राजविराज ४ सप्तरीमा मुख्य कार्यालय रहेको आइडियल बचत तथा ऋण सहकारी संस्थाको एकाई साधारण सभा सुरु भएको छ । संस्थाले एकाई क अन्तर्गत हनुमान बजारमा २७ औं साधारण सभा सम्पन्न गरेको हो । सभामा अध्यक्ष गणेश कुमार आशले आज भन्दा २८ वर्ष अगाडि व्यवसायी, शिक्षक, बुद्धिजीवी, समाजसेवी अगुवाहरुको विचार, नेतृत्व र परिकल्पना अनुरुप ४२ जनाले ४२ हजार बाट संस्था सुरु गरेको बताए ।
अहिलेसम्म आइपुग्दा संस्थामा १८ हजार ५६२ जना शेयर सदस्यको १२ करोड ५६ लाख र १४ करोड २६लाख ७५ हजार जगेडा कोष पुगेको उनले बताए । त्यसैगरी उनले कूल वचत १ अर्ब १९करोड ६० लाख तथा कुल ऋण लगानी .७५ करोड ४ लाख ८६ हजार,ऋण जोखिम व्यवस्था कोषमा ५ करोड ९० लाख घटाउँदा कायम भएको गुणस्तरीय कुल सम्पत्ति १ अर्ब ४८ करोड १३ लाख पुगेको सभामा जानकारी दिए । सहकारी भनेको सदस्य केन्द्रित सामाजिक उद्यम भएकाले सहकारीको आत्मा भनेका सदस्यहरु उनले सहकारी र सदस्यको सम्बन्ध भनेको शरीर र आत्माको सम्बन्ध जस्तै भएको बताए । त्यसैले सदस्यहरुको आवश्यकता र बजार अनुरुप सदस्य सेवा सञ्जाल विस्तार गरी सेवाका नयाँ क्षेत्रहरु पहिचान गर्दै निरन्तर प्रगतितर्फ संस्था अघि बढेको अध्यक्ष आशले सभामा जानकारी दिए ।
सहकारी ऐन, सहकारी नियमावली, सहकारी मापदण्ड र सहकारी नियमन प्राधिकरणले जारी गरेका निर्देशन तथा मापदण्डले असल अभ्यासको क्रममा विभिन्न अवसरहरु सिर्जनासँगै केही चुनौतिहरु पनि थपिएको उनको भनाई छ । संस्थालाई आन्तरिक र बाह्य रुपमा अझ बढी सशक्त र प्रभावकारी बनाउने उद्देश्यले संस्थागत पूँजी संरचना अन्तर्गत जगेडा कोष र शेयर पूँजी वृद्धि गर्दै लगेको उनको भनाई छ । आधुनिक प्रविधिको एकीकृत सेवा कार्यक्रम र नवीनतम आधुनिक प्रविधिको प्रयोग, गरिबी निवारणसँग सम्बन्धित एकीकृत साक्षरता कार्यक्रम, सदस्यको उद्यमशीलता विकास, निजी क्षेत्र र सरकारी निकायसँगको सहकार्य, उद्यमशीलता विकास, युवा र महिला केन्द्रित कार्यक्रम, प्रविधि र क्षमता अभिवृद्धि जस्ता कार्यक्रम सञ्चालन गरिने उनले सभामा जानकारी दिए । “डिजिटल वित्तीय सहकारी संस्थाको रुपमा स्थापित गर्ने” अभियानको रुपमा अगाडि बढेको र जन्मदेखि स्वर्गसम्मको सदस्य सेवालाई बिभिन्न उमेर समूहमा वर्गीकरण गरी सदस्य स्वागत कार्यक्रम, सुत्केरी भत्ता, बाल बचत खाता खोल्ने कार्यक्रम, स्कुल जाने बाल बचतकर्ता विद्यार्थीहरुलाई आडियलको स्टेशनरी सहित झोला बितरण, बचतकर्ताहरुलाई बर्थडे केक बितरण कार्यक्रम, ऋण बिमा, तालिम, मृतक राहत, स्कुल स्कुलमा आईडियल कार्यक्रम, युवासँग आईडियल साकोस कार्यक्रम, युवा संजाल बिस्तारको कार्यक्रम, महिला सशक्तिकरण, ज्येष्ट सदस्य सम्मान कार्यक्रम, आईडियल सदस्य सहुलियत स्वास्थ्य जस्ता कार्यक्रम सञ्चालनमा ल्याएको उनको भनाई छ ।
संस्थामा आधुनिक प्रविधिको प्रयोग गर्ने सन्र्दभमा मोवाइल बैकिङ्ग, मिसकल बैकिङ्ग, क्यू.आर. कोड पेमेन्ट, ईन्टरनेट बैकिङ्ग, इन्टर बैंक फन्ड ट्रान्सफर, ए.टि.एम. बुथ सहितको ए.टि.एम.डेबिट कार्ड, ई–टेलर, वालेट आदि जस्ता प्रविधिहरुको प्रयोग गरी सदस्यहरुलाई डिजिटल माध्यमबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । सभामा सचिव शैलेस कुमार चौधरीले गत आर्थिक वर्ष २०८२।०८३ को प्रगति विवरण तथा आर्थिक वर्ष २०८३।०८४ का लागि प्रस्तावित वार्षिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
संस्थाका सदस्यलाई वा घर परिवारमा भवितव्य तथा अन्य आकस्मिक विपत्ति वा सार्वजनिक दर्घटनामा परेकालाई तत्काल राहत ऋण स्वरुप अधिकतम २० हजार एक महिनाका लागि सहुलियत दरमा प्रदान गरिने कार्यक्रम ल्याउने उनको भनाई छ । सभामा कोषाध्यक्ष मञ्जु देवी शाहले आ.व.२०८२।०८३) को वित्तीय प्रगति विवरणको समिक्षा तथा आर्थिक वर्ष २०८३।०८४ का लागि प्रस्तावित र आ.व. २०८४।०८५को लागि अनुमानित वित्तीय लक्ष्य तथा बजेट प्रस्तुत गरेकी थिइन् ।

नेपालपत्र संवाददाता