शुक्रबार, आश्विन २३ गते २०८३

आईसीए एसिया–प्रशान्त अनुसन्धान सम्मेलनमा चन्द्रागिरि साकोसको शोधपत्र प्रस्तुत


आश्विन २२, २०८३ बिहीबार
आईसीए एसिया–प्रशान्त अनुसन्धान सम्मेलनमा चन्द्रागिरि साकोसको शोधपत्र प्रस्तुत


 अस्ट्रेलियाको मेलबर्नस्थित मोनाश कलेजमा आयोजित २०औँ अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) एसिया–प्रशान्त अनुसन्धान सम्मेलन २०२६ मा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको शोधपत्र प्रस्तुत भएको छ। संस्थाको युवा तथा स्टार्टअप उपसमिति सदस्य रिजु मानन्धरले “नेपालका बचत तथा ऋण सहकारी संस्थाहरूको दिगोपनामा सुशासनको भूमिका” विषयक शोधपत्र अनलाइनमार्फत प्रस्तुत  गरेका  थिए ।

गत वर्ष श्रीलंकामा आयोजित १९औँ सम्मेलनका लागि स्वीकृत भएको उक्त शोधपत्र त्यसबेला उपस्थित हुन नसकेका कारण प्रस्तुत हुन सकेको थिएन । विषयवस्तुको महत्त्व र सान्दर्भिकतालाई ध्यानमा राख्दै आयोजकले यस वर्ष पुनः प्रस्तुतिको अवसर दिएको हो ।  नेपालका छ प्रदेशका ८० सहकारी संस्थामा गरिएको अध्ययनले सदस्य सहभागिता तथा समावेशिता, पारदर्शिता तथा जवाफदेहिता, सहमति तथा नेतृत्व र कार्यदक्षता तथा कार्यसम्पादनको संस्थागत दिगोपनासँग सकारात्मक सम्बन्ध रहेको देखाएको छ ।

अध्ययनले सहकारीको दिगोपनाका लागि नेतृत्वको क्षमता विकास, नियमित ऋण अनुगमन, प्रभावकारी जोखिम व्यवस्थापन र सदस्यप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।  प्रस्तुतिमार्फत नेपालको सहकारी क्षेत्रका अनुभव, सुशासनका चुनौती र सुधारका सम्भावनालाई अन्तर्राष्ट्रिय अनुसन्धान मञ्चमा साझा गरिएको छ ।