भक्तपुर । प्राकृतिक विपद्का कारण क्षति व्यहोरेका बचत तथा ऋण सहकारी संस्थाहरूको कार्यालय पुनः सञ्चालन तथा पुनःस्थापनाका लागि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहयोग गरेको छ । संघले ती सहकारी संस्थाहरु सञ्चालनका लागि आवश्यक पर्ने जिन्सी सामग्री हस्तान्तरण गरेको हो ।
भोटेकोशी बाढीबाट प्रभावित संस्थाहरूलाई पूर्ववत् अवस्थामा फर्काउन भक्तपुर बचत संघले सहयोगका लागि समन्वय तथा नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो । यस कार्यमा संघ र ३१ वटा सदस्य सहकारी संस्थाहरूबाट ८ लाख ६४हजार ३४ रुपैंया बराबरको जिन्सी सामानहरुको सहयोगको सहकार्य गरेको हो । सहयोग वितरण प्रक्रियालाई पूर्ण रूपमा नियमसंगत, पारदर्शी र व्यवस्थित बनाउन सम्बन्धित स्थानीय तहहरूको अनुमति लिइएको छ । कार्यक्रमका लागि विदुर नगरपालिका, नुवाकोट र गल्छी गाउँपालिका, धादिङले आवश्यक अनुमति प्रदान गरेका थिए। बिदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठको उपस्थितमा नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघ लि. र धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघको समन्वयमा उक्त हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो ।
बाढीका कारण कार्यालय भवन, कम्प्युटर, प्रिन्टर तथा महत्वपूर्ण श्रेस्ताहरू नष्ट भएका सहकारीहरूको प्रशासनिक तथा वित्तीय सेवा पुनः सुचारु गराउन कार्यालय पुनस्थापना गर्न आवश्यक पर्ने ल्यापटप, प्रिन्टर, स्टिल दराज, टेबल र मेच १–१ सेट नुवाकोटको ७ वटा र धादिङको १ वटा गरी ८ वटा बचत तथा ऋण सहकारी संस्थालाई प्रत्यक्ष सम्बन्धित संस्थाहरूलाई नै जिन्सी सामानहरु उपलब्ध गराइएको हो । सहकारीको छैटौं सिद्धान्त सहकारी सहकारी बीच पारस्परिक सहयोग र सातौं सिद्धान्त समुदायप्रति चासोलाई आत्मसात् गर्दै संकटको समयमा यो ऐक्यबद्धता प्रकट गरिएको आयोजक संघका अध्यक्ष हरि कृष्ण बल्लले बताए।
नेपालपत्र संवाददाता