आन्तरिक कानुन अद्यावधिक, ऋणीको समस्याको वास्तविक कारण पहिचान गरी प्रभावकारी असुली, ऋणको लगातार तीन किस्ता नआएमा धितो लिलाम जस्ता कार्य अगाडि  अगाडि बढाउने भएको छ । 

कर्जा असुली न्यायाधिकरण र जिल्ला अदालतमा मुद्दा दर्ता गरी ऋण असुली प्रक्रिया सुरु गरिएको र  ऋण कार्यविधिको अर्धवार्षिक समीक्षा र धितोको वार्षिक आन्तरिक मूल्यांकन गरी अपुग धितो थप गराउने वा ऋण चुक्ता गराउने कार्य समेत आगाडि बढाउने संस्थाको योजना छ । ऋण अनुशासन सम्बन्धी सदस्य शिक्षा , पुँजी पर्याप्तता अनुपात सुधार, भाखा नाघेको ऋण घटाउने, कर्जा सूचना केन्द्रमा सूचना आदान प्रदान, बचत तथा कर्जा सुरक्षण कोषमा सहभागिता, भाखा नाघेको ऋण र ऋण सुरक्षण कोषको बारेमा फिजिकल तथा डिजिटल सदस्य शिक्षा प्रवाह गर्ने नीति संस्थाले लिएको छ ।

संस्थाको  कोष, शेयर वृद्धि तथा औषत शेयर कायम, स्थिर तथा चल लागत नियन्त्रण, आम्दानी वृद्धि, गैरबैंकिङ सम्पत्ति व्यवस्थापन, डिजिटल कारोबार विस्तार, सूचना प्रविधि तथा साईवर सुरक्षा, सम्पत्ति शुद्धीकरण निवारणमा थप प्रभावकारी प्रणाली प्रयोग गर्ने नीति समेत संस्थाले अघि सारेको छ । त्यसैगरी  सदस्य सम्बन्ध विस्तार, समता र समानता सहितको सेवा, मानव संसाधन तथा नेतृत्व विकास, महिला नेतृत्व तथा उद्यमशीलता विकास, महिला स्वास्थ्य तथा सुरक्षा कार्यक्रम, फिजिकल तथा डिजिटल बाल तथा युवा शिक्षा, सामाजिक उत्तरदायित्व, मानव संसाधनको क्षमता विकास र व्यवस्थापन  समेत संस्थाले काम गर्ने जनाएको छ ।